निर्वाचन आयोगले साउन २२ सम्म सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि, २०८२’ बारे छलफल
काठमाडौँ — प्रमुख प्रतिपक्षी दलका नेता तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालको आह्वानमा सरकारको नेतृत्व गरिरहेको एमाले र संसद्को ठूलो दल कांग्रेस बाहेकका संसद्मा रहेका दलहरूको बैठक बसिरहेको छ ।
माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार अपराह्न ४ बजेदेखि सुरु भएको बैठकमा निर्वाचन आयोगका सम्बन्धमा छलफल भइरहेको छ ।
अध्यक्ष दाहालको सचिवालयका अनुसार बैठकमा निर्वाचन आयोगले साउन २२ सम्म सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि, २०८२’ बारे छलफल र परामर्श भइरहेको छ ।
बैठकमा माओवादीका अध्यक्ष दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, रास्वपा सांसद सोबिता गौतम, राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, जनमतका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्तिका अध्यक्ष रञ्जिता श्रेष्ठ, जसपा नेपालकी सचेतक रेखा यादव, आम जनता पार्टीका अध्यक्ष प्रभु साह लगायतको सहभागिता रहेको छ ।
