पुरानो पुलको फलामको कारण समय लागे पनि सिम खोलामा बेलिब्रिजको सम्पूर्ण जडान कार्य अन्तिम चरणमा पुगेको छ।
What you should know
हेटौंडा — गत असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोले क्षतिग्रस्त कुलेखानी जलविद्युत् आयोजनाको ड्याममुनिको सिम खोलामा क्षतिग्रस्त पुलमाथि बेलिब्रिज जडान गर्ने कार्य मंगलबार सकिएको छ।
पुलमाथि वारपार बेलिब्रिज जडान कार्य सकिए पनि बेलिब्रिजको ‘नटबोल्ट’ कस्ने काम भइरहेको छ।
‘बेलिब्रिज जडान गर्ने कार्य सकिएको छ, नटबोल्ट कस्ने काम भइरहेको छ,’ यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका प्रमुख नविन सिंहले भने, ‘पुरानो पुलको फलाम भएकाले जडान गर्न र नटबोल्ट कस्न अलि समय लागेको छ।’
सिम खोलामा पुल जडान गर्ने कार्य सुरु गरेको तीन साता बितिसकेको छ। असार २८ गतेदेखि जडान कार्य सुरु गरिएको हो। बेलिब्रिज जडान गर्ने क्रममा बेलिब्रिजको एक भाग बाङ्गिएको र त्यस क्षेत्रमा वर्षा पनि लगातार भइरहेकाले जडान गर्ने कार्य अलि लम्बिएको एक प्राविधिकले बताए।
‘अब १–२ दिनभित्रै पुल भएर सवारीसाधन आउजाउ गर्न सक्छन्,’ गौरव इन्जिनियर्रस प्रालिका इन्जिनियर दीपेन्द्र यादवले भने, ‘कहिलेदेखि सञ्चालन गर्ने भन्ने कुरा यातायात पूर्वाधार निर्देशनालयको निर्णयमा भर पर्छ।’ उक्त पुलको भारवहन क्षमता के कति हो भन्ने यातायात पूर्वाधार निर्देशनालयले पुलको परीक्षण गर्न पनि बाँकी छ। ‘पुलको नटबोल्ट कस्नेबित्तिक्कै परीक्षण गर्छौँ,’ पूर्वाधार निर्देशनालयका प्रमुख सिंहले भने।
पुलमाथि बेलिब्रिज जडान गर्नका लागि भैँसे–भीमफेदी सडक खण्डमा प्रयोगविहीन अवस्थामा रहेका दुई वटा बेलिब्रिज झिकेर सिम खोलामा लगेर जडान गरिएको हो।
बेलिब्रिज जडान गर्नका लागि विगत तीन सातादेखि ३० जना प्राविधिक र कामदार खटिरहेका छन्। पुलको दायाँबायाँ अर्थात् पहुँच मार्ग नै बगाएकाले बेलिब्रिज राखिएको हो।
बेलिब्रिज राख्नका लागि सिम खोलाको पक्की पुलको दायाँबायाँ पक्की टेको बनाउने कार्य गरिएको छ। सिम खोलामा बेलिब्रिज हाल्नका लागि भैँसे–भीम फेदी सडक खण्डको घट्टे खोलामा रहेको १३ मिटर लामो र मान्डुखोलामा रहेको ५० मिटर लामो बेलिब्रिज झिकेर ल्याइएको थियो।
'सिम खोलामा ६० मिटर लामो बेलिब्रिज हाल्नु पर्ने भएकाले दुई वटा बेलिब्रिज झिकेर ल्याइएको हो,' पूर्वाधार निर्देशनालयका प्रमुख सिंहले भने। बेलिब्रिज राख्न, पक्की पहुँच मार्ग बनाउन र पुल वरिपरिको क्षतिग्रस्त सडक निर्माण गर्न गौरव इन्जिनियरिङ प्रालिले एक करोड ८८ लाख रुपैयाँमा ठेक्का लिएको छ।
भारी वर्षासँगै कुलेखानी भरिएपछि ‘ओभरफ्लो’ रोक्न गेट खोल्दा इन्द्र सरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामको तल्लो भागमा रहेको सिम खोलाको पुलसहित सडक क्षतिग्रस्त बनेको थियो। अहिले खोलाबाट डाइभर्सन गरेर सवारी सञ्चालन गरिएको छ।
