३६ घण्टादेखि दाउन्ने सडक अवरुद्ध

दाउन्नेमा वर्षाका कारण सडक अवरुद्ध भएपछि कावासोतीमा ठूला गाडी रोकिएको छ, वर्षा नरोकिएसम्म सडक खुल्ने सम्भावना छैन।

श्रावण २०, २०८२

नारायण शर्मा

Down road blocked for 36 hours

नवलपरासी — महेन्द्र राजमार्गअन्तर्गत दाउन्नेमा ३६ घण्टादेखि राजमार्ग अवरुद्ध हुँदा सयौं यात्रु अलपत्र परेका छन् । दाउन्ने हुँदै बुटवल–नारायणगढ यात्रामा रहेका कतिपय यात्रुहरू हिँडेर वारपार गरेका छन् । राजमार्ग अवरुद्ध भएको स्थानमा हिँडेर कट्ने र पर पुगेर गाडी चढ्ने यात्रुहरू झरीमा रुझ्दै कष्ट बेहोर्न बाध्य भएका छन् । 

प्रहरीले दाउन्नेमा लामो जाम नहोस् भनेर ३० किलोमिटर पूर्व कावासोतीमा ठूला गाडी रोकेको छ । 'नारायणगढ हुँदै बुटवलतर्फ जाने सबैजसो ठूला गाडी कावासोतीमा रोकेका छौं,' प्रहरी उपरीक्षक यादव ढकालले भने, 'वर्षा नरोकिएसम्म दाउन्ने सडक खुलाउने अवस्था छैन ।' मंगलबार दिउँसोसम्म पनि दाउन्नेमा सामान्य झरी छ ।

दुम्कीवासदेखि ३ किलोमिटर पश्चिममा रहेको विश्वकर्मा मन्दिर नजिकै सडक भासिएपछि त्यहाँ राजमार्ग अवरुद्ध भएको हो । तीन महिनाअघि त्यहाँ पुल निर्माण गर्न खनिएको खाल्डोको माटो बगेकाले गाडी फसेर समस्या भएको हो । त्यहाँ ठाडो उकालो भएकाले गाडी चिप्लिएर हिँडाउन सकिएको छैन । विश्वकर्मा मन्दिरनजिकै राजमार्गमा पानी हिँडेकाले गाडी हिँडाउन समस्या भएको हो ।

राजमार्ग निर्माणको ठेक्का लिएको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले दाउन्नेमा काम नगरेका कारण सामान्य वर्षामा समेत राजमार्ग ठप्प हुने गरेको छ । वर्षा रोकिएपछि त्यहाँ ग्राभेल राखेर राजमार्ग खोल्ने प्रयास गरिने प्रहरी उपरीक्षक ढकालले सुनाए । पूर्वी नवलपरासीमा सोमबार बिहान ३ बजेदेखि सामान्य वर्षा भइरहेको छ । वर्षा बिदा नभएसम्म दाउन्ने सडकखण्ड खुल्ने सम्भावना छैन ।

नारायण शर्मा शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully