कक्षा १२ को नतिजामा सुधार, ६१.१७ प्रतिशत उत्तीर्ण
What you should know
काठमाडौँ — कक्षा १२ को नतिजामा सुधार, ६१.१७ प्रतिशत उत्तीर्ण, 'कुलिङ अफ पिरियड' छानबिन समितिको प्रतिवेदन सर्वसम्मतिले पारित, जीबी राईलाई पक्राउ गर्न माग गर्दै सहकारीका बचतकर्ताले भेटे गृहमन्त्री, दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश,भारतको जितले सिरिज बराबरी लगायतका खबर आज दिनभर चर्चामा रहे । आज देश दुनियाँमा के-के भयो ?
कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । सोमबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।बोर्डका अनुसार परीक्षामा सहभागीमध्ये ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत वर्ष ५२ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए ।
०००
उच्च अदालत पाटनले दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको छ ।उच्च अदालतले बैंकिङ कसुरको हकमा २५ लाख धरौटी वा बैंक जमानत दिए तारिखमा छाड्न आदेश दिएको छ । उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले फैसला गरेको हो ।
०००
संघीय निजामती सेवासम्बन्धी विधेयकमा प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले राखेको २ वर्षको 'कुलिङ अफ पिरियड'को व्यवस्था खण्डित हुने प्रावधान किन र कसरी राखियो भन्नेबारे छानबिन गर्न गठित समितिले सर्वसम्मत प्रतिवेदन पारित गरेको छ ।
०००
सहकारीको रकम अपचलन गरेर फरार रहेका गीतेन्द्रबहादुर राई उर्फ जीबी राईलाई तत्काल पक्राउ गर्न माग गर्दै सहकारीका पीडित बचतकर्ताहरूले सोमबार गृहमन्त्री रमेश लेखकसँग भेट गरेका छन् । विदेशमा रहेका राईविरुद्ध इन्टरपोलमार्फत रेडकर्नर नोटिस जारी भएको लामो समय भए पनि उनी पक्राउ पर्न सकेका छैनन् ।
०००
भारतले पाँचौं, अन्तिम तथा निर्णायक टेस्टमा सोमबार इंग्ल्यान्डलाई ६ रनले पराजित गरेको छ । भारतले पाँचौं दिन प्राप्त गरेको जितसँगै पाँच टेस्टको सिरिज २–२ को बराबरीमा टुंगेको छ ।
