राजीनामा त भ्रष्टाचारको अपराधबाट मुक्ति पाउने गङ्गास्नान पो भएछ : सांसद शाह

प्रतिनिधिसभामा बोल्दै सांसद शाहले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीलाई प्रश्न गर्दै जनताको स्मरणमा रहिरहने चेतावनी दिए।

श्रावण १९, २०८२

कान्तिपुर संवाददाता

Resignation is a way to get rid of the crime of corruption: MP Shah

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले भिजिट भिसामार्फत भएको मानव तस्करी र भ्रष्टाचारका काण्डहरूमा सरकार मौन रहेको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद शाहले यस्तो आपत्ति जनाएका हुन् । उनले भिजिट भिसामार्फत मानव तस्करी भएको फाइल कहाँ पुग्यो ? भन्दै गृहमन्त्री रमेश लेखकलाई प्रश्न सोधे ।

उनले भिजिट भिसा प्रकरणलाई जनताले बिर्सिन्छन् भन्ने सोचेर गल्ती नगर्न चेतावनी दिए । शाहले मन्त्री राजकुमार गुप्तालाई कारबाही नगरिएको भन्दै आपत्ति समेत जनाए ।

राजीनामा भ्रष्टाचारको अपराधबाट मुक्ति पाउने गङ्गास्नान भएको भन्दै उनले कटाक्ष गरे ।

उनले भने, ‘भिजिट भिसामार्फत मानव तस्करी भएको फाइल कहाँ पुग्यो ? म गृहमन्त्रीज्यूलाई सोध्न चाहन्छु । जनताले यो प्रकरण बिर्सिन्छन् भनेर गल्ती नगर्नुहोला । जनताले बिर्सने छैनन् । हामीले बिर्सन दिनेछैनौँ । भ्रष्टाचारको अडियो बाहिरियो, घूस मागेको प्रमाणित भयो । अनि राजीनामा दिएपछि सबै पाप पखालियो । राजीनामा त भ्रष्टाचारको अपराधबाट मुक्ति पाउने गङ्गास्नान पो भएछ । मन्त्री राजकुमार गुप्ताले राजीनामा दिनुभयो । छानबिनको फाइल बन्द भयो । त्यही अडियोमा नाम सुनिएका अर्का मन्त्री र पूर्वमन्त्रीलाई त किन अदृश्य शक्तिले संरक्षण दिइरहेको छ ? के उनहरूको लागि यो देशमा अर्कै कानुन छ, सभामुख महोदय ?’

कान्तिपुर

Link copied successfully