सारस संरक्षणको अनुभव सुनाउन क्यालिफोर्निया जाँदै कुर्मी

कुर्मीर्ले सारस प्रजनन, गणना र संरक्षणमा उदाहरणीय काम गरेका छन् । उनले सिमसार व्यवस्थापन, जैविक विविधता प्रवर्द्धन, वातावरण संरक्षण र बुद्ध जन्मस्थल ‘क्लिन लुम्बिनी, ग्रिन लुम्बिनी’ भनेर अभियानै चलाएका थिए ।

श्रावण १९, २०८२

मनोज पौडेल

Kurmi goes to California to share his experience of stork conservation

What you should know

लुम्बिनी — सारस पन्छी जस्तै अग्ला छन् । सारस जस्तै एकाग्र, शान्त र सौम्य देखिन्छन् । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१ भगवानपुरका अर्जुन कुर्मी सारसका असल अभिभावक र सुखदुःखका साथी हुन् । एक दशकयता सारस संरक्षणमा सक्रिय कुर्मी आफूले गरेको काम सुनाउन अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्निया सान्ता बारबारा जान लागेका छन् ।

 युनिभर्सिटीले उनलाई ‘गेस्ट लेक्चरर’ का रूपमा बोलाएको हो । कुर्मीर्ले सारस प्रजनन, गणना र संरक्षणमा उदाहरणीय काम गरेका छन् । उनले सिमसार व्यवस्थापन, जैविक विविधता प्रवर्द्धन, वातावरण संरक्षण र बुद्ध जन्मस्थल ‘क्लिन लुम्बिनी, ग्रिन लुम्बिनी’ भनेर अभियानै चलाएका थिए ।

उनले चलाएका विभिन्न अभियानबाट युनिभर्सिटीकी प्राध्यापक मेफेयर याङ प्रभावित बनिन् । युनिभर्सिटीको ‘सोसाइटी फर द एन्थ्रोपोलोजी अफ रिलिजन डेभलपमेन्ट अफ रिलिजियस स्टडिज’ की प्रमुख उनले नै कुर्मीलाई निमन्त्रणापत्र पठाएकी हुन् । 

कुर्मीले २३ अक्टोबरमा हिन्दु, बौद्ध र जैन धार्मिक संस्कृतिसँग सम्बन्धित ‘अन्डरग्य्राजुएट’ विद्यार्थीलाई लुम्बिनीमा सारस संरक्षणका लागि स्थानीयको सहभागितामा कसरी अभियान सफल भयो भन्ने विषयमा जानकारी दिनेछन् । विभिन्न धर्म र परम्परा मान्ने व्यक्ति र समुदाय कसरी मिलेर बसेका छन् र उनीहरूबाट के शिक्षा लिन सकिन्छ भन्ने विषयमा पनि उनलाई कक्षा लिन भनिएको छ । २३ र २४ अक्टोबरमा सोसाइटी फर द एन्थ्रोपोलोजी अफ रिलिजन डेभलपमेन्ट अफ रिलिजियस स्टडिजका स्नातक तहका विद्यार्थीलाई पनि लुम्बिनीका सारस, वातावरण, जैविक विविधता र जीवित धार्मिक संस्कृतिलाई निरन्तर गतिशील जीवन कसरी प्रदान गर्न सकिन्छ भन्ने विषयमा कक्षा लिने तयारी छ । 

अमेरिकी विश्वविद्यालयमा कक्षा लिन आउन निमन्त्रणा गरिएको पत्र पाउँदा असाध्यै खुसी लागेको कुर्मीले बताए । ‘प्राध्यापक मेफेयर याङले धेरै जिज्ञासा राख्नुहुन्थ्यो, तर्क गर्नुहुन्थ्यो । सकेसम्म उहाँका हरेक जिज्ञासा मेटाउने प्रयास गर्थें । यसरी अमेरिकामै पुगेर पढाउनुपर्ला भनेर सोचेकै थिइनँ,’ उनले भने, ‘प्रख्यात विश्वविद्यालयबाट आमन्त्रण पाउनु लुम्बिनीवासीकै लागि पनि गर्वको कुरा हो ।’ प्राध्यापक मेफेयर तीन पटक लुम्बिनी आएकी थिइन् । 

३५ वर्षे कुर्मी २० वर्षको उमेरदेखि चरासँग नजिकिए, वातावरण, शान्ति, सद्भाव र करुणाका विषयमा चासो राख्न थाले । सन् २०१३ मा उन ग्रिन युथ क्लब लुम्बिनी स्थापना गरे । त्यही क्लबमार्फत काम गर्दै अहिले उनी यहाँसम्म आइपुगेका हुन् । उनले लुम्बिनी आसपास विद्यालयमा ३० वटा इको क्लब गठन गरेर हरित विद्यालय अभियान पनि चलाए । ठाउँठाउँमा सारस संरक्षणको सडक नाटक प्रदर्शन पनि गरे । 

कुर्मी युवालाई जैविक विविधता, सिमसार, वातावरण र वन्यजन्तु अपराध न्यूनीकरणबारे सचेतना गर्दै चितवनदेखि कञ्चनपुरसम्म पुगेका छन् । उनले अहिले लुम्बिनी क्षेत्रमा १८ हजार बिरुवा रोप्ने अभियान थालेका छन् । कुर्मी सारस गणनामा पनि सहभागी हुन्छन् । कुर्मी घाइते सारसको उद्धार गर्छन्, मरेका सारसको व्यवस्थापन गर्छन् । एक दशकमा १० वटा घाइते सारसको उपचार गरेको उनले सुनाए । नेपालमा करिब ७ सय सारस रहेको तथ्यांक छ । तीमध्ये ८० प्रतिशत लुम्बिनी आसपास र कपिलवस्तुमा छन् । 

अहिले उनी सारस, वन, वातावरण र जैविक विविधताका विषयमा जानकार बनेका छन् । वातावरण संरक्षणमा राम्रो काम गरेबापत सन् २०१४ मा विश्व वन्यजन्तु कोष नेपालले कुर्मीलाई ‘योङ कन्जरभेसन लिडर अवार्ड’ प्रदान गरेको थियो । 

नेपालमा पहिलो पटक सारसको अध्ययन अनुसन्धान गर्न कुर्मीको संस्थाले सेटेलाइट ट्याग लगाउन थालेको छ । बेइजिङ फरेस्ट युनिभर्सिटीको प्राविधिक सहयोगमा ५ वटा सारसमा सेटेलाइट ट्याग लगाउन नेपाल सरकारबाट अनुमति लिइएको छ । यसबाट सारसबारे धेरै कुरा थाहा पाउन सकिने कुर्मीको भनाइ छ । 

सारसलाई लुम्बिनी सांस्कृतिक नगरपालिकाले नगर पन्छी र भारतको उत्तर प्रदेशले राज्य पन्छी घोषणा गरेका छन् । सारस उड्न सक्नेमध्ये सबैभन्दा अग्लो पन्छी हो । विश्वमा १५ प्रजातिका सारस पाइन्छन् । नेपालमा ४ प्रजातिका सारस पाइन्छन् । यीमध्ये पनि पनि सबैभन्दा बढी लुम्बिनी क्षेत्रमा छन् ।

मनोज पौडेल

Link copied successfully