चितवन राष्ट्रिय निकुञ्जका पूर्वप्रमुख रामपृत यादवको सम्मानमा हालै जन्मिएको हात्तीको छावालाई 'रामपृतगज' नाम दिइएको छ ।
What you should know
चितवन — सौराहानजिकैको खोरसोर हात्ती प्रजनन केन्द्रमा चार महिनाभित्रै चारवटा हात्तीका छावा जन्मिएका छन् । छावा जन्मेको १२औँ दिनमा विधिपूर्वक न्वारन गरी नाम राख्ने प्रचलनअनुसार आइतबार पनि साउन ७ गते जन्मिएको तामोरकलीको तेस्रो सन्तानको नामकरण गरिएको छ ।
चितवन निकुञ्जका प्रमुख तथा वरिष्ठ संरक्षण अधिकृत गणेश पन्तले उक्त छावाको नाम ‘रामपृतगज’ राखिएको घोषणा गरे । रामपृत यादव चितवन राष्ट्रिय निकुञ्जको स्थापना कालमै संलग्न कर्मचारी हुन् । पछि उनी लामो समयसम्म चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रही अवकास प्राप्त गरेका थिए ।
हाल भरतपुरमा बस्दै आएका यादव अवकास पाएको लामो समय भए पनि संरक्षण सचेतना गतिविधिमा सक्रिय छन् । संरक्षण क्षेत्रमा उनको योगदानको कदरस्वरूप छावाको नाम उनकै नाममा राखिएको अधिकृत पन्तले जानकारी दिए ।
खोरसोरमा चैत ८ गतेयता चार महिनाभित्रै चारवटा छावा जन्मिएका छन् । भाले छावाको नामपछि ‘गज’ र पोथी छावाको नामपछि ‘कली’ जोड्ने प्रचलन रहेको छ । यसअघि साउन ७ गते जन्मेको अर्को भाले छावाको नाम घडियाल गोही संरक्षणमा सक्रिय रहेका चितवन निकुञ्जका अवकासप्राप्त दिवंगत संरक्षण अधिकृत वेदबहादुर खड्काको सम्मानमा ‘वेदगज’ राखिएको थियो ।
खोरसोर हात्ती प्रजनन केन्द्रमा २०५० सालदेखि हालसम्म ६९ वटा छावा जन्मिएका छन् । गस्तीलगायत संरक्षण कार्यमा प्रयोग हुने हात्ती उत्पादन गर्न २०४४ सालमा यस केन्द्र स्थापना गरिएको थियो । हाल साना–ठूला गरी चितवन निकुञ्जका विभिन्न पोस्ट र हात्तीसारहरूमा ५८ हात्ती रहेको चितवन निकुञ्ज कार्यालयले जनाएको छ।
