संविधान र लोकतान्त्रिक प्रणाली नमान्नेले संसद्‍मा अवरोध गरिरहेका छन् : प्रधानमन्त्री ओली

राष्ट्रिय स्वतन्त्र पार्टीको अवरोधलाई इंगित गर्दै उनले 'व्यवस्थाविरुद्ध आगो लगाउन खोज्ने प्रवृत्ति'लाई गलत भनेका छन्।

श्रावण १८, २०८२

कान्तिपुर संवाददाता

Those who do not believe in the constitution and democratic system are obstructing the parliament: Prime Minister Oli

What you should know

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र लोकतान्त्रिक प्रणाली नमान्नेहरुले संसद्‍मा अवरोध गरिरहेको बताएका छन् ।  पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठद्वारा लिखित ‘लोकतन्त्र र जनअभिमतः नेपालको निर्वाचन इतिहास’  पुस्तकको आज लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

प्रतिनिधिसभाका बैठकहरूमा राष्ट्रिय स्वतन्त्र पार्टीको लगातारको अवरोध र बहिष्कारलाई सङ्केत गर्दै संविधान र कानुनभित्र रहेर स्वतन्त्रपूर्वक आफ्ना कुरा राख्न पाएको अवस्थामा पनि व्यवस्थाभित्रै छिरेर व्यवस्थाविरुद्ध आगो लगाउन खोज्ने प्रवृत्ति गलत भएको उनले टिप्पणी गरेका हुन् । 

प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणाली आफैंमा गलत नभएको तर यसलाई कार्यान्वयन गर्ने प्रक्रियाका सन्दर्भमा कतिपय गलत प्रवृत्ति रहेकाले प्रक्रियामा देखिएका कमीकमजोरी सुधार्नुपर्नेमा जोड दिए ।

'लोकतान्त्रिक प्रणालीमा सरकार जिम्मेवार हुन्छ र जनताप्रति उत्तरदायी हुन्छ । यस प्रणालीमा सरकार शासक हुँदैन, व्यवस्थापक र सेवक मात्रै हुन्छ,' प्रधानमन्त्री ओलीले भने, 'हाम्रो ध्येय सुशासन र समृद्धि हो । कोही पनि अराजक भएनन् भने सरकारले कानुन लगाइरहन पर्दैन । अराजकता देखिएमा त्यसलाई कानुनले आफ्नो बाटो लिनुपर्ने हुन्छ ।'

प्रधानमन्त्री ओलीले नेपालको निर्वाचन प्रणाली खर्चिलो भएको र उम्मेदवारहरूले सीमाभन्दा बढी खर्च गर्ने गरेको सन्दर्भमा वक्ताहरूले गरेका टिप्पणीको प्रतिवाद गर्दै प्रधानमन्त्री ओलीले आफ्नो अनुभवमा त्यस्तो नभएको स्पष्ट पारे ।

आफू विगतमा गृहमन्त्री र प्रधानमन्त्री हुँदा पनि स्वच्छ निर्वाचन व्यवस्थापनका लागि निर्वाचन आयोगलगायत निकायलाई कुनै हस्तक्षेप नगरेको ओलीको दाबी छ । कार्यक्रममा प्रा. विपिन अधिकारी, मोहना अन्सारी र गोपालकृष्ण शिवाकोटीले समीक्षा गरेका थिए । 

कान्तिपुर संवाददाता

Link copied successfully