दैनिक ५-६ सय भारु ज्याला पाउने आशामा नेपालीहरू सिमला जाँदैछन्, तीन महिनामा ४० हजारसम्म बचत गर्ने योजना छ।
What you should know
कञ्चनपुर — कैलालीको अत्तरिया नगरपालिका–५ का अंकेश चौधरी घर बनाउने मिस्त्री हुन् । चार–पाँच वर्षदेखि मिस्त्री काम गरिरहेका उनी शुक्रबार मामा दिनेश चौधरीसँगै गड्डाचौकी नाकाबाट भारतको सिमलातिर हिँडेका छन् ।
‘अहिले कामधन्दा केही छैन, बर्खामा मिस्त्री काम पनि कमै पाइन्छ,’ उनले भने, ‘मामाले स्याउ टिप्न जाऔँ भने, दशैंसम्म सिमलामै स्याउ टिपेर खर्च जुटाउँछु ।’
अंकेश पहिलो पटक सिमला जाँदैछन् । उनी यहाँ पाउने ज्यालाभन्दा स्याउ टिप्दा बढी पाइने भएपछि तयार भएका हुन् । दिनमा ६ सय भारु ज्याला र बस्न–खान पाउने भएकाले दशैंसम्म केही रकम जम्मा गर्ने उनको योजना छ ।
रोपाइँ सकेपछि स्याउ टिप्न सिमला जानेहरूले अहिले नाकामा भीड लाग्ने गर्छ । पिठ्युँमा झोला बोकेर हुलका हुल युवादेखि वृद्धसम्म भारततर्फ लाग्ने गरेका छन् । ‘अहिले पारि बस पाइयो भने भोलि साँझसम्म सिमला पुगिन्छ,’ सात वर्षदेखि सिमलामा स्याउ टिप्दै आएका दिनेश चौधरीले भने, ‘अब त काम भ्याइनभ्याई हुन्छ ।’
असार अन्तिमतिर मालिकले विषादी छर्किन र बारी सफा गर्न बोलाए पनि रोपाइँ नसकिएकाले उनी ढिलो गएका हुन् । साउनदेखि असोज–कात्तिकसम्म स्याउ टिप्ने, ग्रेडिङ, ढुवानी र प्याकेजिङको काम पाइन्छ । नेपालीहरूले दैनिक ५–६ सय भारु पाउँछन् ।
पहिले सुदूरपश्चिम र कर्णालीका पहाडी जिल्ला मात्र जाने गरे पनि अहिले तराईका थारू युवासमेत ठूलो समूहमा जाने गरेका छन् । खेतीपाती सकेर बेरोजगार हुने, बर्खे बिदाका कारण स्कुले किशोर पनि जाने गरेका छन् । कैलालीको भजनी नगरपालिका–२ का रवि चौधरीका अनुसार एक जनाले तीन महिनामा ३५–४० हजार भारु बचत ल्याउन सक्छन् ।
सिमलामा स्याउ टिप्न जाने चलन पुरानो हो । बर्खामा स्याउ टिप्ने र हिउँदमा त्यहीँ गोडमेल तथा घाँस काट्ने काम पाइने भएकाले यो रोजगारी नेपाली कामदारका लागि आकर्षक बनेको छ । अहिले एउटै नाकाबाट दैनिक ५–७ सय नेपाली भारत पस्ने गरेका छन् ।
