रोपाइँ सकेर स्याउ टिप्न सिमलातिर

दैनिक ५-६ सय भारु ज्याला पाउने आशामा नेपालीहरू सिमला जाँदैछन्, तीन महिनामा ४० हजारसम्म बचत गर्ने योजना छ।

श्रावण १८, २०८२

भवानी भट्ट

After planting, to Shimla to pick apples

What you should know

कञ्चनपुर — कैलालीको अत्तरिया नगरपालिका–५ का अंकेश चौधरी घर बनाउने मिस्त्री हुन् । चार–पाँच वर्षदेखि मिस्त्री काम गरिरहेका उनी शुक्रबार मामा दिनेश चौधरीसँगै गड्डाचौकी नाकाबाट भारतको सिमलातिर हिँडेका छन् ।

‘अहिले कामधन्दा केही छैन, बर्खामा मिस्त्री काम पनि कमै पाइन्छ,’ उनले भने, ‘मामाले स्याउ टिप्न जाऔँ भने, दशैंसम्म सिमलामै स्याउ टिपेर खर्च जुटाउँछु ।’

अंकेश पहिलो पटक सिमला जाँदैछन् । उनी यहाँ पाउने ज्यालाभन्दा स्याउ टिप्दा बढी पाइने भएपछि तयार भएका हुन् । दिनमा ६ सय भारु ज्याला र बस्न–खान पाउने भएकाले दशैंसम्म केही रकम जम्मा गर्ने उनको योजना छ ।

 रोपाइँ सकेपछि स्याउ टिप्न सिमला जानेहरूले अहिले नाकामा भीड लाग्ने गर्छ । पिठ्युँमा झोला बोकेर हुलका हुल युवादेखि वृद्धसम्म भारततर्फ लाग्ने गरेका छन् । ‘अहिले पारि बस पाइयो भने भोलि साँझसम्म सिमला पुगिन्छ,’ सात वर्षदेखि सिमलामा स्याउ टिप्दै आएका दिनेश चौधरीले भने, ‘अब त काम भ्याइनभ्याई हुन्छ ।’

After planting, to Shimla to pick applesअसार अन्तिमतिर मालिकले विषादी छर्किन र बारी सफा गर्न बोलाए पनि रोपाइँ नसकिएकाले उनी ढिलो गएका हुन् । साउनदेखि असोज–कात्तिकसम्म स्याउ टिप्ने, ग्रेडिङ, ढुवानी र प्याकेजिङको काम पाइन्छ । नेपालीहरूले दैनिक ५–६ सय भारु पाउँछन् ।

पहिले सुदूरपश्चिम र कर्णालीका पहाडी जिल्ला मात्र जाने गरे पनि अहिले तराईका थारू युवासमेत ठूलो समूहमा जाने गरेका छन् । खेतीपाती सकेर बेरोजगार हुने, बर्खे बिदाका कारण स्कुले किशोर पनि जाने गरेका छन् । कैलालीको भजनी नगरपालिका–२ का रवि चौधरीका अनुसार एक जनाले तीन महिनामा ३५–४० हजार भारु बचत ल्याउन सक्छन् ।

सिमलामा स्याउ टिप्न जाने चलन पुरानो हो ।  बर्खामा स्याउ टिप्ने र हिउँदमा त्यहीँ गोडमेल तथा घाँस काट्ने काम पाइने भएकाले यो रोजगारी नेपाली कामदारका लागि आकर्षक बनेको छ । अहिले एउटै नाकाबाट दैनिक ५–७ सय नेपाली भारत पस्ने गरेका छन् ।

भवानी भट्ट भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully