पोखरामा शनिबार आयोजित एमाले गण्डकी प्रदेश कमिटीको चौथो पूर्ण बैठकमा उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबारे बोल्ने क्रममा विग्रह ल्याउने चिज निषेध गरिनुपर्ने बताएका हुन् ।
What you should know
कास्की — एमाले उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टीभित्र विग्रह हुने चिजलाई निषेध गर्नुपर्ने बताएका छन् ।
पोखरामा शनिबार आयोजित एमाले गण्डकी प्रदेश कमिटीको चौथो पूर्ण बैठकमा उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबारे बोल्ने क्रममा विग्रह ल्याउने चिज निषेध गरिनुपर्ने बताए ।
अध्यक्ष र प्रधानमन्त्री दिएमा पनि यसअघिको पदभन्दा राम्रो काम गर्न सक्ने अवस्था नरहेकाले पूर्वराष्ट्रपतिले रहर गर्न नहुने उनको भनाइ थियो । ‘उहाँ आवेगमा आउनुभयो । उहाँलाई एमालेले के दिएन ? के दिएन र फेरि चाहना राख्ने ? उहाँलाई जे पद दियो पार्टीले त्योभन्दा अध्यक्ष दिएको, प्रधानमन्त्री दिएको भए काम गर्ने देखिन्छ ?,’ उनले थपे, ‘देखिँदैन भने किन रहर गर्ने ? पार्टीमा जुन चिजले विग्रह हुन्छ त्यसलाई निषेध गर्ने हो ।’
उमेर बढी हुँदैमा कसैले नेतृत्व गर्नुहुँदैन वा सक्दैन भन्ने विषय उचित नभएको उनले बताए । व्यक्तिको उमेरभन्दा पनि उसको क्षमता र भिजन हेर्नुपर्ने उनको भनाइ थियो । आफूले अध्यक्ष केपी शर्मा ओलीको सबैभन्दा आलोचना गर्ने गरेपनि आज नेतृत्वमा उनकै आवश्यकता रहेको गुरुङले बताए । ‘केपी ओलीको आलोचना मैले जति तपाईंहरुले गर्नुभा'छ ? कामको लागि आलोचना पनि गर्नुपर्छ,’ उनले थपे, ‘आजको दिनमा आवश्यकता कसको हो ? भोलि केपी ओलीको ठाउँमा अर्को कोही आए शेरबहादुर, प्रचण्ड, भारत, चीनले के गर्ला ? यो सबै चिजको हिसाबकिताब गरौं ।’
कुनै पनि बहानामा पार्टी विभाजनतर्फ जान नहुने उनले बताए । गुटबन्दीको समस्या समाधान गर्न आफूहरुले सोच्ने र पार्टीभित्र रहेका सबैको संरक्षण हुने उनले दाबी गरे । आन्तरिक चुनावमा हार्नेले जित्ने र जित्नेले हार्नेलाई अस्वीकार गर्नु पार्टीभित्रको समस्या भएको उनले सुनाए ।
चुनावमा प्रतिस्पर्धा र व्यवस्थापन गर्ने कुरालाई ध्यान दिइनुपर्ने उनले बताए । ‘चुनावमा प्रतिस्पर्धा र व्यवस्थापन गर्ने कुरालाई हामीले ध्यान दिनुपर्छ । सहमति हुने ठाउँमा सहमति गर्ने हो । नहुने ठाउँमा सहज रुपमा प्रतिस्पर्धा गर्ने हो,’ उनले भने । व्यक्ति विशेषको नाममा पार्टीभित्र विभिन्न तरिकाले विभाजित भएकालाई एकताबद्ध गर्नुपर्ने आवश्यकता उनले औंल्याए ।
