राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद्को अध्यक्षमा पहिलो पटक नेपाल निर्वाचित

इकोसकको अध्यक्ष बनेपछि थापाले नेपाललाई विश्वसनीय भूमिकाका लागि धन्यवाद व्यक्त गर्दै समावेशी विकासमा योगदान दिने प्रतिज्ञा गरे।

श्रावण १६, २०८२

सुदीप शिवाकोटी

Nepal was elected as the President of the United Nations Economic and Social Council for the first time

What you should know

अमेरिका — संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक परिषद् (इकोसक)को अध्यक्षमा नेपालका  लोकबहादुर थापा निर्वाचित भएका छन् ।  राष्ट्र संघको इकाईहरूमध्ये महत्त्वपूर्ण मानिने आर्थिक तथा सामाजिक परिषद्‍मा नेपालको प्रतिनिधित्व गर्दै स्थायी प्रतिनिधि एवं राजदूत लोकबहादुर थापा सन् २०२५–२०२६ का लागि अध्यक्षमा निर्वाचित भएका हुन् । नेपाल राष्ट्र संघको इकोसकको अध्यक्ष बनेको यो पहिलो पटक हो । 

यसअघि सन् २०२४–२०२५ का लागि इकोसकमा थापा नै उपाध्यक्ष थिए । थापा दुई वर्षअघि स्थायी प्रतिनिधिको जिम्मेवारीसहित न्यूयोर्क आएका हुन् । उनी यसअघि बेल्जियम तथा ईयूका लागि राजदूतको भूमिकामा थिए । नेपालको अध्यक्षमा इकोसकको उपाध्यक्षमा अल्जेरिया, आर्मेनिया, डोमिनिकन रिपब्लिक र स्पेन निर्वाचित भएका छन् ।

अमेरिकाको न्युयोर्कस्थित राष्ट्र संघको मुख्यालय न्युयोर्कमा बिहीबार भएको बैठकमा परिषद्को नेतृत्वका लागि निर्वाचत प्रक्रिया भएको थियो । थापा निर्वाचित भएलगत्तै बैठकमा परिषद्का निवर्तमान अध्यक्ष क्यानाडाका स्थायी प्रतिनिधि बब रेले ग्याभल हस्तान्तरण गर्दै थापालाई अध्यक्षमा पदस्थापित गरेका थिए । अध्यक्षमा निर्वाचित भएपछि थापाले नेपाललाई यस महत्त्वपूर्ण भूमिकाका लागि दिएको विश्वास र समर्थनप्रति सबै सदस्य राष्ट्रप्रति कृतज्ञता व्यक्त गरे । उनले नेपालका लागि यो ऐतिहासिक अवसर भएको भन्दै इकोसकको अध्यक्षता गर्नु बहुपक्षीयताप्रतिको प्रतिबद्धता र निष्पक्ष, समावेशी, न्यायपूर्ण विश्व निर्माणमा योगदान गर्ने अभिलाषाको प्रमाण भएको दाबीसमेत गरे । 

अध्यक्षको कार्यभार सम्हाल्ने थापाले जलवायु संकट, आर्थिक अन्योल र गहिरिँदो असमानताले बहुपक्षीय प्रणालीमाथि विश्वास घट्दै गएको भन्दै प्रविधिमा पनि अवसरसँगै चुनौतीहरू भएकाले यो बेला इकोसकको भूमिका झनै महत्त्वपूर्ण हुने बताए । ‘इकोसकले २०२५–२०२६ का लागि ‘सार्वभौमिक भविष्यका लागि परिवर्तनकारी, न्यायपूर्ण, नवप्रवर्तनशील र सम्भावित कार्यहरू’ तय गरिसकेको र त्यही नाराअनुसार काम गरिने छ,’ थापाले बैठकमा भने, ‘इकोसकमा नेपालले नमुनालायक काम गरेर विश्वलाई देखाउने छ ।’

(इकोसक) राष्ट्र संघको एक प्रमुख अंग हो, जसले आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, स्वास्थ्य, मानवअधिकार, वातावरण, महिला सशक्तीकरण र विकासजस्ता विषयहरूमा अन्तर्राष्ट्रिय सहयोग र समन्वय गर्ने विभाग हो । इकोसकले सदस्य राष्ट्रहरू, संयुक्त राष्ट्र संघको विभिन्न निकाय, विशेषज्ञ संस्था र नागरिक समाज (जस्तै एनजीओहरू)सँग मिलेर विश्वव्यापी विकासका लक्ष्य प्राप्त गर्न नीति निर्माण, बहस, सल्लाह, अनुसन्धान, तथा अनुगमनको काम गर्दछ । 

सुदीप शिवाकोटी शिवाकोटी कान्तिपुरका अमेरिका संवाददाता हुन् ।

Link copied successfully