चक्रे मिलनसहित १९ जनालाई सार्वजनिक हितविरुद्धको कसुरमा ७ दिन म्याद थप

चक्रे मिलन समूहको सार्वजनिक होहल्ला र सामाजिक भय उत्पन्न गर्ने गतिविधिका कारण प्रहरीले ४७ जनालाई नियन्त्रणमा लिएको छ।

श्रावण १६, २०८२

विवेक पोख्रेल

7 days extension to 19 people including Chakre Milan for crimes against public interest

What you should know

काठमाडौँ — बिहीबार राति प्रहरीको नियन्त्रणमा परेका चक्रे मिलन भनिने मिलन गुरूङसहित १९ जनालाई जिल्ला प्रहरी परिसरले सार्वजनिक हित विरुद्धको कसुरमा अनुसन्धान गर्ने भएको छ । 

काठमाडौंको महाराजगन्जको साम्बाला होटल क्षेत्रबाट गुनासोको फोन प्रहरीलाई आएपछि प्रहरीले मिलनसहित ४७ जनालाई पक्राउ गरेको थियो । ‘प्रहरीको नियमित अप्रेसनअन्तर्गत हामीले हिजो काठमाडौंभरिबाट १०४ जना पक्राउ गरेका थियौं,’ जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीले भने,‘त्यसमध्ये मिलन समूहका ४७ जना पक्राउ परेका थिए । ’ प्रहरीले आफ्नो मातहतका प्रहरीबाट नियन्त्रणमा लिएका सबैलाई अनुसन्धान गरी आवश्यक व्यक्तिमाथि अदालतबाट म्याद थप गरिएको अधिकारीले बताए । उनका अनुसार चक्रे मिलनको समूहबाट पक्राउ परेका ४७ मध्ये चक्रे मिलनसहित गणेशबहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दीप केसी, राहुल खड्का, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतीक लामा, चन्द्रदेव कार्की, जीतबहादुर लामा, प्रकाश गोले, अमिर आलेमगर, उत्तम महर्जन, प्रनिश केटल, राजु परियार र सफल शाहीलाई थप अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद भएको छ ।  

‘बाटोमा भेला भएर केक काटेको र महाराजगन्ज क्षेत्रमा होहल्ला गरेर शान्ति सुरक्षामा असर पारेको मुख्य आरोप यो समूहलाई प्रहरीले लगाएको छ । ‘केक काट्ने, रमाइलो गर्ने पनि ठाउँ होला,’ अधिकारीले भने, ‘कसैले पनि सामाजिक भय उत्पन्न गर्ने कार्य गर्नु हुँदैन त्यसैले हामीले सार्वजनीक हित विरुद्धको कसुरमा उनीलाई अनुसन्धान गछौं र कारबाही प्रक्रिया अघि बढाउँछौं ।’

चक्रेले ठूलो समूहमा सडक छेउमा केक काट्दै गरेको, जन्मदिनका अवसरमा पशुपति पुगेर पैसा बाँडेको लगायतका भिडियो अहिले सामाजिक संजालमा भाइरल छन् । चक्रेलाई उनका समूहका सदस्यहरूले सडक नै अवरुद्ध हुने गरेर स्कर्टिङ गरेको भिडियो पनि आएको छ । त्यो भिडियोमा भक्तपुरको सडकमा तीन वटा गाडी लस्करै चलाएर अरू गाडीलाई अगाडि जान नदिइएको दृश्य देखिन्छ ।

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully