माओवादी केन्द्रमा अन्तरसंघर्ष चर्किंदै गएपछि त्यसको व्यवस्थापन गर्न स्थायी समिति बैठकका लागि ‘पार्टीको आन्तरिक एकता’ प्रस्ताव नै तयार भएको छ ।
What you should know
काठमाडौँ — माओवादी केन्द्रमा अन्तरसंघर्ष चर्किंदै गएपछि त्यसको व्यवस्थापनका लागि प्रमुख प्रस्ताव तय भएको छ । अन्तरसंघर्ष व्यवस्थापन गर्न आगामी स्थायी समिति र त्यसपछि हुने केन्द्रीय समितिमा ‘पार्टीको आन्तरिक एकता’ शीर्षकको प्रस्ताव नै तयार भएको हो ।
बुधबार बसेको केन्द्रीय पदाधिकारी बैठकमा महासचिव देव गुरुङले पार्टीको आन्तरिक एकताको प्रस्ताव पेस गरेका हुन् । शुक्रबारदेखि हुने स्थायी समिति बैठकमा यो प्रस्तावमाथि गम्भीर छलफल हुनेछ ।
उपमहासचिव जनार्दन शर्माले विशेष महाधिवेशन गरी पार्टीको पुनर्निर्माण, नेतृत्व हस्तान्तरण, आन्तरिक लोकतन्त्र (जनवादी केन्द्रियता) कमजोर भएको विषय सार्वजनिक रुपमै उठाएकाले स्थायी समिति बैठकमा यी विषयले प्रवेश पाउनेछन् ।
‘स्थायी समितिका प्रमुख प्रस्तावमध्ये आन्तरिक एकता बलियो बनाउने प्रस्ताव पनि छ,’ माओवादी सचिव लीलामणि पोखरेलले भने, ‘पार्टी जीवनमा आन्तरिक एकता अतिआवश्यक भएकाले यो महत्वपूर्ण छ ।’
अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक रुपमा उपमहासचिव शर्माको नाम नलिई केही नेताले सिँगौरी खेलेको भन्दै आपत्ति जनाएका थिए । साउन ७ पुष्पलाल स्मृतिसभामा पार्टीले ‘जनवाद’ को उच्चतम अभ्यास गर्न दिएको बताएका थिए । ‘अहिले पनि केही साथीहरूले अलिअलि सिँगौरी खेल्न पाएजस्तो गर्नुभएको छ । उहाँहरूलाई प्रशस्त सिँगौरी खेल्न दिएको छु,’ उनले भनेका थिए ।
उपमहासचिव शर्माले भने हेडक्वाटर नजिकका नेताबाटै पार्टी फुटाउन खोजेको आरोप आफूमाथि लगाएको बताउँदै आएका छन् । ‘दुई वर्षदेखि माथिल्नो तहबाटै लगातार पार्टी फुट्छ भन्ने गरिएको प्रचारलाई यतिबेला थप मलजल गर्दै पार्टी कार्यकर्ता र जनतामा भ्रमको खेती गर्नेहरूप्रति सचेत हुन आग्रह गर्दछु,’ उनले मंगलबार सामाजिक सञ्जालमार्फत अपिल गरेका थिए ।
अध्यक्ष दाहालले शर्माको अभिव्यक्तिलाई गम्भीर रुपमा लिँदै स्थायी समितिमा पेस गर्न पार्टीको आन्तरिक एकताको प्रस्ताव तयार गर्न महासचिव गुरुङलाई लगाएका थिए । स्थायी समितिको सुरुमै यो प्रस्ताव पेस हुनेछ ।
‘जनार्दनजीले सार्वजनिक रुपमा नेतृत्वप्रति निरन्तर उठाएका प्रश्नको जवाफ अध्यक्षले दिनुहुनेछ,’ दाहाल निकट एक नेताले भने, ‘विषय प्रवेश भएपछि अन्य नेताले पनि पार्टीको विधि, पद्धति, अनुशासनका साथै जनवादी केन्द्रियताबारे धारणा राख्ने कार्यतालिका छ ।’
उपमहासचिव शर्माले सार्वजनिक रुपमा आफूले पार्टी नेतृत्व, विधि र पद्धतिबारे उठाएका प्रश्नबारे औपचारिक रुपमा धारणा राख्ने तयारी गरेका छन् । अध्यक्ष दाहालको प्रस्तुति अनुसार आफूले धारणा राख्ने तयारी शर्माले गरेको उनी निकट एक नेताले जानकारी दिएका छन् ।
स्थायी समितिमा नेताहरुको समग्र मतका आधारमा माओवादीले उपमहासचिव शर्मालाई सचेत गराउने वा त्योभन्दा बढी कारबाहीको प्रक्रिया बढाउने सम्भावना रहेको अर्का नेताले बताए । दाहाल निकट नेताहरुले उपमहासचिव शर्माले पार्टीको विधि, पद्धतिभन्दा बाहिर गएर सार्वजनिक रुपमा अभिव्यक्ति दिएकाले उनलाई स्पष्टीकरण सोध्नुपर्ने सुझाव अध्यक्षलाई दिएका छन् ।
स्थायी समितिको बहमुतले आफूलाई कारबाही प्रक्रिया अघि बढाए त्यसको प्रतिवाद गर्नेबारे उपमहासचिव शर्मा निकट नेताहरुसँग परामर्श गरिरहेका छन् । ‘प्रश्न उठाएको बहानामा कारबाही गरे त्यसको प्रतिवाद गर्ने तयारीमा जनार्दनजी हुनुहुन्छ,’ उनी निकट एक नेताले भने ।
ध्रुवीकरणको संकेत
शर्माले अध्यक्ष दाहालको कार्यशैलीप्रति प्रश्न उठाएपछि माओवादीमा केन्द्रदेखि जिल्लासम्म एक प्रकारको ध्रुवीकरण देखिएको छ ।
‘अवसरवादको कुनै विचार, राजनीति, निष्ठा र सिद्धान्तको सीमा हुन्न । यो सीमारहित मान्छे आकृतिको स्वादे जिब्रो हो । यो जिब्रोले पाएसम्म खान्छ र नपाएको दिन लापरबाह बमिट गर्छ,’ दाहाल निकट केन्द्रीय सदस्य रामप्रसाद सापकोटा (दीपशीखा) ले उपमहासचिव शर्मालाई संकेत गर्दै लेखेका छन् । ‘नेतृत्व भनेको क्रान्तिकारी विचार र सिद्धान्तमा आधारित रहेर आन्दोलनलाई अगाडि बढाउने क्षमता हो । आफ्नै नेतृत्व बदनाम गरेर न पार्टी बलियो बन्छ, न त आन्दोलन नै । यसबाट फाइदा त अन्तत: प्रतिक्रयावादीले नै लिने हो,’ उनले उल्लेख गरेका छन् ।
उपमहासचिव शर्मा निकट नेता सुदन किराँतीले पार्टीमा प्रश्न गर्नेलाई पार्टी विभाजनको आरोपको प्रतिवाद गर्नुपर्ने बताएका छन् । ‘प्रश्न गर्नेहरुलाई पार्टी विभाजनको आरोप लगाउने प्रवृत्तिविरुद्ध सशक्त वैचारिक प्रतिवाद गरौं,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेतृत्वको विचार र योगदानलाई जुग–जुगसम्म बचाइराख्न चाकडी र चाप्लुसी गर्ने प्रवृत्तिलाई निषेध गरौं ।’
मुख्य नेतृत्वमाथि ‘आक्रमण’ भएको भन्दै संस्थापन पक्षले सामाजिक सञ्जालमा अध्यक्ष दाहालको उद्धरण (कोटेसन) अभियान चलाएका छन् । सशस्त्र युद्धका बेला माओवादीभित्र बाबुराम भट्टराईले केन्द्रिकृत नेतृत्व भएको भन्दै प्रश्न उठाएपछि हरेक नेता तथा कार्यकर्ताले भाषण गर्दा दाहालको भनाइबाट सुरु गर्ने निर्देशन भएको थियो । पछिल्लो समय उपमहासचिव शर्माले अध्यक्ष दाहालको कार्यशैलीप्रति प्रश्न उठाएपछि फेरि उनको भनाइको पोस्टर बनाई अभियान चलाइएको छ ।
दीपशिखा, वाईसीएल अध्यक्ष पुष्प ओलीलगायतले दाहालको उद्धरणसहित पोस्टर अभियान चलाएका छन् । ‘हामीले सुधारवाद र उदारवाद होइन, वामपन्थ र क्रान्तिकारी लाइन दह्रोसँग पक्रिने संकल्प गरेका छौं । यही नै हाम्रो समाजवादी क्रान्तिप्रतिको संकल्प हो,’ दाहालको तस्बिरसहित सामाजिक सञ्जालमा अभियानै चलेको छ ।
२०८१ साउनमा भएको स्थायी समिति बैठकमा उपमहासचिव शर्माले १४ पृष्ठ कोलिखित मत राख्दै पार्टी प्रणाली लोकतान्त्रिक नभएको, नेतृत्व हस्तान्तरण हुनुपर्ने, वैचारिक नीति स्पष्ट हुनुपर्ने माग गरेका थिए । उनको मतलाई सातै प्रदेशमा ‘परामर्श बैठक’ गरी छलफल भएको थियो । त्यसलाई माओवादीले आन्तरिक लोकतन्त्रको उच्चतम अभ्यास भनेको थियो । दाहाल र शर्माबीच लामो छलफलपछि उनलाई २०८१ माघको स्थायी समितिले संगठन बिभाग प्रमुखको जिम्मेवारी दिइएको थियो ।
