तिलोत्तमाको दूरगामी सहकारीको अडिट प्रतिवेदन : सहकारीमा ८० करोडको शंकास्पद कारोबार, ३७ करोड बढी अपचलन

१३ हजारभन्दा धेरै पटक सफ्टवेयरमा ‘ऋण विवरण इन्ट्री र डिलिट’, अपरिचित व्यक्तिलाई लगानी, व्यवस्थापक पक्राउ, अध्यक्ष र सचिव अझै फरार, अध्यक्ष र सचिवका श्रीमती बचतकर्ताको नियन्त्रणमा ।

श्रावण १५, २०८२

घनश्याम गौतम

Audit report of Tilottama's Fargami Cooperative: Suspicious transaction of 80 crores in the cooperative, embezzlement of more than 37 crores

What you should know

बुटवल — तिलोत्तमा नगरपालिका–३ जानकीनगरमा रहेको डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थामा ३७ करोडभन्दा बढी रकम अपचलन भएको देखिएको छ । सहकारीमा ८० करोड बढी रकम ‘शंकास्पद’ देखिएको छ ।

सञ्चालक समितिको निर्णय र ऋण लगानी समितिको सिफारिस बिना नै सहकारीका अध्यक्ष, सचिव र व्यवस्थापकको मिलेमतोमा सहकारीमा २५ करोड बढी ऋण रकम अपरिचित र धितो विनाका व्यक्तिलाई लगानी गरेको देखिएको छ । त्यस्तै १२ करोड रकम अध्यक्ष, सचिव र व्यवस्थापकले नै हिनामिना गरेको पनि लेखा परीक्षण प्रतिवेदनले औँल्याएको छ ।

बचतकर्ताले सहकारीको रकम हिनामिना र अपचलन भएको संकेत पाएपछि स्वतन्त्र छानबिन र लेखा परीक्षणको माग गर्दै असार १७ गते सहकारीको कार्यालयमा तालाबन्दी गरेका थिए । त्यसपछि सहकारी दर्ता रजिस्ट्रारको कार्यालय दाङ, सहकारीका अन्य सञ्चालक सदस्य र बचतकर्ताको पहलमा लेखा परीक्षण समिति बनेको थियो ।

त्यही समितिले २८ दिन लगाएर गरेको लेखा परीक्षणमा बिना धितो र शेयर सदस्य नै नभएका अपरिचित व्यक्तिलाई ऋण प्रवाह गरेको, सहकारीको मूल रकम बाहेक अन्य शंकास्पद रकम पनि सहकारीमा आउने जाने गरेको, सहकारीको सफ्टवेयरमा हजारौँ पटक ऋण धनीको विवरण इन्ट्री र डिलिट गर्ने गरिएको देखिएको छ । त्यस्तै सहकारीको २५ करोड ऋण लगानीका क्रममा अपचलन गरिएको र १२ करोडको हिसाब नै नदेखिएको प्रतिवेदनमा उल्लेख गरिएको लेखा परीक्षण समितिका एक सदस्यले बताए ।

लेखा परीक्षण समितिले अध्ययन गरेको प्रतिवेदन बिहीबार सञ्चालक समिति र संस्थाको लेखा समितिलाई हस्तान्तरण गरेको छ । सहकारीको रकम हिनामिना गरेर अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर थापा झन्डै १ महिनादेखि फरार छन् । 

व्यवस्थापक वसन्त पराजुली प्रहरी हिरासतमा छन् । अध्यक्ष र सचिव नभएपछि प्रतिवेदन सहकारीका कोषाध्यक्ष सुरेन्द्र बज्राचार्य र बचतकर्ताद्वारा गठन गरिएको छानबिन व्यवस्थापन तथा समन्वय समितिलाई हस्तान्तरण गरिएको हो । कोषाध्यक्ष सुरेन्द्र बज्राचार्यले समितिले झन्डै ५ सय पेजको प्रतिवेदन बुझाएको तर, त्यसको अध्ययन हुन बाँकी रहेको बताए ।

‘हामीले यसको अध्ययन गर्नै बाँकी छ, प्रतिवेदन सहकारी दर्ता रजिस्ट्रारको कार्यालय दाङ र प्रहरीलाई बुझाउँछौँ,’ उनले भने, ‘त्यसपछि उहाँहरूको सल्लाह सुझाव लिएर सार्वजनिक गर्ने नगर्ने निर्णय गर्ने हो ।’ सहकारी दर्ता कार्यालयले र प्रहरीले थप अनुसन्धान गर्नु पर्ने आवश्यकता देखिएमा प्रतिवेदन तत्काल सार्वजनिक गर्न नमिल्ने उनले बताए ।

सहकारीले दूध र दूधबाट उत्पादित वस्तुहरूको पनि दैनिक कारोबार गर्दै आएको थियो । लेखा परीक्षक योगचन्द्र बास्तोलाले आफूहरूले उक्त सहकारीको दुग्ध कारोबार बाहेकको सम्पूर्ण आम्दानी, खर्च, ऋण लगानी र अन्य आर्थिक विवरणहरूसहितको प्रतिवेदन तयार गरेर हस्तान्तरण गरिएको बताए । 

‘प्रतिवेदन ४ सय ३ पेजको छ, त्यो बाहेक सहकारी र कारोबारसम्बन्धी अनुसूचीसहित झन्डै ५ सय पेज पुगेको छ,’ उनले भने, ‘त्यस भित्र रहेका विवरण सम्बन्धित निकायले नै जानकारी देलान् ।’ बचतकर्ताको तर्फबाट गठन गरिएको छानबिन व्यवस्थापन तथा समन्वय समितिका संयोजक बेलप्रसाद शर्माले प्रतिवेदन बिहीबार आफूहरूले पाएको र त्यसलाई आज नै सहकारी दर्ता रजिस्ट्रारको कार्यालय र प्रहरीलाई बुझाइने बताए ।

लेखा परीक्षणमा संलग्न सदस्यहरूका अनुसार सहकारीबाट करोडौँ रकम व्यक्तिगत तजबिजमा लगानी गरिएको देखिएको छ । झन्डै ८० करोड रकमको कारोबार नै शंकास्पद देखिन्छ । सहकारीको मूल रकम ४० करोड आसपास देखिए पनि झन्डै ८० करोड रकम सहकारीको खातामा बाहिरबाटै आउने जाने गरेको देखिएको छ । सहकारीको दैनिक बचत, ऋण लगानी गर्ने सफ्टवेयर नै १३ हजारभन्दा धेरै पटक डिलिट गरिएको देखिएको ती सदस्यले बताए ।

‘सहकारीको ऋण लगानीको सफ्टवेयर नै १३ हजार ७३ पटक डिलिट गरिएको देखिन्छ । डिलिट भएको समय कार्यालय समयभन्दा अफ आवरमा बढी छ,’ उनले भने, ‘त्यो भन्दा गलत धन्दा के नै हुन्छ र ?’ सफ्टवेयरमै डिलिट र इन्ट्री गर्नुले अध्यक्ष, सचिव र व्यवस्थापकले गलत नियतका साथ रकम संकलन र लगानी गर्ने गरेको देखिएको उनले बताए ।

ऋण नलिएका व्यक्तिको नाममा ऋण देखाइएको, ५० जनाभन्दा धेरैलाई विना धितो ऋण प्रवाह गरिएको, धितो राखिएका खातामा पनि मूल्याङ्कनसम्बन्धी फाइल नै नभएको देखिएको छ । मूल्याङ्कनका लागि इन्जिनियर राखिएको र १० लाखभन्दा माथिको ऋण इन्जिनियरबाट मूल्याङ्कन गराएर मात्र प्रवाह गर्ने निर्णय देखिए पनि ऋण लगानीमा कुनै पनि इन्जिनियरको अध्ययन, मूल्याङ्कन, प्रतिवेदन र प्रमाणित भएको केही नराखिएको देखिएको छ ।

६४ लाखको धितो मूल्याङ्कन गरेर १ करोड १४ लाख लगानी गरेको फाइल भेटिएका छन् । सहकारीका सचिव थापाले मात्रै ८७ पटक ऋण प्रवाह गरेको लेखा परीक्षणमा देखिएको छ । सहकारीको १४ वर्षको अवधिमा अध्यक्ष घनश्याम तिवारी र सचिव थापाले ८० करोड रुपैयाँ गैर कानुनी रूपमा चलाएको देखिएको छ ।

४३ करोड रुपैयाँ बराबरको ऋण सेवा शुल्कबिना प्रवाह गरिएको छ । ऋण नलिएका व्यक्तिहरूको नाममा ऋण देखाइएको र महिनाको अन्त्यमा देखिएको ऋण अर्को महिनाको पहिलो साता ‘शून्य’ बनाइएको पनि लेखा परीक्षणका क्रममा देखिएको ती सदस्यले बताए ।

‘ऋणका कुनै फाइलमा प्रक्रिया पूरा गरिएको छैन, १० लाखभन्दा माथिको फाइलमा इन्जिनियरिङ मूल्याङ्कन गर्ने भनिएको छ,’ ती सदस्यले भने, ‘तर यहाँ कुनै इन्जिनियरले प्रमाणित गरेका कागजपत्र छैनन्, इन्जिनियर कहिल्यै सहकारी कार्यालयमा गएको पनि देखिन्न ।’ सहकारीका सल्लाहकार रहेर अहिले पीडित सदस्यहरूको तर्फबाट अगुवाइ गरेका बेलप्रसाद शर्माले धेरै कागजात किर्ते गराएर र नक्कली सदस्य खडा गरेर रकम अपचलन गरेको लेखा परीक्षणमा देखिएको बताए ।

सहकारीका अध्यक्ष तिवारी र सचिव थापा असार १६ गते सहकारीको माइन्यूट नै च्यातेर फरार भएका छन् । उनीहरूलाई प्रहरीले जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गराएको छ । तर, पक्राउ नगरिएपछि बचतकर्ता आक्रोशित बन्दै गएका छन् । सहकारीको अध्यक्ष रहेका तिवारी नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि हुन् ।

गत स्थानीय तहको निर्वाचनमा तिलोत्तमा–३ को वडा अध्यक्षका आकाङ्क्षी थिए । त्यस्तै सचिव थापा नेपाली कांग्रेस तिलोत्तमा नगर समितिका पूर्व सचिव हुन् । सहकारीमा सह–कोषाध्यक्ष रहेकी केशरी पाण्डे तिलोत्तमा–३ की सभापति हुन् । सहकारीमा २ हजार २ सय बचतकर्ता छन् । ११ सय जनालाई ऋण प्रवाह गरिएको छ ।

पहुँच र सत्ता पक्षीय दलनिकट भएकै कारण प्रहरीले पक्राउमा चासो नदिएको भन्दै मंगलबारदेखि अध्यक्ष र सचिवको घर घेराउ गरिरहेका छन् । बुधबारदेखि अध्यक्ष तिवारीकी श्रीमती शारदा तिवारी र थापाकी श्रीमती गीतादेवी पन्थलाई नियन्त्रणमा लिएर सहकारीको कार्यालयमै प्रहरीको सुरक्षामा राखेका छन् ।

व्यवस्थापक पराजुलीकी श्रीमतीले गएको असार २५ गते जिल्ला अदालत पुगेर नक्कली डिभोर्सको कागजात पेस गरेपछि बचतकर्ताले रोकेका थिए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गणेश सापकोटाले सहकारीको प्रतिवेदन प्रहरीले प्राप्त गर्ने क्रममा रहेको र त्यसको अध्ययनपछि थप अनुसन्धान सुरु गरिने बताए ।

‘फरार रहेका अध्यक्ष र सचिवको पनि खोजी जारी छ,’ उनले भने, ‘प्रतिवेदन प्राप्त भएपछि थप अनुसन्धानमा हामी लाग्छौँ नै ।’ प्रहरीले आफ्नै हिसाबले पनि अनुसन्धान गरिरहेको उनले बताए ।

घनश्याम गौतम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully