अवैध असुलीदेखि जघन्य अपराधजन्य कसुरमा संलग्न भएको आरोपमा पछिल्लो ६ वर्षमा करिब १२ हजार प्रहरी कारबाहीमा परेका छन् ।
What you should know
रौतहट — इलाका प्रहरी कार्यालय हरिवन, सर्लाहीका निरीक्षक (इन्स्पेक्टर) किशोर तामाङलाई २४ चैत २०८१ मा अपरिचित व्यक्तिले गोप्य सूचना दिए, ‘कोरेक्सलगायत प्रतिबन्धित लागूऔषध ओसारपसार हुँदै छ, प्रहरी पठाइदिनुपर्यो ।’ सूचनालगत्तै निरीक्षक तामाङसहितको प्रहरी टोलीले केहीबेरमै हरिवन नगरपालिका–३ डाबरीटोलका ३६ वर्षीय मानबहादुर घिसिङ पक्राउ गर्यो ।
आरोपितको साथबाट कोरेक्स, ओनरेक्स, विनेक्रसका बोतल बरामद भयो । अनुसन्धान गरी अदालतसम्म पुगेको मुद्दाका अभियुक्त घिसिङले बयानमा थप खुलाए, ‘म भरिया मात्र हुँ, प्रहरीले ७ सय बोतल बरामद गरेकामा ४ सय ५८ बोतल मात्र देखाएर बाँकी २ सय ४२ बोतल गायब पार्यो ।’ पक्राउ परेका आरोपितले प्रहरीमाथि लगाएको आरोपमा अनुसन्धान नै भएन ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका निरीक्षक मनीष श्रेष्ठ बलात्कार आरोपित आकाश आदर्शले अदालतबाट सफाइ पाएको खुसियालीमा ५ जेठमा आयोजना गरेको भोजमै सहभागी भए । अभियोगबाट सफाइ पाएको २ दिनपछि प्रतिवादीको भोजमा प्रहरी अधिकृत सहभागी भएको तस्बिर सामाजिक सञ्जालमा भाइरल बन्यो । प्रहरीको आन्तरिक छानबिनपछि विभागीय कारबाही सिफारिस भएर श्रेष्ठलाई अहिले चितवनको टाँडी सरुवा गरिएको छ ।
सर्लाहीको हिरापुरमा कार्यरत सई वैद्यनाथ दासले नेपाल–भारत सीमा क्षेत्रका तस्करसित रकम मागेको अडियो सार्वजनिक भयो । तस्करसँग १८ हजार रुपैयाँ रकम मागेको अडियो बाहिरिएपछि २ साउनमा उनी निलम्बनमा परेका छन । सर्लाहीका ‘तस्कर’ राजीव भन्ने व्यक्तिलाई भारतबाट सामान तस्करी गराउन सघाएबापत दासले आफ्ना सहयोगीमार्फत घूस मागेको खुलेको थियो ।
शान्ति सुरक्षा व्यवस्थापन, अपराध रोकथाम तथा नियन्त्रणलगायतमा खटिने बर्दीधारी प्रहरी नै अपराधजन्य कसुरमा मुछिएका यी केही प्रतिनिधिमूलक घटना मात्र हुन् । अझ नेपाल–भारत सीमा क्षेत्रमा खटिएका सादा पोसाकका प्रहरी र गिरोहको मिलेमतोमा तस्करी धन्दाले मलजल पाइरहेको विषय झनै डरलाग्दो छ । प्रहरी प्रधान कार्यालयले विभिन्न अपराध र अनुचित कार्यमा संलग्न प्रहरीलाई कसुरको मात्रा हेरी सचेत गराउने, दर्जा घटुवा गर्ने, ग्रेड रोक्नेदेखि बर्खास्तसम्मका कारबाही गर्दै आएको छ ।
अवैध असुलीदेखि जघन्य अपराधजन्य कसुरमा संलग्न भएको आरोपमा पछिल्लो ६ वर्षमा करिब १२ हजार प्रहरी कारबाहीमा परेका छन् । सीमा क्षेत्रमा खटिएका प्रहरी सबैभन्दा बढी कसुरमा संलग्न देखिएको तथ्यांक छ । कारबाहीमा पर्नेमा प्रहरी जवानदेखि निरीक्षकसम्म र यसमा पनि मुद्दा फाँट तथा घुमुवामा खटिएका प्रहरीको संख्या धेरै छ ।
‘जनतासित प्रत्यक्ष सम्पर्कमा तल्लो तहकै र सादा पोसाकका प्रहरी बढी हुन्छन्, फिल्डमा बढी खट्ने पनि उनीहरू नै हुन्छन्,’ नेपाल प्रहरीका प्रवक्ता डीआईजी विनोद घिमिरे भन्छन्, ‘जनतामाझ प्रत्यक्ष भिजेर काम गर्ने हुनाले उनीहरूबाट तलमाथि भएका घटना धेरै छन्, कारबाही गरिएकामा पनि उनीहरू धेरै छन् ।’
आव २०७६/७७ मा १ हजार ९ सय ७४ प्रहरी विभागीय कारबाहीमा परेका थिए । आव २०७७/७८ मा १ हजार ९ सय ८२ जना, आव २०७८/७९ मा १ हजार ८ सय ६० जना, आव २०७९/८० मा २ हजार २४ जना, आव २०८०/८१ मा २ हजार ३ सय ८७ जना र आव २०८१/८२ मा २ हजार ७३ प्रहरी कर्मचारी विभिन्न अपराधदेखि आचरणविपरीत गतिविधिमा संलग्न रहेको आरोपमा कारबाहीमा परेको तथ्यांक छ । प्रहरी प्रधान कार्यालयका अनुसार आचरणविपरीत र अपराजन्य गतिविधिको आरोपमा सबैभन्दा बढी कारबाही पर्नेमा मधेश प्रदेशअन्तर्गतका जिल्लामा खटिएका प्रहरी छन् ।
पूर्वपश्चिम राजमार्गमा जिप चालकसित घूस लिएको आरोपमा २० साउन २०८० मा रौतहट र सर्लाहीका दुई प्रहरी निलम्बनमा परे । चालकसित अवैध रकम लिएको भिडियो सामाजिक सञ्जालमा आएपछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा मधेश प्रदेश प्रहरी कार्यालयले रौतहटको इलाका प्रहरी कार्यालय गरुडाका सुनिलकुमार यादव र प्रदेश राजमार्ग ट्राफिक कार्यालयअन्तर्गत सर्लाही बागमती पोस्टका ट्राफिक जवान विकास कलवारलाई निलम्बन गरेको थियो । पछिल्लो पटक १८ हजार घूस प्रकरणमा निलम्बनमा परेका सई दास ५ मंसिर २०७७ मा पनि घूस प्रकरणमै निलम्बनमा परेर २८ वैशाख २०७८ मा कारबाही फुकुवा भएका थिए । अहिले पुनः पुरानै धन्दामा उनको संलग्नता देखिएको छ ।
रक्सी चोरी आरोपमा १७ जेठ २०७८ मा इलाका प्रहरी कार्यालय लहानका असई नवलकिशोर ठाकुर तथा जवानद्वय अन्नुकुमार राय र नरेशकुमार राय आन्तरिक छानबिनपछि निलम्बनमा परेका थिए । सोही वर्षको ९ जेठमा लहान नगरपालिका–२३ गढिया चोकको एसके होटलबाट रक्सी चोरेको आरोपमा उनीहरू निलम्बनमा परेका हुन् ।
मधेश प्रदेशका पूर्वप्रहरी प्रमुखसमेत रहेका प्रहरीका पूर्वमहानिरीक्षक धिरजप्रताप सिंह विगतको पृष्ठभूमि हेरेर फिल्डमा खटिनेलाई सोहीअनुसारको जिम्मेवारी दिइनुपर्नेमा त्यसो हुन नसकेको बताउँछन् । ‘कारबाहीमा परिसकेका प्रहरीलाई पृष्ठभूमि हेरेर मात्र जिम्मेवारी दिनुपर्नेमा त्यसो हुन सकेको छैन, म मधेशमा रहँदा निलम्बनमा परेका सई अहिले त्यही आरोपमा पुनः निलम्बनमा परेको विषयले जिम्मेवारी दिँदा विगतको पृष्ठभूमि केलाउनुपर्छ भन्ने स्पष्ट सन्देश दिएको छ,’ पूर्वआईजीपी सिंह भन्छन्, ‘मधेश प्रदेशमै प्रमुख हुँदा दासले संगठनको हितविपरीत काम गरेको देखिँदा तत्कालै निलम्बन गरेको थिएँ, यस्ता बदनाम प्रहरीलाई चौकीको इन्चार्ज दिनु बिल्कुलै गलत हो, पृष्ठभूमि हेरेर स्वच्छ छवि भएकालाई जिम्मेवारी दिनुपर्छ ।’
पछिल्लो पटक १८ हजार घूस प्रकरण सेलाउन नपाउँदै ४ साउनमा सर्लाहीकै एक प्रहरी चौकी प्रमुख र महिला तस्करबीच घूस संवादको अर्को अडियो सार्वजनिक भयो । ४ साउनसम्म तस्करीको सामान पास गराउने समय रहे पनि १ साउनमै इलाका प्रहरी कार्यालय केशरगन्जले चार बोरा चिनी, चार बोरा हरियो केराउ र दुई बोरा खेसरीको दाल नियन्त्रणमा लिएपछि त्रिभुवननगरकी एक महिला र ब्रह्मपुरी चौकीका प्रमुख असई मनोज यादवबीच भएको अडियो संवाद बाहिरिएको हो । यो विषयमा छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राई बताउँछन् । डीएसपी राई भन्छन्, ‘हामीले अडियो सम्बन्धमा सहायक निरीक्षक यादवसति स्पष्टीकरण सोधेर जिम्मेवारीबाट पनि हटाइसकेका छौं ।’
यसअघि पनि यादव प्रहरी चौकी संग्रामपुरको प्रमुख हुँदा फूलको कारोबार गर्ने व्यापारीसँग घूस मागेको आरोपमा निलम्बनमा परी फुकुवा भएका थिए । इलाका प्रहरी कार्यालय गौशाला, महोत्तरीका निरीक्षक उत्तमसिंह भण्डारीसहित तीन प्रहरीलाई आचरणविपरीत काम गरेको आरोपमा २५ असारमा जिम्मेवारीबाट हटाएर अनुसन्धानका लागि मधेश प्रहरी गण जनकपुरमा राखिएको छ ।
वीरगन्जको मुख्य भन्सारमा प्रहरीले तस्करसँग रकम असुल्न बाल्टिनमा राख्न लगाएको भिडियो सार्वजनिक भएपछि १२ चैत २०७९ मा इलाका प्रहरी कार्यालय इनर्वा (पर्सा) मा कार्यरत वरिष्ठ हबलदार गणेश कँडेल, हबलदार गौरीशंकर यादव, सहायक हबलदार रोहितकुमार यादव र हबल्दार सलोनलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले निलम्बन गरेको थियो ।
वीरगन्जको मुख्य भन्सार नाकामा प्रहरीले तस्करलाई प्लास्टिकको रातो रंगको बाल्टिनमा रकम राख्न लगाइरहेको दृश्य सार्वजनिक भएपछि उनीहरू कारबाहीमा परेका थिए । भन्सारको प्रवेशद्वारभित्र पश्चिमपट्टि इनर्वा प्रहरीले प्लास्टिकको रातो रंगको बाल्टिन राखेर पारिबाट भन्सार छलीका सामान लिएर आउनेसँग महिनौंदेखि रकम असुल्दै आएका थिए ।
प्रहरीको तथ्यांकमा मधेशमा यस्ता धेरै घटना दोहोरिने गरेका छन् । मधेशमा आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ का दुई आर्थिक वर्षमा ६ सय ९ जना प्रहरी कारबाहीमा परेका छन् । प्रदेश प्रहरी प्रमुख डीआईजी उमा चतुर्वेदीले गलत गर्ने जोकोही प्रहरीलाई कारबाहीको दायरामा ल्याइएको तर कतिपय विषयमा हुँदै नभएका लाञ्छना प्रहरीमाथि थोपरिएको दाबी गरे । ‘मैले गलत गरेको छैन र म डराउँदिनँ पनि,’ उनी भन्छन्, ‘सीमा क्षेत्रमा कडाइ गरेकै छु, संगठनविपरीत आचरण गर्ने प्रहरी जोसुकै भए पनि कारबाही गर्न छाड्दिनँ । कसले (पत्रकारले) के लेख्छ, मलाई थाहा छैन, क–कसलाई मनाउन जाऊँ ?’
यता काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सर्वसाधारणलाई निर्घात कुटपिट गरेको आरोपमा चार जना ट्राफिक प्रहरीलाई ११ वैशाख २०८२ मा जिम्मेवारीबाट हटाएको थियो । २३ मंसिर २०८१ मा सुन्धाराको आकाशे पुलमुनि जनसेवाबाट खटिएका ट्राफिकले सर्वसाधारण व्यक्तिलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि अघि बढेको अनुसन्धानका क्रममा पछि उनीहरू कारबाहीमा परेका थिए ।
सार्वजनिक स्थलमै आचरणविपरीत मादक पदार्थ सेवन गरेको आरोपमा कर्णाली प्रहरी प्रमुख अर्जुन चन्द ठकुरीलाई ७ असोज २०८१ मा जिम्मेवारीबाट हटाएर जनक भट्टराईलाई पठाइएको थियो । ‘तल्लो दर्जाका प्रहरीले यस्तो हरकत गरेको भए सिधै निलम्बन हुन्थ्यो,’ एक प्रहरी अधिकृत भन्छन्, ‘कारबाही भोग्ने त तल्लो दर्जाले त हो नि !’ ठकुरी २०८१ मंसिरमा अवकाशमा गइसकेका छन् ।
ललितपुरको भैंसेपाटी प्रहरी प्रभाग प्रमुख तत्कालीन निरीक्षक बिनु शाहीविरुद्ध ‘हनि ट्र्याप’ सित मिलोमतो गरेको आरोपमा मुद्दा नै चलेको छ । जग्गा व्यवसायीलाई ‘हनि ट्र्याप’मा पारेर बलात्कारमा फसाउने भन्दै जग्गा रकम लिएको आरोपमा ६ असोज २०८१ मा उनी निलम्बनमा परिन् । इटहरीका जग्गा व्यवसायीसित ३० लाख असुलेको उजुरीका आधारमा उनी अनुसन्धानमा तानिएकी थिइन् । मुद्दा चलेपछि उनी केही समय फरार भइन् र अदालतमा हाजिर भएपछि धरौटीमा छुटेकी थिइन् ।
तत्कालीन प्रहरी महानिरीक्षक प्रकाश अर्यालले घुमुवाहरू आपराधिक गतिविधिमा पटक–पटक मुछिएपछि सादा पोसाकका प्रहरीलाई हटाएका थिए ।
घुमुवा प्रहरी मधेश प्रदेशका जिल्लामा बढी सक्रिय छन् । सीमा नाकाबाट हुने चोरी, तस्करीमा उनीहरू जोडिँदै आएका छन् । प्रहरीका कारण संगठन बदनाम भएको भन्दै तत्कालीन महानिरीक्षक रमेशचन्द ठकुरीका बेला गृह मन्त्रालयले घुमुवा हटाउन निर्देशन दिएको थियो । त्यसपछि प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धान मात्र गर्ने कार्यालयदेखि बाहेकका युनिटबाट विभिन्न चरणमा दुई सय बढी घुमुवा प्रहरीलाई तानेको थियो ।
प्रहरी प्रवक्ता घिमिरे भन्छन्, ‘सादा पोसाकका प्रहरी परिचालन गर्ने अवधारणा गलत होइन । आपराधिक गतिविधिको सूचना, गाँजा तस्कर, अन्य घटनामा सबैभन्दा धेरै सूचना र मानिस पक्रने काम सादा पोसाककै प्रहरीले गर्दै आएका छन् । तर केही सादा पोसाकमा खटिएकाहरू गलत ढंगले प्रस्तुत हुन थाले । असुलीमा लाग्न थाले । दुरुपयोग हुन थाल्यो ।’
