इन्जिनियर ढकाल भन्छन्, ढलान सडकले टिकाउपनमा चार गुणा सुधार ल्याउँछ।
What you should know
नवलपरासी — पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडक खण्डमा पर्ने दाउन्नेमा सडक ढलानको काम धमाधम भइरहेको छ। गत दुई सातादेखि ठूलो वर्षा नपरेकाले राजमार्ग ढलानको कामले तीव्रता लिएको हो। बुधबारसम्म पूर्वी खण्डमा ८३० मिटर र पश्चिम खण्डमा १,४०० मिटर सडक ढलान भइसकेको छ।
ठाडो उकालो भएका कारण ढलान सडक टिकाउ हुने भएकाले यस क्षेत्रमा प्राथमिकताका साथ ढलान सडक निर्माण भइरहेको छ।
सडक आयोजना निर्देशनालयका प्रमुख इन्जिनियर चुडाराज ढकालका अनुसार दाउन्ने सडक सर्वेक्षण गर्दा ढलान सडक निर्माणको योजना नभए पनि वर्तमान अवस्थाको विश्लेषणपछि टिकाउ सडक निर्माण गर्न ढलान सडक निर्माण सुरु गरिएको हो।
दाउन्ने खण्डमा पर्ने करिब १४ किलोमिटर सडकमध्ये पश्चिमतर्फ करिब ३ किलोमिटर सडक कालोपत्रे भइसकेको छ। ठाडो उकालो र बढी पानी बग्ने स्थानमा ढलान सडक निर्माण गरिएको उनले बताए । बाँकी १० किलोमिटर सडकमध्ये बुधबारसम्म दुवै तर्फ गरेर २ किलोमिटर सडक ढलान भइसकेको छ।
इन्जिनियर ढकालका अनुसार ढलान सडक कालोपत्रे सडकभन्दा लागतमा महँगो भए पनि करिब चार गुणा टिकाउ हुन्छ। चिनियाँ ठेकेदार कम्पनीले सम्पूर्ण दाउन्ने सडक ढलान गर्न प्रस्ताव गरेको छ।
घुमाउरो पहाड भएको दाउन्ने सडक तीन लेनको हुनेछ। १३ मिटर फराकिलो सडकमा अहिले पहिरो रोक्न पर्खाल (रिटेनिङ वाल) ठड्याउने काम पनि भइरहेको छ। ठेकेदार कम्पनीले १०० भन्दा बढी मजदुर परिचालन गरेको छ।
चीनको स्टेट इन्जिनियरिङ कन्स्ट्रक्सन कम्पनीले पूर्वी नवलपरासीकै सर्दीस्थित चिनियाँ लगानीमा निर्मित होङ्सी सिमेन्ट प्रयोग गरेर काम गरिरहेको छ।
२०७५ चैत ८ गते सुरु गरिएको सडक निर्माणको काम बुधबारसम्म ७० प्रतिशत पूरा भएको सडक विभागले जनाएको छ। ठेकेदार कम्पनीले २०८३ साल माघसम्म म्याद थप गर्न माग गरे पनि सडक विभागले अधिकतम आउँदो साउनसम्म एक वर्ष मात्र म्याद थप्ने गरी गृहकार्य गरिरहेको निर्देशनालय प्रमुख ढकालले बताए।
