रास्वपा संसदीय दलको बैठक भैरहवामा सुरु

संसदीय दलको बैठकका लागि रास्वपाका सांसदहरू काठमाडौंबाट भैरहवा पुगेका थिए

श्रावण १४, २०८२

कान्तिपुर संवाददाता

RSVP Parliamentary Party meeting started in Bhairahawa

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक रुपन्देहीको भैरहवामा सुरु भएको छ । रास्वपा संसदीय दलको बैठक भैरहवाको रमादा होटे‍लमा सुरु भएको हो । 

संसदीय दलको बैठक बुधबार दिउँसो १ बजेदेखि ४ बजेसम्म चल्ने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । राष्ट्रिय राजनीति र पार्टीले आगामी दिनमा चाल्नुपर्ने कदमबारे छलफल गर्नका लागि रास्वपाले भैरहवामा संसदीय दलको बैठक बोलाएको हो । 

संसदीय दलको बैठकका लागि रास्वपाका सांसदहरू भैरहवा पुगेका थिए । पार्टी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठको अध्यक्षतामा बैठक बसिरहेको हो ।

रास्वपा सभापति रवि लामिछाने रुपन्देही सहकारी ठगी, संगठित अपराधलगायतका मुद‍्दाको पूर्पक्षका लागि रुपन्देही कारागारमा रहेका छन् ।    

संसदीय दलको बैठक अघि कार्यवाहक सभापति, उपसभापति, महासचिव, प्रवक्तासहितको टोलीले लामिछानेलाई भेट्ने प्रयास गरेका थिए । तर कारागार प्रशासनले सामूहिक भेट दिन अस्वीकार गरेको थियो । 

लामिछानेलाई पार्टीका कार्यवाहक सभापति डिपी अर्याल र सांसद सोबिता गौतमले मात्रै भेट्न पाएका छन् ।   

कान्तिपुर

Link copied successfully