संसदीय दलको भैरहवा बैठकमा संसद् र संगठनबारे छलफल गर्दै रास्वपा

संगठनको वर्तमान गतिविधि, उद्देश्य, लक्ष्य, चौतर्फी आक्रमणबारे आएको प्रस्तावमा छलफल जारी

श्रावण १४, २०८२

कान्तिपुर संवाददाता

RSVP discussing the parliament and organization at the Bhairahawa meeting of the parliamentary party

What you should know

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक रुपन्देहीको भैरहवामा जारी छ । संघीय संसद् प्रतिनिधिसभामा रहेका रास्वपाका सांसदहरू संसदीय दलको बैठक बस्नका लागि रुपन्देहीको भैरहवा पुगेका हुन् । 

भैरहवामा बुधबार दिउँसो १ बजेदेखि जारी बैठकमा संगठनात्मक र संसदीय गतिविधिबारे छलफल भइरहेको सांसदहरूले जानकारी दिएका छन् । 

संसद्मा आउने विधेयकदेखि अन्य विषयवस्तुबारे सांसदहरूलाई अध्यावधिक गराउने उपायबारे बैठकमा छलफल भइरहेको हो । रास्वपा प्रवक्ता मनिष झाका अनुसार पार्टीको संगठनात्मक गतिविधि र संसद्मा आगामी दिनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भइरहेको हो । 

भैरहवाको होटल रमादामा जारी बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले संगठनका विषयमा प्रस्ताव राखेका  थिए । 'बैठकमा वर्तमान समसामयिक राजनीतिक विषयमा एक-अर्कालाई जानकारी र अद्यावधिक गराउने एजेन्डा रहेका छन् । कार्यवाहक सभापतिबाट संगठनको वर्तमान गतिविधि, उद्देश्य, लक्ष्य, चौतर्फी आक्रमणबारे आएको प्रस्तावमा छलफल भइरहेको छ,' झाले भने, 'राष्ट्रिय स्वतन्त्र पार्टीबाट जारी हस्ताक्षर अभियानबारे संसदीय दलमा जानकारी गराइएको छ । त्यस्तै, संघीय संसद्मा राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थिती, सहभागिता र जारी विरोधबारे छलफल भइरहेको छ ।'

रास्वपाले प्रतिनिधिसभाको बजेट अधिवेशनमा भिजिट भिसाको विषय उठाएर अवरोध, विरोध र बहिष्कार गर्दै आएको छ । जेठ १३ यताका प्रतिनिधिसभाका कामकारबाहीमा रास्वपा सहभागी छैन । 

संसदीय दलको बैठकमा रास्वपाले बजेट अधिवशेनको पनि समीक्षा गर्ने एजेन्डा राखेको छ । त्यस्तै, संसद् र संसदीय समितिमा रहेका विभिन्न विधेयकमा पार्टी कसरी प्रस्तुत हुने भनी रणनीति बनाउने पनि बताइएको छ । 

रास्वपा संसदीय दलको बैठक बुधबार दिउँसो १ बजेदेखि ४ बजेसम्म चल्ने बताइएको छ ।     

बैठकअघि पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र सांसद सोबिता गौतमले रुपन्देही कारागारमा रहेका रवि लामिछानेलाई भेटेका थिए । 

कान्तिपुर संवाददाता

Link copied successfully