सांसद शेर्पाको व्यङ्ग्यात्मक गीतले सामाजिक सञ्जालमा लाखौंको ध्यान तानेको छ, जसले उनलाई 'गिताङ्गे माननीय' को उपनाम दिलाएको छ।
What you should know
विराटनगर — कोशी प्रदेशसभाका सांसद गोम्बु शेर्पा अहिले संसद्भित्र ‘गिताङ्गे माननीय’ भनेर चिनिन थालेका छन्। सोलुखुम्बु १(१) बाट माओवादी केन्द्रका तर्फबाट निर्वाचित शेर्पा संसद्मा जनभावनाका पक्षमा सत्ताविरुद्ध प्रश्न मात्र गर्दैनन्, प्रायः अर्ग्यानिक लवजमा गीत नै गाउँछन्।
‘सरकारको गतिविधिले असन्तुष्ट भएर एक लाइन गीत गुनगुनाइ टोपलेको,’ सांसद शेर्पाले सुनाए, ‘मेरो स्वर त राम्रो छैन, लय चाहिँ ठिकै छ।’
शेर्पा स्कुले राजनीतिदेखि नै गीत गुनगुनाउँथे। २०५३ सालमा शेर्पा एमाले निकट अनेरास्ववियुमा आबद्ध थिए। २०५८ पछि माओवादी बने। माओवादीका ‘होल टाइमर’ उनी २०५९ मा ११ महिना जेलसमेत बसे।
सोलुखुम्बु प्रदेशसभा निर्वाचन क्षेत्र नं १(१) बाट निर्वाचित शेर्पालाई स्थानीयले ‘कर्ज्याङ’ उपनामले चिन्छन्। २०७९ को निर्वाचनमा शेर्पाले नेकपा एमालेका उम्मेदवार एवं पूर्वराज्यमन्त्री उत्तम कुमार बस्नेतलाई १ हजार ६ सय ३७ मतान्तरले पराजित गर्दै आफ्नो लोकप्रियता पुष्टि गरेका थिए।
प्रदेशसभाका नियमित बैठकहरूमा उनी पटक–पटक विशेष समय लिन्छन्। कहिलेकाहीँ त शून्य समयको सदुपयोग गर्दै जनताका पक्षमा र तिनीहरूको पिरमर्काबारे बोल्छन्। तर उनको शैली सामान्य सांसदझैँ ‘कागजी’ छैन, उनी आफ्नो भनाइ गीतमार्फत राख्छन्— एक प्रकारले जनगायक शैलीमा, एक सांसदको स्वरूपमै।
मंगलबारको प्रदेशसभा बैठकमा शेर्पाले अघोषित लोडसेडिङको विरोधमा गीतमार्फत यसरी व्यङ्ग्य कसे –
नालीमै मुख गाड्छौ किन हो सरकार
घुस खोरी भ्रष्टाचार गरेऊ अत्याचार
कता हिँडेको बिजुली मारेर
कुलमान फालेर, भ्रष्ट पालेर, दलाल पालेर
तिमी भ्रष्ट बनेर, तिमी दलाल बनेर
जनता अन्धकारमा, सरकार भ्रष्टाचारमा
जनता हेरेको हेर्यै, सरकार हाँसेको हास्यै
यस्तो गर्न पाइन्न, अब धेरै सहिन्न ।
शेर्पाको यो प्रस्तुति शैली सदनभित्र पनि तालीयोग्य बन्दै आएको छ। यसले सत्तापक्षलाई असहज पनि बनाउने गरेको छ। उनका गीतहरूमा व्यङ्ग्यसँगै तथ्य र जनताको पीडा प्रतिध्वनित हुन्छ।
संघीय सरकारका गृहमन्त्री रमेश लेखकसमेत मुछिएको भिजिट भिसा काण्डका बेला शेर्पाले गत जेठ २३ को प्रदेशसभा बैठकमा गीतमार्फत विरोध जनाए।
भिजिट भिसामा हजुर भिजिट भिसामा
भुईँ छोडेर जाने हजुर पश्चिम दिशामा
यही गीतसहितको उनको सम्बोधन भिडियो क्लिपको रूपमा ‘भाइरल’ भयो। सामाजिक सञ्जालमा लाखौँ दर्शकले हेरे, साझा गरे। त्यसपछिका संसदीय सम्बोधनहरूमा उनले गीत–वाणीको शैलीलाई निरन्तरता दिँदै आएका हुन्।
त्यस कारण धेरै सांसदले उनलाई ‘गिताङ्गे माननीय’ भनेर ठट्यौली समेत गर्न थालेका छन्। जब उनी बोल्न उभिन्छन्, कतिपय माननीयहरूचाहिँ भन्छन्, ‘अब गोम्वु माननीयले आज कुन गीत सुनाउने होलान्?’
गत असार ७ गते बजेटमाथिको छलफल चलिरहेका बेला उनले पुनः गीतमार्फत असन्तुष्टि जनाएका थिए। मुख्यमन्त्री हिक्मतकुमार कार्की र पर्यटन मन्त्री सदानन्द मण्डलले आफ्ना निर्वाचन क्षेत्रमा अनावश्यक बजेट लगेको विरोधमा उनले गीतमार्फत नै व्यङ्ग्य कस्न भ्याए।
मुख्यमन्त्री कार्कीले गौरा दहको एक पोखरीमा पटक–पटक गरी ११ लाख विनियोजन गरेको आरोप शेर्पाको थियो।
त्यही आधारमा उनले चर्चित लोक भाकालाई सम्बोधनका क्रममा गाएर सुनाए –
गौरादहको बजारैमा माया हाम्रो बस्यो
कसो गरी भुल्ने होला, मन उडी गयो
मन उडी गयो...
उनको यो गीत सुनेपछि सत्तापक्षका र प्रतिपक्षका सांसदहरू मुसुमुसु हाँसेका थिए।
उनको व्यङ्ग्य सिधा थियो— राजनीतिक पहुँचको भरमा विकासको नाममा बजेट पोखिनु गलत भएको उनको दाबी थियो। गौरादहको एउटा पोखरीमा तीन आर्थिक वर्षभित्र ११ करोड रुपैयाँ खर्च भएको विवरण उनीसँग थियो। त्यो पोखरी संरक्षण समितिका अध्यक्ष संविधानसभा सदस्य एवं मुख्यमन्त्री कार्कीका दाइ दीपक कार्की रहेको प्रसङ्ग पनि उनले जोडे।
शेर्पाको शैली प्रस्ट छ— उनी लेखेर होइन, गाउँदै बोल्छन्। उनी वाणीमा गीत ल्याएर संसद्मा जनताको आवाजलाई गीतको स्वरमा बदल्छन्। उनको गीत सत्ताको असमानता, गरिब जनताको वेदना र राजनीतिक पहुँचको दुरुपयोग विरुद्ध मुखर हुन्छ।
उनको यो ‘गीतमार्फत प्रतिरोध’ अहिले कोशी प्रदेशसभाको एउटा विशिष्ट दृश्य बनिसकेको छ। सम्भवतः नेपालको संसदीय इतिहासमा गीत गाएर संसद्मा सम्बोधन गर्ने दुर्लभ पात्रका रूपमा शेर्पाको पहिचान बन्दै गएको छ।
निःशुल्क हिमाल आरोहणको मौका छाडेर राजनीतिमा होमिएका शेर्पा भन्छन्, ‘हाम्रो राजनीति दुखित बन्दै गएको छ। यसलाई हामीले नै शुद्ध बनाउँदै लैजानु पर्छ।’
राजनीतिको चिसो गल्लीमा उनले गाएका यी गीतहरू अब विरोधको स्वर मात्रै होइनन्, आशाको धुन बन्दै गुन्जिरहेका छन्।
