‘मनसुन सुरु भएको डेढ महिना बितिसक्दा पनि देशभरका ठूला नदीले खतराको तह पार गरेनन्’

मनसुनको सक्रियता बढे पनि ठूला नदीहरूमा खतराको तह पार नगरेको र साना नदीमा बाढीको सम्भावना रहेको छ।

श्रावण १४, २०८२

न्युज एजेन्सी नेपाल

Even after a month and a half of the onset of monsoon, the big rivers across the country have not crossed the danger level.

What you should know

काठमाडौँ — नेपालमा मनसुन सुरु भएको करिब डेढ महिना बितिसकेको छ। गत जेठ १५ गते रातिबाट नेपालमा पूर्वबाट मनसुन भित्रिएको थियो। ठाउँ–ठाउँमा भीषण वर्षा भएको छ। ५ सय बढी विपद्का घटना पनि भएका छन्। जनधनको क्षति  भएको छ।

तर देशभरका कुनै पनि ठूला नदीमा बाढीले खतराको तह पार नगरेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुली बताउँछन् । 

यस वर्ष सरदरभन्दा बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेको थियो। तर अहिलेसम्म पनि देशका ठूला नदीहरूमा बाढीले खतराको तह पार गर्न सकेको छैन।

आगामी तीन दिनमा पनि कुनै प्रमुख नदीहरूमा खतराको तहभन्दा बढी बाढी नजाने उनको भनाइ छ। साना नदीहरूमा ठूलो पानी पर्दा ठूलो बाढी आउन सक्ने उनले बताए। आज पनि गण्डकी, कर्णाली र वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली क्षेत्रहरूमा आकस्मिक बाढी आउन सक्ने अनुमान रहेको बताए ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले पछिल्लो डेढ महिना मधेस प्रदेशमा सरदर करिब ५० प्रतिशतसम्म वर्षा भइसक्नुपर्नेमा हालसम्म २० देखि २५ प्रतिशत वर्षा मात्रै भएको बताउनुभयो। हालका दिनहरूमा भने केही वर्षा भएको र आगामी दिनमा वर्षा हुँदै जाने बताए।

उनले भने, ‘मनसुन करिब डेढ महिना पार गर्दा देशका कुनै पनि ठूला नदीहरूमा खतराको तह पार गरेको छैन। आगामी तीन दिन पनि कुनै प्रमुख नदीहरूमा खतरा भन्दा बढी बाढी जाने सम्भावना छैन। साना नदीहरूमा ठूलो पानी पर्दा ठूलो बाढी आउन सक्छ। आज पनि गण्डकी, कर्णाली र वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली क्षेत्रहरूमा आकस्मिक बाढी आउन सक्ने अनुमान गरेका छौँ। आगामी २४ घण्टाका लागि यो जोखिम हो। पछिल्लो डेढ महिना मधेस प्रदेशमा एकदमै कम वर्षा भयो।’

उनले करिब ५० प्रतिशत वर्षा सरदरलाई हेर्दा मनसुनको यो अवधिसम्म भई सक्नुपर्नेमा २० देखि २५ प्रतिशत मात्रै वर्षा भएको बताए। उनले भने, ‘हालसम्म पर्नुपर्ने समग्र वर्षाको आधा वर्षा पनि भएको छैन। अब केही सुधार देखिएको छ। पछिल्ला केही दिन हल्का देखि मध्यम वर्षा भइरहेको छ। आगामी दिनमा पनि केही पानी पर्ला जस्तो देखिन्छ। जल तथा मौसम विज्ञान विभागले मौसम पूर्वानुमानको पछिल्लो शुद्धतालाई हेरेर तीन दिनसम्मको पूर्वानुमान गरिएको छ। मनसुन सक्रिय हुने देखिएको छ।’

जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेअनुसार मनसुन आगामी तीन दिन सक्रिय हुनेछ। उनले रसुवाको भोटेकोसीमा मंगलबार राति आएको बाढी सामान्य रहेको बताए। बाढी सानो भए पनि अघिल्लो बाढीबाट बाँकी रहेका गेग्र्यानका कारण केही ठूलो देखिएको र केही नोक्सान गर्ने भएकाले पनि नदी छेउमा सतर्कता अपनाउन आग्रह गरे ।

न्युज एजेन्सी नेपाल

Link copied successfully