प्रसिद्ध संरक्षणकर्मी र अधिकारीको सहभागितामा बाघ दिवसको अवसरमा चितवन निकुञ्जमा भव्य कार्यक्रम सम्पन्न भएको छ।
What you should know
चितवन — विश्व बाघ दिवसको अवसरमा मंगलबार चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरामा समुदाय र सरोकारवालाबीच बाघ संरक्षणको विषयमा संवाद कार्यक्रम सम्पन्न भयो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आयोजना गरेको सो कार्यक्रमका प्रमुख अतिथि वन मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्र रहेका थिए ।
सो अवसरमा संरक्षण कार्यक्रमा योगदान पुर्याएका निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रामप्रित यादवलाई पनि सम्मान गरियो । यादव चितवन निकुञ्जको स्थापनाकालकै कर्मचारी हुन् ।
यस वर्षको बाघ दिवसको नारा ‘सह–अस्तित्व र आयआर्जन, बाघ संरक्षणका लागि व्यवहार परिवर्तन’ रहेको छ । कार्यक्रममा प्रमुख अतिथि मिश्रले बाघसँग जम्काभेट भएर आक्रमण हुने ८० प्रतिशत घटना मान्छे बाघ बस्ने वन क्षेत्रमा गएको बेलामा हुने बताए । २० प्रतिशत घटना बाघ मान्छेको बस्तीमा आएका कारण हुने देखिएको उनले जानकारी दिए । यो कुरालाई ख्याल राखेर योजना बनाउनु पर्ने उनको भनाइ थियो ।
‘आखिर मान्छे बाघको क्षेत्रमा किन गइरहेको छ ? आर्जनका लागि हो भने अब समुदायलाई हामीले जंगल जान नपर्ने विकल्प दिनु पर्दछ,’ मिश्रले भने । अब हरेका प्रदेशमा बोटानिकल गार्डेन र चिडियाखाना तथा महानगरमा सानो चिडियाखाना बनाउनुपर्ने उनले बताए । ‘ताकि त्यहाँ जनावरलाई हेर्नका लागि सजिलो होस् । त्यस्ता हरेक ठाउँमा एक दुईवटा बाघ राख्दा संरक्षण पनि हुन्छ । आर्जन पनि हुन्छ,’ सचिव मिश्रले भने ।
कार्यक्रममा चितवन निकुञ्जका प्रमुख रहेका वरिष्ठ संरक्षण अधिकृत गणेश पन्तले मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगाना, त्रिवि वन विज्ञान अध्ययन संस्थानका डिन ठाकुर सिलवाल, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निमित्त महानिर्देशक हरिभद्र आचार्य र माडी नगरपालिकाका मेयर ताराकुमारी काजी महतोसँग संवाद गरेका थिए ।
माडीकी मेयर महतोले माडीमा साना-ठूला सबैखाले जनावरको संरक्षण गर्नु पर्दछ भन्ने चेनता बढ्दै गएको बताइन् । ‘तर माडीलाई हिजोको जस्तो पूर्वाधारविहीन अवस्थामा राख्न पनि सकिँदैन । पूर्वाधार निर्माणका लागि निकुञ्जका ऐन नियमले बाधा दिने गरेको छ । यसले गर्दा स्थानीय र संरक्षण गर्ने निकायबीच मतभेद बढाउँछ,’ मेयर महतोले भनिन् ।
चितवन निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष ढुंगानाले संरक्षणका साथै जिविकोपार्जनमा स्थानीयलाई जोड्नु पर्ने बताए । ‘संरक्षणका कुराले अन्तराष्ट्रिय समुदाय खुसी होला तर यसबाट प्रत्यक्ष प्रभावित हुने स्थानीय समुदायलाई पनि खुसी कसरी बनाउने ? त्यो उपाए आउनु पर्यो,’ अध्यक्ष ढुंगानाले भने ।
राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) का निर्देशक चिरिञ्जीवी पोखरेलले वन्यजन्तुको उद्धार बढ्दै गएको बताए । उद्धार गरेका जिवहरुलाई सजाय दिएको जस्तो साँधुरो खोरमा नभएर अलि राम्रो प्राकृतिक वातावरण अनुभुति हुने ठाउँमा राख्नु राम्रो हुने त्रिवि वन विज्ञान अध्ययन संस्थानका डिन ठाकुर सिलवालको भनाइ छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निमित्त महानिर्देशक हरिभद्र आचार्यले प्राणि उद्धान र चिडियाखानाको मापदण्ड र कार्यविधि बने उद्धार गरेका जीवजनावर राखेर आर्जन गर्न सकिने अवस्था रहेको बताए । चितवन निकुञ्जमा नेपालमा सबैभन्दा धेरै बाघ पाइन्छ ।
