समाजवादी मोर्चाको औचित्यमाथि उठ्यो प्रश्न

मोर्चाले घोषित उद्देश्य पूरा गर्न नसकेको कारण चन्दले विघटनको प्रस्ताव अघि सारेका हुन् ।

श्रावण १३, २०८२

कान्तिपुर संवाददाता

The question arose about the legitimacy of the Samajwadi Front

What you should know

काठमाडौँ — माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपाको ‘समाजवादी मोर्चा’ को औचित्यमाथि प्रश्न उठेको छ । मोर्चाका संयोजक नेत्रविक्रम चन्दले समाजवादी क्रान्तिको आधार तयार गर्न बनेको मोर्चा निष्क्रिय प्रायः भएकाले यसको औचित्य नभएको भन्दै विघटन गर्ने प्रस्ताव गरेका छन् ।

मोर्चाको मंगलबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा भएको बैठकमा चन्दले मोर्चा आफ्नो उद्देश्यअनुसार अघि बढ्न नसकेकाले विघटन गर्नुपर्ने प्रस्ताव अघि सारेका थिए । ‘मोर्चा घोषित उद्देश्यअनुसार अघि बढ्न सकेन । यसको औचित्यमाथि प्रश्न उठ्यो,’ चन्दको भनाइ थियो, ‘त्यसकारण अहिले विघटन गरेर फेरि आवश्यक पर्‍यो भने गठन गरौंला ।’

मोर्चाका प्रमुख नेता माओवादी अध्यक्ष दाहाल गत वर्ष सरकारबाट बाहिरिएपछि मोर्चालाई उद्देश्यअनुरुप सक्रिय नबनाएको, सत्ताका लागि प्रयोग भएको आरोप सार्वजनिक रुपमा बताउन थालेका थिए । मंगलबार मोर्चाको बैठकमा उनले विघटनको प्रस्ताव राखेका थिए ।

त्यसपछि माओवादी अध्यक्ष दाहाल, समाजवादी अध्यक्ष माधवकुमार नेपालले मोर्चाको विगतका गतिविधिको समीक्षा गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी कार्यक्रम सशक्त ढंगले अघि बढाउने बताएका थिए ।

‘चैत १५ मा प्रतिगमनविरुद्ध काठमाडौंमा मोर्चाको भव्य कार्यक्रमले गणतन्त्रको पक्षमा बलियो सन्देश दिएको छ,’ उनीहरुको भनाइ थियो, ‘त्यसयता जसरी मोर्चाले गतिविधि गर्नुपर्ने थियो । भएन । अब विगतको कमजोरीको महसुस गरी सशक्त ढंगले अघि जानुपर्छ ।’

महासचिव चन्दले समाजवादी क्रान्तिको आधार तयार गर्ने, जनसरोकारका विषयमा संघर्ष नगर्ने हो भने मोर्चाको औचित्य नहरने भएकाले सशक्त कार्यक्रम गर्नुपर्नेमा जोड दिएका थिए । ‘चैत १५ मा गणतन्त्रको पक्षमा भव्य कार्यक्रम गरेपछि मोर्चाको कामले गति लिन सकेन भन्ने महसुस भएको छ,’ बैठकमा सहभागी समाजवादी उपाध्यक्ष प्रमेश हमालले भने, ‘अब समाजवादी आन्दोलन अघि बढाउन जनसरोकारका विषयमा केन्द्रित हुने निर्णय भएको छ ।’

मोर्चाले सातै प्रदेशमा कार्यक्रम गरी सरकारलाई खबरदारी गर्ने निर्णय गरेको छ । ‘सातै प्रदेशमा कार्यक्रम गरी सरकारले गरेका गलत कामको खबरदारी गर्ने निर्णय भएको छ,’ हमालले भने, ‘यसका साथै समाजवादी आन्दोलन अघि बढाउने विषयमा पनि सातै प्रदेशमा विमर्श हुनेछ ।’

उनले चैत १५ मा गणतन्त्रको पक्षमा भव्य कार्यक्रम गर्नु आफैंमा ठूलो उपलब्धि भएको निष्कर्ष निकाल्दै त्यसयता मोर्चाका गतिविधि हुन नसकेकोमा समीक्षा गरेको बताए । ‘मोर्चाले निष्क्रिय भएमा यसको औचित्य सकिन्छ । त्यसकारण आफ्नो उद्देश्यअनुसार निरन्तर कार्यक्रम गर्ने निर्णय भएको छ,’ उनले भने ।

समाजवादलाई राजनीतिक कार्यदिशा बनाएर अघि बढेका दललाई मोर्चामा जोड्नेबारे छलफल गर्ने निर्णय भएको छ । सुरुमा मोर्चामा सहभागी भएको उपेन्द्र यादवले नेतृत्व गरेको जनता समाजवादी पार्टी विभाजन पछि बाहिरिएको थियो । जसपा विभाजन भई अशोक राईको नेतृत्वमा जसपा नेपाल गठन भएको थियो ।

मोर्चाको सचिवालयले आगामी कार्यक्रम तय गर्ने उनको भनाइ छ । कांग्रेस एमाले गठबन्धन सरकारले मनपरी ढंगले संसद‍्मा विधेयक अघि बढाएको, महँगी बढेको, भ्रष्टाचार नियन्त्रण नभएको, सुशासन कायम गर्ने माग राखी कार्यक्रम तय गर्ने जनाएको छ ।

मोर्चाले २०८० असारमा घोषणा गर्दा ‘संघीयता, लोकतन्त्र, सुशासन, समृद्धि र सामाजिक आर्थिक न्यायसहितको नेपाली विशेषताको समाजवादको स्थापना गर्नु प्रमुख उद्देश्य हुने घोषणा गरेको थियो । कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपालगायत गठबन्धन सरकारका बेला मोर्चा गठन भएको थियो । त्यसबेला प्रतिनिधिसभामा ५४ सिट भएको मोर्चाले दाहालले नेतृत्व गरेको सरकार बलियो बनाउने अघोषित उद्देश्य राखेको थियो ।

कान्तिपुर

Link copied successfully