समाजवादी मोर्चाले सातै प्रदेशमा खबरदारी कार्यक्रम गर्ने

‘मोर्चा निष्क्रिय भएमा यसको औचित्य सकिन्छ । त्यसकारण आफ्नो उद्देश्यअनुसार निरन्तर कार्यक्रम गर्ने निर्णय भएको छ’

श्रावण १३, २०८२

कान्तिपुर संवाददाता

Samajwadi Morcha will hold vigilance programs in all seven provinces

काठमाडौँ — माओवादी,  एकीकृत समाजवादी, नेपाल कम्युनिस्ट पार्टीको ‘समाजवादी मोर्चा’ले सातै प्रदेशमा कार्यक्रम गरी सरकारलाई खबरदारी गर्ने भएको छ । 

एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा मंगलबार बसेको मोर्चाको बैठकले छिट्टै सातै प्रदेशमा कार्यक्रम घोषणा गर्ने निर्णय गरेको हो । ‘सातै प्रदेशमा कार्यक्रम गरी सरकारले गरेका गलत कामको खबरदारी गर्ने निर्णय भएको छ,’ बैठकमा सहभागी एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले भने, ‘यसका साथै समाजवादी आन्दोलन अघि बढाउने विषयमा पनि सातै प्रदेशमा विमर्श हुनेछ ।’

उनले चैत १५ मा गणतन्त्रको पक्षमा भव्य कार्यक्रम गर्नु आफैंमा ठूलो उपलब्धि भएको निष्कर्ष निकाल्दै त्यसयता मोर्चाका गतिविधि हुन नसकेकोमा समीक्षा गरेको बताए । ‘मोर्चा निष्क्रिय भएमा यसको औचित्य सकिन्छ । त्यसकारण आफ्नो उद्देश्यअनुसार निरन्तर कार्यक्रम गर्ने निर्णय भएको छ,’ उनले भने ।

मोर्चाको सचिवालयले आगामी कार्यक्रम तय गर्ने उनको भनाइ छ । बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, नेकपा महासचिव नेत्रविक्रम चन्दलगायतका नेता सहभागी थिए ।

कान्तिपुर

Link copied successfully