द्रुतमार्गको सुरु बिन्दु विवाद छिटो टुंग्याउन प्रधानमन्त्रीको निर्देशन

८ वर्ष पुग्दा पनि द्रुतमार्गको खोकना खण्डको विवाद नसुल्झिँदा समग्र आयोजनाको प्रगतिमै असर

श्रावण १३, २०८२

विमल खतिवडा

Prime Minister's directive to quickly resolve the dispute over the starting point of the expressway

What you should know

काठमाडौँ — तराई/मधेश द्रुतमार्गको ललितपुरतर्फ खोकना खण्डको विवाद छिटो टुंग्याउन प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित मन्त्रालयका अधिकारीलाई निर्देशन दिएका छन् ।

आइतबार रक्षामन्त्री मानवीर राई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, सम्बन्धित मन्त्रालयका सचिव, नेपाली सेनालगायत सरोकारवालालाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले निर्माण अघि बढाउन निर्देशन दिएका हुन् ।

सेनाको व्यवस्थापनमा निर्माण भइरहेको द्रुतमार्गको ललितपुरतर्फको विवाद ८ वर्ष पुग्दा पनि टुंगिन सकेको छैन । द्रुतमार्गको कुल ७०.९७७ किलोमिटरमध्ये ६.५ किमिमा काम नै सुरु हुन सकेको छैन । ६४.४७७ किमि खण्डमा भने ठेक्का भएर काम भइरहेको छ । खोकना विवाद नटुंगिँदा समग्र आयोजनाकै प्रगतिमा असर परेको सेनाको भनाइ छ । प्रधानमन्त्री ओलीले सरोकारवाला निकायसँग खोकना खण्डको समस्याबारे गहन छलफल भएको बताएका छन् । ‘खोकना क्षेत्रको निर्माण सकिनसाथ सडक तराईसँग जोडिन्छ,’ उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘वैकल्पिक उपाय अपनाएर भए पनि हामीले यसलाई सम्पन्न गर्नुपर्ने छ, सोहीअनुसारको उपाय खोज्न मैले मन्त्रालय र सेनालाई आग्रह गरेको छु, हामीसँग धेरै समय छैन ।’ स्थानीयवासीको माग सक्दो रूपमा सम्बोधन गरेर अघि बढ्नुपर्नेमा जोड उनको थियो । यसका लागि खोकना गएर स्थानीयसँग छलफल गर्न प्रधानमन्त्री तयार रहेको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीसँग छलफल भए पनि खोकना खण्डबारे कुनै निर्णय नभइसकेको रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगालले बताए । ‘असन्तुष्ट पक्षसँग कुरा गर्ने, माग बुझ्ने तयारी हुँदै छ,’ उनले भने, ‘प्रधानमन्त्रीले एक चरण मन्त्रालय तहबाटै छलफल गरेर टुंग्याउन र परे आफू पनि बस्न तयार छु भन्नुभएको छ ।’ 

खोकना खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भए पनि विवादले थप काम अघि बढ्न सकेको छैन । यो खण्डको २ सय ११ रोपनी जग्गा पनि अझै अधिग्रहण हुन सकेको छैन । खोकना क्षेत्रमा विभिन्न प्रकृतिका गुठी र केही व्यक्तिगत जग्गाको कागजात जुटाउन कठिनाइ हुँदा जग्गा अधिग्रहण हुन सकेको छैन । स्मार्ट सिटी, बाहिरी चक्रपथ, द्रुतमार्गलगायतका धेरै आयोजना एकै ठाउँबाट बनाउँदा पुरातात्त्विक सम्पदा मासिने भन्दै स्थानीयले ती आयोजना एकै ठाउँमा बनाउन नहुने अडान लिँदै आएका छन् । 

गत कात्तिकमा रक्षा मन्त्रालयमा भएको छलफलपछि खोकना जग्गाबारे थप प्रगति नभएको ललितपुर महानगरपालिका–२१ का वडाध्यक्ष रवीन्द्र महर्जनले बताए । ‘यस क्षेत्रको सम्पदामा क्षति नहुने गरी काम गरिनुपर्छ,’ उनले भने । द्रुतमार्गको सुरु बिन्दुको विकल्पबारे पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापकले गरेको अध्ययन प्रतिवेदन २०८० चैतमा रक्षा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुझाइएको थियो । ९ महिना लगाएर तयार पारिएको प्रतिवेदनमा खोकना क्षेत्र उपयुक्त हुने उल्लेख छ । अर्को विकल्प सिकालीघाट क्षेत्रमा नपर्ने गरी बागमती नदीमाथि भियाडक्ट (पुल) बनाएर काम गर्न सकिनेछ । तर यसबाट सामाजिक र सांस्कृतिक समस्या आउन सक्ने अध्ययनले औंल्याएको छ । 

अर्को विकल्प सुरुबिन्दु बुङ्मतीलाई बनाएर चार लेन करिडोर सडक बनाउने र त्यसका लागि नयाँ जग्गा अधिग्रहण गर्नुपर्नेछ । यो सिकालीघाट क्षेत्रमा पर्दैन । यसका लागि बागमती नदीको दायाँ किनारामा नयाँ जग्गा अधिग्रहण गर्नुपर्नेछ । बुङ्मतीलाई नै सुरुबिन्दु बनाएर बागमती नदी करिडोर वारिपारि दुई–दुई लेन सडक बनाउन सकिने अध्ययनमा भनिएको छ । बुङ्मतीलाई नै सुरुबिन्दु बनाएर बायाँ किनारमा थप जग्गा अधिग्रहण गर्ने भनिएको छ । अर्को विकल्प सुरुबिन्दु डुकुछापलाई बनाएर बागमती नदीको दायाँ किनार प्रयोग गर्ने र त्यसका लागि केही जग्गा अधिग्रहण गर्न सकिने प्रतिवेदनमा उल्लेख छ । तर सरकारले अहिलेसम्म कुन विकल्प अपनाउने भन्नेबारे न छलफल, न त कुनै निर्णय नै गरेको छ । खोकना खण्डको समस्या समाधानका लागि रक्षा मन्त्रालयबाट प्रयास भइरहेको सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले बताए ।

 मन्त्रिपरिषद्ले २१ वैशाख २०७४ मा द्रुतमार्ग निर्माण व्यवस्थापनको जिम्मेवारी सेनालाई दिने निर्णय गरेको थियो । पछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २७ साउन २०७४ मा सेनालाई आयोजना हस्तान्तरण गरेको हो । सेनाले जिम्मा लिएसँगै २०८१ मंसिरसम्म काम सक्ने भनिएको थियो । उक्त समयभित्र नसकिएपछि चैत २०८३ सम्म म्याद थपिएको छ, तर प्रगति न्यून छ । अहिलेसम्मको निर्माण प्रगति ४२.१३ प्रतिशत मात्र छ ।

अबको २१ महिनामा ५७.८७ प्रतिशत काम सकिसक्नुपर्ने छ । ‘ठेक्का भएको खण्डमा निर्माण धमाधम भइरहेको छ,’ सैनिक प्रवक्ता बस्नेतले भने, ‘८१ मिटरसम्म अग्ला पक्की पुल बनिरहेका छन् ।’ विशेष प्रकृतिका ८९ पुलमध्ये ८५ वटाको स्ट्रक्चरको काम भइरहेको उनले जानकारी दिए । द्रुतमार्गको सुरु लागत अनुमान ९२ अर्ब रुपैयाँ थियो । पछि १ खर्ब १६ अर्ब रुपैयाँ पुर्‍याइयो । पछि फेरि संशोधन गरेर १ खर्ब ७५ अर्ब रुपैयाँ बनाइयो । उक्त बजेटले काम सम्पन्न नहुने देखिएपछि अहिले सुरु अनुमानितलाई संशोधन गरेर २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ पुर्‍याइएको छ । अहिलेसम्म करिब ८० अर्ब रुपैयाँ खर्च भइसकेको छ ।

विमल खतिवडा खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully