आयोजना बेलैमा नसकिँदा लागत १२ अर्बबाट बढेर २९ अर्ब पुग्यो, बिजुली उत्पादन डेढ वर्षअघिबाटै तर आम्दानी व्यवस्थापन गर्ने कार्यविधि मन्त्रालयमै अड्कियो
What you should know
धनगढी — प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार कैलालीको चिसापानीस्थित रानी जमरा कुलरिया आयोजनाअन्तर्गत १४ हजार ३ सय हेक्टर सिँचाइ र जानकी गाउँपालिका–९ कटासेमा निर्मित ४.७१ मेगावाट क्षमताको जलविद्युत् गृह उद्घाटन गरेका छन् ।
जलविद्युत् गृह निर्माण पूरा भएर उद्घाटन गरिए पनि सिँचाइ आयोजना अधुरै छ । आयोजना ०८५/८६ भित्र सम्पन्न गरी ३८ हजार हेक्टरमा सुविधा उपलब्ध गराउने कार्ययोजना छ ।
कैलालीमा सञ्चालित राष्ट्रिय गौरवको यो बहुउद्देश्यीय आयोजनाअन्तर्गत सिँचाइ, विद्युत्, सडक, पुल, तटबन्ध र कृषि विकासका योजना निर्माण तथा सञ्चालन भइरहेका छन् । रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गतको नहरमा निर्माण गरिएको विद्युत् गृह प्रधानमन्त्री ओलीले मंगलबार उद्घाटन गरेका हुन् । कटासेमा रहेको मुख्य नहरमा करिब साढे ७ मिटर तल पानी खसालेर तीन वटा टर्बाइनबाट विद्युत् उत्पादन गरिएको छ । आयोजनाका इन्जिनियर अनिश श्रेष्ठका अनुसार विद्युत् उत्पादन भने १६ माघ २०८० मै सुरु भएको थियो ।
आयोजनाको नहरबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको लम्कीस्थित सबस्टेसनमा पठाइएको छ, जहाँबाट ३३ केभीमार्फत राष्ट्रिय प्रसारणमा जोडिन्छ । विद्युत् नियमित उत्पादन भई राष्ट्रिय प्रसारण लाइनमा पठाइएको भए पनि सञ्चालन तथा व्यवस्थापन कार्यविधि भने अहिलेसम्म टुंगो छैन । पुस ०८० मै सञ्चालन तथा व्यवस्थापन कार्यविधिको मस्यौदा तयार गरेर स्वीकृतिका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पेस गरेको आयोजनाले जनाएको छ । ‘तर मन्त्रालयले हालसम्म पनि कार्यविधि स्वीकृत गरेको छैन,’ इन्जिनियर श्रेष्ठले भने ।
वार्षिक ३० करोड आम्दानी हुने अनुमान गरिएको उक्त जलविद्युत् आयोजना सञ्चालनका लागि मन्त्रालयले कार्यविधि स्वीकृत नगर्दा आयोजनालाई व्ययभार थपिएको छ । राष्ट्रिय प्रसारण लाइनमा विद्युत् पठाए पनि आयोजनाले त्यसबापतको आम्दानी प्राप्त गर्न सकेको छैन । विद्युत् आयोजना निर्माणको लगानी चार वर्षमा उठ्ने खाका तयार गरिएको थियो । विद्युत् आयोजना करिब एक अर्ब रुपैयाँ लागतमा निर्माण गरिएको हो ।
रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत हालसम्म ३४ किलोमिटर मुख्य नहर, ३ सय ८१ वटा कल्भर्टलगायत सानाठूला पुल निर्माण र २ सय ४५ किलोमिटर कृषि ग्रामीण सडकको स्तरोन्नति गरिएको छ । पानी बाँडफाँट गर्ने १ सय ८ रेगुलेटर, पानी वितरण गर्ने ७५ संरचना, कर्णाली नदीमा ८० किलोमिटर तटबन्ध निर्माण गरिएको आयोजनाका इन्जिनियर श्रेष्ठले जानकारी दिए । नहरबाट टीकापुर, लम्कीचुहा र भजनी नगरपालिका, जानकी र जोशीपुर गाउँपालिकामा ६ हजार ४ सय ५१ हेक्टर जमिन नदी कटानबाट सुरक्षित गर्न तटबन्ध निर्माण गरिएको उनको भनाइ छ । कर्णाली नदीमा इन्टेक, बालुवा छान्ने सिडलिङ बेसिन निर्माण गरिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालगायत अधिकारीसहित कैलाली पुगेका प्रधानमन्त्री ओलीले जलविद्युत् गृह उद्घाटनका क्रममा चिसापानीस्थित कर्णाली नदीमा निर्मित इन्टेक र नहरको अनुगमन पनि गरेका छन् ।
आयोजनाका सूचना अधिकारी इन्जिनियर नवीन पौडेल मूल नहरमा प्रतिसेकेन्ड एक सय घनमिटर पानी प्रवाह भइरहेको छ । त्यही नहरबाट १४ हजार ३ सय हेक्टरमा सिँचाइ सुविधा उपलब्ध भएको छ ।
लम्कीतर्फ मुख्य नहरका शाखा र उपशाखा नहर निर्माणका क्रममा छन् । तीबाट थप ६ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुनेछ । पथरैयादेखि कान्द्रासम्म विस्तार गरिने नहरबाट थप १८ हजार हेक्टरमा सिँचाइ सुविधा पुग्नेछ । कैलालीका २ लाख मानिसलाई सिँचाइलगायतका सुविधा उपलब्ध गराउने आयोजनाको प्रमुख लक्ष्य रहेको छ
आयोजनाको लागत बढेको बढ्यै
रानी जमरा कुलरिया सिँचाइ आयोजनाको लागत भने बढेको बढ्यै छ । आर्थिक वर्ष ०६७/६८ मा निर्माण सुरु भएको यस आयोजनाको लागत करिब १४ वर्ष अवधिमा १२ अर्बबाट बढेर २९ अर्ब नाघेको छ । ०७४/७५ मा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाका लागि फागुन ०६८ मा सिँचाइ मन्त्रालयले १२ अर्ब ६३ करोड २१ लाखको खरिद गुरुयोजना स्वीकृत गरेको थियो । तर निर्धारित अवधिमा आधा पनि काम पूरा हुन सकेन । चैत ०७४ मा ०८१/०८२ मा सक्ने लक्ष्य राखेर मन्त्रालयले २७ अर्ब ७० करोड २४ लाख अद्यावधिक खरिद गुरुयोजना स्वीकृत गर्यो । त्यसमा नेपाल सरकारले १७ अर्ब ७४ करोड ७२ लाख खर्च गर्ने र विश्व बैंकबाट ९ अर्ब ९५ करोड ५१ लाख ऋण सहयोग लिने भनिएको थियो । तर त्यतिन्जेल करिब ७५ प्रतिशत मात्र काम हुन सक्यो ।
हाल ०८५/८६ सम्मको अवधि राखेर २९ अर्ब ५९ करोड ७७ लाख लागत गुरुयोजना स्वीकृत गरिएको आयोजनाका सूचना अधिकारी इन्जिनियर पौडेलले बताए । ‘आयोजनाले निर्माण गरेका पूर्वाधारहरूको सुदृढीकरण, मुआब्जाको दर परिवर्तन, कर्णाली, मोहना, पथरैया नदी नियन्त्रणलगायतका कार्य थपिँदै गएकाले काम र बजेट पनि बढ्दै गएको हो,’ सूचना अधिकारी इन्जिनियर पौडेलले भने, ‘हालसम्म २० अर्ब ५८ करोड ५६ लाख खर्च भएको छ ।’ नेपाल सरकारको ११ अर्ब २३ करोड ३३ लाख र विश्व बैंकको ९ अर्ब ३५ करोड २३ लाख ऋण सहयोग खर्च भएको हो । पौडेलका अनुसार सुरुमा १४ हजार ३ सय हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराउने मात्र भनिएको थियो ।
रानी जमरा कुलरिया कुला जल उपभोक्ता मूल समिति अध्यक्ष कुमारराज शाही आयोजनाअन्तर्गत चरणबद्ध रूपमा काम भइरहेको बताउँछन् । ‘पहिलो चरणमा इन्टेक, नहर, बिजुली योजना निर्माण गरिएको छ,’ उनले भने, ‘डुडेझारी हुँदै पथरैया नदीमा पानी झारिएको छ । कर्णाली, पथरिया र मोहनामा तटबन्ध निर्माण, सडक पूर्वाधार स्तरोन्नति, पुल तथा कल्भर्ट निर्माणलगायत काम पनि भएका छन् ।’ आयोजनाअन्तर्गत रानी, जमरा र कुलरिया सेक्टरको ठेक्का अलग–अलग लगाइएको छ । शाहीका अनुसार रानीअन्तर्गतको काम गौरी पार्वती निर्माण सेवाले अधुरै राखेको छ । ‘जुनसुकै तहबाट ताकेता गर्दा पनि त्यो कम्पनीले काम नै गरिरहेको छैन,’ उनले भने । शाहीका अनुसार आयोजनाअन्तर्गत टीकापुरमा १ हजार मेट्रिक टन क्षमताको कोल्ड स्टोरसमेत निर्माण भइरहेको छ ।
रानी जमरा कुलरिया सिँचाइ कुलोको इतिहास
रानी जमरा कुलरिया सिँचाइ आयोजनाको इतिहास एक शताब्दीभन्दा लामो छ । कैलालीको पूर्वी क्षेत्रमा रहेका रानी, जमरा र कुलरिया कुलोमध्ये रानी कुलो सबभन्दा पुरानो हो । रानी कुलो वि.सं १९५३ मा रानी पदमकुमारी शाहले निर्माण गर्न लगाएकी थिइन् । त्यही कारण यसलाई रानी कुलोको नामले चिनिँदै आएको स्थानीय बासिन्दा बताउँछन् ।
राणाकालमा टीकापुर क्षेत्र सुवर्णशमशेरको थियो । बिर्ता क्षेत्र भएकाले बस्ती विस्तारका लागि दाङबाट थारू जातिलाई ल्याएर कुलो बनाउन लगाइएको थियो । त्यतिखेर थारूलाई कुलो खन्न पठाउने र कुलो खनेबापत सुँगुर काटेर खुवाउने चलन थियो । रानी कुलोबाट टीकापुर क्षेत्रका करिब ४८ गाउँमा सिँचाइ सुविधा उपलब्ध हुन्थ्यो । अर्को कुलो जमरा करिब १ सय २० वर्षअघि कर्णेल ढुण्डीराज शाहीले निर्माण गर्न लगाएको इतिहास छ । उक्त कुलोबाट त्यसबेला ३८ गाउँलाई सिँचाइ सुविधा उपलब्ध हुने गरेको थियो । कुलरिया कुलो भने करिब ९० वर्षअघि स्थानीय किसान मधु महतो र कन्हैया महतोले निर्माण गर्न लगाएका थिए । त्यसबेला उक्त कुलोले करिब ३३ गाउँलाई सिँचाइ सुविधा पुर्याउँदै आएको थियो । कर्णाली नदीको पानी गाउँलेले परम्परागत कुलो निर्माण गरी लगेर टीकापुर क्षेत्रमा खेतीपातीलाई हराभरा बनाउँथे ।
रानी, जमरा र कुलरिया तीनवटा मूल कुलोमा ४८ उपशाखा र एक हजार सहायक शाखा रहेको स्थानीय बताउँछन् । वर्षको एक पटक कुलो खन्ने अभियान सञ्चालन हुन्थ्यो । बडघरले कुलो खन्ने योजना बनाएर सबै गाउँलाई खबर गरेपछि एकसाथ कुलो खन्ने, मर्मत गर्ने काम हुन्थ्यो, जसलाई स्थानीयले देशावर भन्ने गर्थे । देशावरमा हजारौं स्थानीय बासिन्दाले एकसाथ खाने, बस्ने गर्थे । काम नसकिँदासम्म उनीहरू कुलो वरिपरि बास बसेर रात बिताउँथे । ‘रानी जमरा कुलरिया सिँचाइ कुलोलाई समुदायले परम्परागत रूपमा व्यवस्थापन गर्थे । यसलाई दक्षिण एसियाकै पहिलो र सबैभन्दा ठूलो सिँचाइ कुलो भनिन्थ्यो,’ टीकापुरका प्रेम भाटले भने । त्यही कुलोलाई सरकारले ०६८ सालमा सिँचाइ प्रणालीसहित बहुउद्देश्यीय आधुनिक संरचना निर्माण गर्नका लागि रानी जमरा कुलरिया सिँचाइ आयोजना सुरु गरेको थियो ।
