संकटमा बागमती सरकार : अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका दुई सांसदले लिए नाम फिर्ता

संसदीय दलका नेता तथा मुख्यमन्त्री बहादुरसिंह लामाकै पक्षमा रहेको घोषणा

श्रावण १३, २०८२

कान्तिपुर संवाददाता

Bagmati government in crisis: Two MPs who signed the no-confidence motion withdrew their names

काठमाडौँ — बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध संसदीय दलमा दर्ता भएको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका दुई सांसदले नाम फिर्ता लिएका छन् । 

मुख्यमन्त्री लामाविरुद्ध गत शुक्रबार अविश्वास प्रस्ताव दर्ता भएको थियो । सांसद माया श्रेष्ठ र मीना पराजुलीले विज्ञप्ति जारी गर्दै जानकारीबिनै हस्ताक्षर गराएको भन्दै नाम फिर्ता लिएको उल्लेख गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘बागमती प्रदेश संसदीय दलका नेता मा. बहादुरसिंह लामा (तामाङ) को विरुद्धमा परेको अविश्वासको प्रस्तावमा हामी समेतको हस्ताक्षर संकलन गरिएकामा हामीलाई सो अविश्वासको प्रस्तावको विषयमा चाहिँ जानकारी नै नगराई हस्ताक्षर गराइएकामा सोमा हामीहरूको असहमति रहेकाले उक्त अविश्वासको प्रस्ताव फिर्ता लिई संसदीय दलका नेता मा. बहादुरसिंह लामा (तामाङ) लाई समर्थन रहेको व्यहोरा अवगत गराउँदछौं ।’

Bagmati government in crisis: Two MPs who signed the no-confidence motion withdrew their names

कांग्रेसका ३७ प्रदेश सांसदमध्ये सुरुमा २१ जनाले अविश्वास प्रस्तावको पक्षमा हस्ताक्षर गरेका थिए । प्रदेश सभापति तथा प्रदेश सांसद इन्द्रबहादुर बानियाँको नेतृत्वमा अविश्वास प्रस्ताव दर्ता भएको थियो । मुख्यमन्त्री लामा र बानियाँ दुवै कांग्रेस सभापति शेरबहादुर देउवा निकट नेता हुन् ।

संसदीय दलको नेताबाट लामालाई हटाएर नयाँ मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँलाई नियुक्त गर्ने प्रक्रियाका लागि कांग्रेसबाट मन्त्री भएका ४ जनाले राजीनामा दिएका थिए । तर स्वीकृत नगरी लामाले उनीहरुलाई बर्खास्त गरेका थिए । आफ्नै दलका सांसदबाट संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री लामाको पद धरापमा परेको छ । 

कान्तिपुर

Link copied successfully