काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बेरुजु शून्य देखिएको छ । प्रत्येक वर्ष ठूलो मात्रामा बेरुजु बढिरहेका बेला अख्तियारको भने बेरुजु शून्य देखिएको हो ।
सोमबार सार्वजनिक लेखा समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव नारायण शर्मा दुवाडीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अहिलेसम्म बेरुजु कुनै पनि नरहेको जानकारी दिए । उनले कानुनको परिपालना गरेर कार्यसम्पादन गर्ने हो भने कुनै पनि बेरुजु नरहने बताए ।
सचिव दुवाडीले भने, ‘कानुनअनुसार काम गरेकै कारण बेरुजु नआएको हो । इमानदारीपूर्वक कानुनको परिपालना गरौँ, बेरुजु रहन्न । निकायहरूमा अहिले धेरै बेरुजु देखिने गरेको छ । सबै बेरुजु भ्रष्टाचार नभए पनि बेरुजु एक भ्रष्टाचारको सुरुआत हो । कतिपय बेरुजु भ्रष्टाचारमा परिणत भएका छन्, जसमा अख्तियार समेत आकर्षित हुने गरेको छ ।’
उनका अनुसार बेरुजु फर्छ्यौट गर्न कानुनको परिपालना गर्नै पर्छ भने व्यवस्थित लेखा प्रणाली नहुनु पनि बेरुजु बढ्नुको एक कारण हो । कमजोर कारबाही प्रणाली, बेरुजु फर्छ्यौट गर्ने दायित्व कसको हो भन्नेबारे दुबिधा रहनु, बारम्बार कर्मचारी परिवर्तनले पनि फर्छ्यौटमा समस्या पारेको उनको भनाइ छ ।
सचिव दुवाडीका अनुसार औचित्य पुष्टि नहुने गरी अनेक शीर्षकमा बजेट राखिने भएकाले पनि बेरुजु बढेको हो । बेरुजु फर्छ्यौट शासकीय इस्यु भएकाले पनि शून्य बेरुजु कायम गर्ने गरी अघि बढ्नुपर्ने उनले बताए ।
