जब बाहुनले हलो जोतेपछि राणा सरकारसमक्ष उजुरी पर्‍यो...

लमजुङको अर्चल्यानी बाटेगरामा हलो क्रान्ति दिवस मनाइँदै

श्रावण ११, २०८२

आश गुरुङ

When Bahun plowed the plow, the Rana complained to the government...

What you should know

लमजुङ — लमजुङका ब्राह्मणहरूले सामाजिक क्रान्ति गर्दै हलो जोतेको सम्झनामा आइतबार लमजुङको सुन्दरबजार नगरपालिका ४, दुराडाँडाको अर्चल्यानी बाटेगरामा हलो क्रान्ति दिवस मनाइँदैछ । नेपालमा प्रजातन्त्र स्थापनापूर्व ११ साउन २००६ मा पण्डित तोयानाथ अधिकारीको अगुवाइमा लेफ्टिनेन्ट शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, मायानाथ पौडेल, श्रीकान्त अधिकारीलगायत २७ जना बाहुनले नेपालमै पहिलोपटक हलो जोतेको मानिन्छ ।

हलो क्रान्ति नेपाल तथा तोयनाथ स्मृति प्रतिष्ठानको आयोजनामा आइतबार ७६ औँ हलो क्रान्ति दिवस मनाउन लागिएको संस्थाका सचिव लक्ष्मीकान्त न्यौपानेले जानकारी दिए । उनका अनुसार दिवसका दिन हलो क्रान्तिमा संलग्नहरूको स्मृतिमा गीत, कविता वाचन गर्ने, स्मरण गर्ने, सामाजिक क्रान्तिमा उनीहरूको योगदानको चर्चा–परिचर्चा गर्ने कार्यक्रम रहेको छ ।

अर्चल्यानीको बाटेगरामा प्रत्येक वर्ष हलो क्रान्ति दिवस मनाइन्छ । ब्राह्मणवाद तथा जातीय भेदभावसँगै हलीप्रथा अन्त्यका लागि भनेर बाहुनले पहिलोपटक हलो जोतेको दिनलाई हलो क्रान्ति दिवसको रूपमा मनाउन थालिएको हलो क्रान्ति नेपाल तथा तोयनाथ स्मृति प्रतिष्ठानले जनाएको छ ।

When Bahun plowed the plow, the Rana complained to the government...२००६ साल साउन ११ गते ‘हलोक्रान्ति’ गरेका प्रमुख व्यक्ति स्वर्गीय पण्डित तोयानाथ अधिकारी । फाइल तस्बिरः कान्तिपुर 

ब्राह्मणले हलो जोतेको विरोधमा राणा सरकारसमक्ष उजुरी पर्‍यो । सरकार विरोधी काम गरेको आरोपमा तत्कालीन सरकार प्रमुख श्री ३ मोहन शम्शेरको पालामा ‘बडा हाकिमले खटाएको’ भन्दै २००७ साल साउन ११ गते सरकारी व्यक्तिले पण्डित तोयानाथ अधिकारी, शेषकान्त अधिकारी र श्रीकान्त अधिकारीलाई गिरफ्तार गर्‍यो । परेवाडाँडा, सुरुको सदरमुकाम कुन्छा, भोर्लेटार हुँदै १ दिन १ रात हिँडाएर उनीहरूलाई बिहान ४ बजे पोखराको गोश्वरामा हाजिर गराए ।

‘कानुन र वेदमा बाहुनले हलो जोत्न हुँदैन भन्ने उल्लेख भए जस्तोसुकै कारबाही भोग्न पनि तयार छौँ’ भनेर जेलभित्रै अनशन बसेपछि उनीहरू ४८ घण्टापछि रिहा भए । श्रीकान्त पोखराको बिन्दवासिनीस्थित आधार स्कूलमा पढाउने भएकाले उनलाई कागज गराए । तोयानाथ र शेषकान्तलाई दैनिक तारेखमा छाडियो । तारेखको म्याद गुजारेपछि उनीहरू गाउँ फर्किए । तर, गाउँलेले उनीहरूप्रति हेर्ने दृष्टिकोण फेरेनन् ।

When Bahun plowed the plow, the Rana complained to the government...२०७१ पुस ३० गते निधन भएका विष्णुप्रसाद अधिकारी । फाइल तस्बिरः कान्तिपुर 

अहिले हलोक्रान्तिमा सहभागी २७ जना नै ब्राह्मण छैनन् । उनीहरू सबैको निधन भइसकेको छ । ‘हलो क्रान्ति’ को नेतृत्वकर्ता पण्डित तोयानाथ अधिकारीको २०२२ सालमा निधन भयो । सबैभन्दा कान्छो मायानाथ पौडेलको २०७३ जेठ २८ गते निधन भयो । त्यसअघि २०७१ पुस ३० गते विष्णुप्रसाद अधिकारीको निधन भयो ।

मायानाथले आफू जीवित छँदा भने अनुसार हलोक्रान्ति एउटा कृषि र श्रममा क्रान्ति थियो । आर्थिक क्रान्ति थियो । सामाजिक क्रान्ति थियो । यस प्रकारको कार्य जातीय छुवाछुतविरुद्ध थियो । २००६ साउन ११ गते लमजुङको दुराडाँडामा हलोक्रान्ति भएपछि २००६ सालकै पुसमा तनहुँ, फागुनमा कास्की र धादिङ, २००७ वैशाखमा अर्घाखाँची र गोरखा साथै २००८ मा स्याङ्जा हलो जोत्ने अभियान सुरु भएको विभिन्न कृति तथा लेखहरूमा पाइन्छ ।

When Bahun plowed the plow, the Rana complained to the government...२०७३ जेठ २८ गते निधन भएका मायानाथ पौडेल । फाइल तस्बिरः कान्तिपुर 

उपाध्याय बाहुनले लमजुङको दुराडाँडामा नेपालमै पहिलोपटक हलो जोतेको विषयलाई जीवन अधिकारीले २०४८ मा लेखेको हलोक्रान्ति, हंशपुरे सुवेदीले लेखेको सांस्कृतिक परिवेशमा नेपालको हलोक्रान्ति, तीर्थराज शर्मा, खेमकर्ण कोइराला लगायत लेखकले बयान गरेका छन् ।

ती पुस्तकहरूका अनुसार तोयानाथसँगै, हरिभक्त, शेषकान्त, हरिदास लगायतले सल्लाह गरेर २००४ सालमै हलो जोत्ने निर्णय गरेका थिए । पण्डित तोयानाथको नेतृत्वमै हलो जोत्ने विषय उठान गरी शास्त्रीय र कानुनी पक्षमा अनुसन्धान गर्न तोयानाथ र हरिभक्तलाई जिम्मा लगाइएको थियो । राय लिँदै गर्दा २००५ फागुन ४ गते मुखिया हरिदासको निधन भयो । उनीहरूले सल्लाह गरेर २००६ साउन ११ गते हलो जोतेको जीवित रहँदा हलोक्रान्तिमा सहभागीले बताएका थिए ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully