कांग्रेसका २१ प्रदेश सांसदले मुख्यमन्त्री लामाविरुद्ध हस्ताक्षर गरेर अविश्वास प्रस्ताव दर्ता गरेका छन्।
What you should know
मकवानपुर — कांग्रेसको बागमती प्रदेश संसदीय दलमा देखिएको विवाद सुल्झाउन केन्द्रका प्रतिनिधि सांसद राजन केसी आइतबार हेटौंडा आइपुगेका छन् । उनले सोमबार दिउँसो १ बजे बस्ने प्रदेश संसदीय दलको बैठकबाट विवाद समाधान प्रक्रिया अगाडि बढाइने जनाएका छन् ।
आफ्नै दलका सांसदबाट संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता भएसँगै बागमतीका मुख्यमन्त्री एवम् कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा अहिले अल्पमतमा परेका छन् । कांग्रेसका ३७ प्रदेश सांसदमध्ये २१ जनाले अविश्वास प्रस्तावको पक्षमा हस्ताक्षर गरेका छन् । कांग्रेस प्रदेश सभापति तथा प्रदेश सांसद ईन्द्रबहादुर बानियाँको नेतृत्वमा अविश्वास प्रस्ताव दर्ता भएको हो । मुख्यमन्त्री लामा र बानियाँ दुवै कांग्रेस सभापति शेरबहादुर देउवा निकट नेता हुन् ।
केन्द्रीय प्रतिनिधि केसीका अनुसार दुई चरणमा गरेर संसदीय प्रक्रियामार्फत हालको समस्या समाधान गरिनेछ । ‘पहिलो चरणमा अविश्वासको प्रस्ताबको पक्ष र विपक्षमा मत जाहेर गरिनेछ । उक्त प्रस्ताब पारित भएपछि मात्र दलको नेता चयन प्रक्रिया अगाडि बढाइनेछ,’ उनले भने । दोस्रो चरणमा दलको नेता दाबी गर्नेहरु बीच गोप्य मतदान गरी प्रक्रिया टुंग्याइने उनले बताए । संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने भएका कारण जो दलको नेता बन्छ उसैले सरकारको नेतृत्व गर्ने केसीले प्रष्ट्याए । दलको बैठकबाट नेता चयन गर्न आवश्यक चुनावी प्रक्रियाको मिति तोकिने बताए ।
मुख्यमन्त्री लामाविरुद्ध अविश्वासको प्रस्ताब दर्ता भएसँगै कांग्रेस बागमती प्रदेश समिति र केन्द्रीय समितिलाई आवश्यक प्रक्रिया बढाउन कांग्रेस संसदीय दलका सचिव कृष्णकुमार तामाङले पत्राचार गरेका थिए । उनको पत्राचार अनुसार प्रदेश र केन्द्रले केसीलाई पर्यबेक्षकको रुपमा सहजीकरण गर्न पठाएको हो । तामाङ यसअघि लामाकै पक्षमा भए पनि अहिले बानियाँनजिक छन् । तामाङले संसदीय दलले आफूलाई दिएको अधिकार अनुसार पत्राचार गरेको दाबी गरे ।
मुख्यमन्त्री लामाले आफ्नो विरुद्धमा हस्ताक्षर गर्ने चार जना मन्त्रीलाई पदमुक्त गरिसकेका छन् । उनले रिक्त चार मन्त्रालयमा नयाँ मन्त्री नियुक्ति गरी अविश्वासको प्रस्ताब सामना गर्ने रणनीति तय गरेको उनी निकट सांसदहरुले बताएका छन् । बानियाँ पक्षमा खुलेका सांसदलाई फकाउने रणनीतिमा लागेका उनी हाल केन्द्रीय नेतृत्वलाई विश्वासमा लिन काठमाडौंमा छन् ।
लामाले संविधानको धारा १६९ (२) (ख) अनुसार आफूविरुद्ध हस्ताक्षर गरेका बागमती सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठलाई पदमुक्त गरेका छन् । उनीहरुले शुक्रबार दिउँसो राजीनामा दिए पनि स्वीकृत नगरी उनीहरुलाई बर्खास्त गरेका थिए । तत्कालीन समयमा बानियाँलाई संसदीय दलको नेतामा पराजित गर्दा लामाले २१ मत पाएका थिए । त्यतिबेला बानियाँ १६ मतमा सीमित बनेका थिए ।
