कांग्रेसभित्रैको टकरावले बागमती सरकार विघटन उन्मुख

कांग्रेसका ३७ प्रदेश सांसदमध्ये २१ जनाले अविश्वासको प्रस्तावको पक्षमा हस्ताक्षर गरेपछि मुख्यमन्त्री लामा नेतृत्वको सरकार संकटमा

श्रावण ११, २०८२

कुलचन्द्र न्यौपाने

Confrontation within the Congress led to the dissolution of the Bagmati government

What you should know

काठमाडौँ — बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा र प्रदेश कार्यसमितिका सभापतिसमेत रहेका सांसद इन्द्रबहादुर बानियाँको व्यक्तिगत टकराबले प्रदेश सरकार विघटनको मुखमा पुगेको छ । प्रदेशको बजेटमा सत्तारूढ दलहरू कांग्रेस र एमालेमा असन्तुष्टि बढेको बेला मौका छोपी बानियाँले संसदीय दलको नेताबाट लामालाई हटाउन शुक्रबार अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

000

कांग्रेस र एमालेबीच समीकरण बनेपछि बागमती प्रदेशमा लामाले सरकारको नेतृत्व सम्हालेका थिए । बजेटमा अनियमितता गरेको भन्दै अहिले प्रदेश सरकारप्रति सत्तारूढ दलहरूमा असन्तुष्टि छ । यही मौकामा लामालाई दलको नेताबाट हटाएर आफू मुख्यमन्त्री हुने योजना बानियाँको छ । त्यसका लागि कांग्रेस सभापति शेरबहादुर देउवा र देउवामार्फत एमालेसंग समेत कुराकानी भइरहेको कांग्रेसका एक पदाधिकारीले बताए । 

संविधानतः संयुक्त सरकारको नेतृत्व लिन पार्टी संसदीय दलको नेता हुनु अनिबार्य हुँदैन । तर, कांग्रेसले केन्द्रमा संसदीय दलको नेतालाई प्रधानमन्त्री र प्रदेशमा प्रदेश संसदीय दलको नेतालाई मुख्यमन्त्री बनाउने प्रचलन बसाल्दै आएको छ । लामालाई दलको नेताबाट हटेको पक्षमा बानियाँलाई मुख्यमन्त्री बनाउन पार्टी सभापति देउवाले एमालेसँग छलफलसमेत गरिरहेको उनीनिकट एक नेताले बताए । लामा र बानियाँ दुवै देउवा पक्षका नै हुन् । उनीहरू दुवै निर्माण व्यवसायी पृष्ठभूमिका हुन् । 

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रदेशमा दलको नेता हटाउने वा अरू कसैलाई बनाउने भन्नेबारे केन्द्रले हस्तक्षेप नगर्ने बताए । उनले सहजीकरणका लागि केन्द्रले प्रतिनिधि मात्रै पठाउने र त्यसमा सांसद राजन केसीलाई पठाउने निर्णय भएको बताए । ‘प्रदेशको संसदीय दल आफैं स्वतन्त्र छ । केन्द्रले कुनै प्रकारको हस्तक्षेप गर्दैन,’ उनले भने ।

बजेटको बेथितिलाई लिएर केही दिनअघि प्रदेश कार्यसमितिले सभापति देउवाको ध्यानाकर्षणसमेत गराएको थियो भने प्रदेश कार्यसमितिका सभापतिसमेत रहेका सांसद बानियाँले पूर्वसमझदारीअनुसार लामाको राजीनामाको माग समेत गर्दै आएका थिए । त्यसपछि देउवाले सहमतिअनुसार राजीनामा दिन लामालाई टेलिफोनबाटै भनेका थिए । तर, उनले नमानेपछि बानियाँको नेतृत्वमा दलको नेतृत्वबाट लामालाई हटाउन अविश्वासको प्रस्ताव दर्ता भएको हो । 

बानियाँले अविश्वास प्रस्ताव दर्ता गर्दा सरकार सञ्चालनमा असफल भएको, सरकारको नेतृत्व गर्नुअघि प्रतिपक्षी भूमिकासमेत प्रभावकारी नभएको र मुख्यमन्त्री एक/एक वर्ष आलोपालो गर्ने सहमति पालना नभएको कारण देखाएका छन् । अविश्वास प्रस्ताव दर्ता गर्दा संस्थापन पक्ष र महामन्त्री गगन थापा पक्षका सांसदसहित २१ जनाको हस्ताक्षर छ । 

यो मामिलामा संस्थापन इतरपक्षका शेखर कोइराला भने तटस्थ देखिएका छन् । लामाको बिकल्पमा आउने बानियाँसमेत संस्थापन पक्षकै भएकाले पनि बागमती सरकारको अदलबदलको राजनीतिमा कोइराला छिरेका छैनन् । बागमतीमा कांग्रेसका ३७ जना सांसद छन् । यसअघि १३ पुस २०७९ मा भएको दलको नेताको निर्वाचनमा भने लामाले बानियाँलाई ५ मतले पराजित गरेका थिए । त्यतिबेला सभापति देउवाले लामालाई अघि सारेपछि शेखर–गगन समूहमा रहेका सांसद बानियाँको पक्षमा उभिएका थिए । 

अहिले बानियाँलाई देउवाले नै साथ दिने भएका छन् । देउवाले बानियाँलाई साथ दिए पनि आफूले राजीनामा नगर्ने लामाले बताउँदै आएका छन् । उनले बानियाँ र आफूबीच एक/एक वर्ष मुख्यमन्त्री लिने गरी सहमति भएको भनेर गरिएको प्रचार पनि झूट भएको दाबी गरे । ‘यस्तो सहमति हुन्थ्यो भने संसदीय दलको नेतामा चुनाव नै हुन्थेन । मैले सहमति गर्ने हो भने चुनाव नगरौं, संसदीय दलको नेता पनि आधा–आधा बाँडौं भनेको हो । उसले (इन्द्र बानियाँ) ले नमानेर चुनाव भयो,’ लामाले भने, ‘चुनावबाट निर्वाचित भएपछि मैले किन राजीनामा दिने ? अविश्वासको प्रस्ताव मुख्यमन्त्रीलाई आएको होइन, दलको नेतालाई हो । म राजीनामा दिन्नँ ।’ 

३० असार २०८१ मा कांग्रेस र एमालेको समीकरणमा संघमा नयाँ सरकार बन्नासाथ मधेशबाहेक प्रदेशमा पनि दुई दलीय गठबन्धनको सरकार बनेको थियो । केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति देउवालाई सत्ता हस्तान्तरण गर्नसाथ प्रदेशमा पनि नेतृत्व बदलिने समझदारी छ । तर, बागमतीको हकमा भने लामालाई एक वर्षमा नै हटाउन बानियाँ मैदानमा उत्रिएका हुन् । यसले प्रदेश सरकारमा थप अस्थिरताको बीजारोपण हुने संशय छ ।

‘यहाँ मलाई हटाइयो भने अरू प्रदेशमा पनि यो सर्छ, प्रदेश सरकार अस्थिर हुन पुग्छन्,’ लामाले भने, ‘बजेटमा सांसदहरूले मागेजति नै बजेट पाएका छन् । प्रत्यक्षले न्यूनतम ५ करोडदेखि ८ करोड रुपैयाँसम्म पाएका छन् भने समानुपातिक सांसदले ३ करोडसम्म पाएका छन् । यसमा असन्तुष्टिको विषय छैन ।’ 

पार्टी सभापति देउवा निकट मुख्यमन्त्री लामा र बागमती प्रदेश सभापति बानियाँबीच शक्ति संघर्ष चलिरहँदा शुक्रबार कांग्रेसका चार मन्त्रीले राजीनामा दिएका थिए । लामामाथि दबाब बढाउन आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठले राजीनामा बुझाएका हुन् । मुख्यमन्त्री लामाले भने राजीनामा स्वीकृत गर्नुको साटो उनीहरूलाई पदमुक्त गरेका थिए । 

रिक्त मन्त्रालयमा बानियाँ पक्षका सांसदलाई मन्त्री बनाएर आफ्नो संसदीय दल नेता पदमा परेको अविश्वास प्रस्ताव सामना गर्ने मुख्यमन्त्री लामाको भनाइ छ । २०७९ को प्रदेशसभा निर्वाचनपछि संसदीय दल नेतामा बानियाँलाई पराजित गर्दा लामाले २१ मत पाएका थिए । त्यति बेला बानियाँको १६ मत थियो । अहिले संसदीय दलमा अविश्वासको प्रस्ताव भने २१ सांसदको हस्ताक्षरमा दर्ता गरिएको छ । बागमती प्रदेशमा कांग्रेसको ३७ सिट छ । 

कुलचन्द्र उनी कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदिय मामिला र दलहरुको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully