नर्सिङ, एचए, फार्मेसीमा प्रवेश परीक्षाबिनै भर्ना

निर्धारित सिट संख्याभन्दा कम विद्यार्थी भर्ना हुन थालेपछि सीटीईभीटीले प्रवेश परीक्षासम्बन्धी व्यवस्था हटाएको हो 

श्रावण ११, २०८२

सुदीप कैनी

Admission to Nursing, HA, Pharmacy without Entrance Test

What you should know

काठमाडौँ — प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले प्रमाणपत्र तह (पीसीएल) नर्सिङ, सामान्य चिकित्सा (एचए), फार्मेसीलगायत विषयमा प्रवेश परीक्षाबिनै विद्यार्थी भर्ना गर्ने प्रक्रिया थालेको छ । निर्धारित सिट संख्याभन्दा कम विद्यार्थी भर्ना हुन थालेपछि सीटीईभीटीले प्रवेश परीक्षासम्बन्धी व्यवस्था हटाएको हो । अब एसईई/एसएलसीको प्राप्तांकका आधारमै विद्यार्थी भर्ना गरिने भएको छ ।

सीटीईभीटीले प्रवेश परीक्षामा प्राप्तांकका आधारमा विद्यार्थी भर्ना गर्दै आएको थियो । सदस्यसचिव महेश भट्टराईका अनुसार यस वर्षदेखि भर्नासम्बन्धी निर्देशिका–२०८२ बमोजिम सामुदायिक विद्यालयबाट एसईई/एसएलसी उत्तीर्ण विद्यार्थीलाई थप १ र निजी विद्यालयबाट उत्तीर्णलाई ०.८५ अंक जोडेर उच्च अंक प्राप्त गर्नेलाई योग्यताक्रमका आधारमा सूची निर्धारण गरिनेछ । त्यसका लागि विद्यार्थीले अनलाइन आवेदन दिन सक्नेछन् । ‘प्रवेश परीक्षा सञ्चालन नहुनेबाहेक गतवर्षकै भर्नासम्बन्धी मापदण्ड र प्रक्रियाका आधारमा आंगिक, साझेदारी र निजी शिक्षण संस्थामा विद्यार्थी भर्ना हुन सक्छन्,’ उनले भने ।

सीटीईभीटीको नयाँ निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो । तर सर्वोच्चले प्रवेश परीक्षा नलिई एसईईको प्राप्तांकका आधारमा विद्यार्थी भर्ना गर्न सक्ने बाटो खोलिदिएको सदस्यसचिव भट्टराईले बताए । सरकारको नीति तथा कार्यक्रमअनुसार प्रवेश परीक्षा हटाउने निर्णय भएको उनको भनाइ छ । २०८२/८३ को नीति तथा कार्यक्रममा विद्यालय शिक्षा पूरा गरेका विद्यार्थीलाई ग्रेडिङका आधारमा प्राविधिक र व्यावसायिक वा विश्वविद्यालय शिक्षामा प्रवेश गराइने उल्लेख छ ।

सीटीईभीटीले स्वास्थ्यतर्फ पीसीएल नर्सिङ, एचए, फार्मेसीलगायत कार्यक्रम इन्जिनियरिङ, कृषि र हस्पिटालिटीका विभिन्न विषयमा भर्ना खुलाएको छ । सीटीईभीटीका सबै विषय र कार्यक्रममा गरी ५५ हजारभन्दा बढी सिट कायम गरिएको छ । तर ४० हजार विद्यार्थी मात्रै प्रवेश परीक्षामा सहभागी हुने गरेका छन् । अघिल्ला वर्षहरूको तथ्यांकअनुसार सीटीईभीटीले तोकेकामध्ये ४८ प्रतिशत सिटमा मात्रै विद्यार्थी भर्ना हुने गरेका थिए ।

प्रवेश परीक्षा सञ्चालन नगर्ने र अनलाइनबाटै भर्नाका लागि आवेदन दिन सक्ने व्यवस्थाबाट विद्यार्थीलाई सहज भएको सीटीईभीटीले जनाएको छ । एसईईमा न्यूनतम जीपीए २.० वा एसएलसी कम्तीमा दोस्रो श्रेणी प्राप्त गरेका विद्यार्थीले आवेदन दिन सक्नेछन् । छात्रवृत्ति र पूर्ण शुल्कीय कार्यक्रममा भर्ना हुने विद्यार्थीले पनि आवेदन दिनुपर्नेछ । प्रवेश परीक्षाबिनै विद्यार्थी भर्ना हुने निर्णयको कतिपय विद्यार्थी संगठनले भने विरोध गरेका छन् । परीक्षा सञ्चालन गरी भर्ना गर्दा कतिपय अवस्थामा विद्यार्थी, अभिभावक ठगिएको गुनासोसमेत सीटीईभीटीमा आउने गरेको थियो ।

नर्सिङ, एचए, फार्मेसी, सिभिल इन्जिनियरिङलगायत विषयमा विद्यार्थीको आकर्षण देखिन्छ । यी विषय पढ्न चाहने सबै विद्यार्थीले सिट संख्याको कमीका कारण पढ्न नपाउने अवस्था छ । स्वास्थ्यतर्फकै ल्याब, रेडियोग्राफीलगायतका विषय, इन्जिनियरिङका सिभिलबाहेकका विषय, कृषि र हस्पिटालिटीका होटल म्यानेजमेन्टलगायत विषयमा सिटअनुसार विद्यार्थी भर्ना नहुँदा कोटा रिक्त हुने गरेको तथ्यांक छ । सबैभन्दा बढी पीसीएल नर्सिङमा विद्यार्थीको चाप छ तर सीमित सिटका कारण सबै छात्रछात्रा भर्ना हुन पाउँदैनन् । चिकित्सा शिक्षा ऐन २०७५ ले एक सय शय्याको आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र नर्सिङ पठनपाठन गराउन पाउने व्यवस्था गरेपछि सम्बन्धन प्राप्त अधिकांश कलेज बन्द भएका छन् । नर्सिङका लागि ६३ कलेजमा २ हजार ५ सय २० सिट निर्धारण भएको छ । यसअघि करिब ५ हजार सिटमा समेत विद्यार्थी भर्ना हुने गरेका थिए ।

एक दशकमा प्राविधिक शिक्षालयको संख्या तेब्बरले वृद्धि भए पनि त्यसका आधारमा विद्यार्थी भर्नाको आकर्षण देखिएको छैन । २०७० सम्म ५ सय हाराहारीमा रहेका प्राविधिक शिक्षालयको संख्या एक हजार ५ सयभन्दा बढी पुगेको छ । शैक्षिकवर्ष २०८०/८१ मा प्रमाणपत्र र प्रमाणपत्र तहभन्दा मुनि भर्ना क्षमताको ५७ र ३४ प्रतिशत विद्यार्थी मात्र भर्ना भएको तथ्यांक छ । समग्रमा ५२ प्रतिशत सिटमा विद्यार्थी भर्ना हुन छाडेकाले २०८० बाट सीटीईभीटीले प्रवेश परीक्षा सञ्चालन गर्ने अधिकार शिक्षण संस्थालाई दिन थालेको थियो । त्यसअघि एकीकृत प्रवेश परीक्षा सञ्चालन गरेर मेरिटका आधारमा विद्यार्थी भर्ना गर्ने व्यवस्था थियो ।

सीटीईभीटीका ६५ आंगिक, ५२ साझेदारी, ४ सय २९ निजी र ६ सय ३६ सामुदायिक विद्यालयमा प्राविधिक धारतर्फको डिप्लो र प्रि–डिप्लोमा तहको पठनपाठन हुन्छ । त्यसबाहेक शिक्षा विकास तथा मानवस्रोत विकास केन्द्रले ५ सय विद्यालयमा कक्षा ९ देखि नै प्राविधिक शिक्षाको पठनपाठन थालेको छ । यी विद्यालयमा हरेक वर्ष करिब १५ हजार विद्यार्थी भर्ना हुन्छन् । यस हिसाबले ४० सिट संख्या रहेका विद्यालयमा पनि औसतमा ३० विद्यार्थी मात्रै भर्ना हुन आउँछन् । 

आवश्यकताभन्दा पनि राजनीतिक पहुँचका आधारमा जथाभावी शिक्षण संस्था स्थापना गर्ने प्रतिस्पर्धा चलेकाले विद्यार्थी अभाव देखिएको सीटीईभीटीका अधिकारीहरू बताउँछन् । उच्च शिक्षामा पनि प्राविधिक धारतर्फको शिक्षामा विद्यार्थीको आकर्षण बढ्न सकेको देखिँदैन । विश्वविद्यालय अनुदान आयोगको तथ्यांकअनुसार २० प्रतिशत विद्यार्थी मात्रै प्राविधिक धारतर्फ भर्ना हुने गरेका छन् । 

सुदीप कैनी कान्तिपुर दैनिकका संवाददाता हुन् । उनी शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयमा कलम चलाउँछन् ।

Link copied successfully