बाजुरा जिप दुर्घटनामा गम्भीर घाइते सात जनालाई गाउँपालिकाले हवाई उद्धार गरेर कर्णाली प्रादेशिक अस्पताल पुर्याएको छ।
What you should know
धनगढी — बिहीबार बिहान साढे आठ बजे बाजुराको विकट हिमाली गाउँपालिका क्युडीमा जिप दुर्घटना भयो । जिपमा सवार २१ जनामध्ये तीन जनाको घटनास्थलमै मृत्यु भयो भने १८ जना घाइते भए । बाजुराको क्युडीमा भएको जिप दुर्घटनामा सात जना गम्भीर घाइतेको उद्धारका लागि हेलिकोप्टर खोज्न ८ घण्टा लाग्यो।
तीमध्ये सात जनाको अवस्था गम्भीर भएकाले उनीहरूलाई यथासक्य चाँडो सुविधासम्पन्न स्वास्थ्य संस्थामा पुर्याउनुपर्ने खाँचो थियो ।
गाउँपालिकाको केन्द्र धुलाचौरबाट करिब अढाई घण्टा टाढा दुर्घटना भएपछि गाउँपालिकाका पदाधिकारी परिचालित भई उद्धार प्रयास थाले । १० जनालाई बुढीनन्दा नगरपालिकास्थित कोल्टी अस्पताल पुर्याइयो । बाँकी गम्भीर घाइते सात जनालाई करिब एक घण्टा टाढाको तिथिचौरसम्म ल्याएर हेलिकोप्टरमार्फत थप उपचारका लागि लैजाने प्रयास सुरु भयो ।
तिथिचौरमा पुर्याइएका धनसिंह रोकाया, रनसुर सुनार, बीरबहादुर बुढा, बाँचलाल रोकाया, राजबहादुर बुढाथापा, हुम्लाको ताजाकोट गाउँपालिकाका सुरेन्द्र शाही र चालक २३ वर्षीय गौरी बुढा गम्भीर घाइते थिए । उनीहरूलाई हवाई उद्धार गरेर सुविधासम्पन्न अस्पताल पुर्याउनु पर्ने स्थानीय स्वास्थ्यकर्मीको निष्कर्ष थियो ।
घटनाका बेलामा गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्ल काठमाडौंमा थिए । उनले सडक दुर्घटनाको खबर पाउनासाथ गृहमन्त्रीसमक्ष हवाई उद्धारको व्यवस्था गरिदिन आग्रह गरे । साथै, सुर्खेतस्थित नेपाली सेनासमक्ष पनि हेलिकोप्टरका लागि निवेदन गरे, तर सुनुवाइ भएन ।
गृहमन्त्रीले प्रत्यक्ष भेटपछि अध्यक्ष मल्ल र प्रमुख प्रशासकीय अधिकृत राजबहादुर मल्लले घाइतेको अवस्था र समस्या सुनाए । अध्यक्ष मल्लका अनुसार ‘गृहमन्त्री रमेश लेखकले विपद्जन्य दुर्घटनाबाहेक अन्य घटनामा सरकारको तर्फबाट हवाई उद्धारलगायत कुनै सहयोग गर्न नसकिने’ जवाफ दिए । अर्कातर्फ, सुर्खेतस्थित सेनाले ‘रकम नजम्मा भएको अवस्थामा हेलिकोप्टर पठाउन नसकिने’ जवाफ दिइरहेको थियो । प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याको गृह मन्त्रालयतर्फको पहल पनि निष्फल रह्यो ।
हेलिकोप्टरको पहल गर्दै जाँदा सात घण्टा बितेर दिउँसो दुई बज्यो । घाइतेहरू तिथिचौरमा छट्पटाइरहेका थिए, गाउँपालिका अध्यक्षसहित पदाधिकारीहरू हवाई उद्धारको धपेडीमा थिए । तर, व्यवस्था मिल्न सकेको थिएन । अन्ततः गाउँपालिकाले आफ्नै स्रोतबाट हेलिकोप्टरको भाडा बेहोर्ने निर्णय गर्दै जिल्ला प्रशासन कार्यालयलाई लिखित जानकारी पठायो । सोही आधारमा प्रशासन कार्यालयले गृहमन्त्रालयलाई सैनिक हेलिकोप्टर पठाउन अनुरोध गर्यो । त्यसपछि बल्ल दिउँसो करिब तीन बजे सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर आयो ।
प्रतिघण्टा २ लाख ३९ हजार रुपैयाँ भाडा तिर्ने जिम्मेवारी गाउँपालिकाले लिएपछि सेनाको हेलिकोप्टरले दुई पटक तिथिचौर–सुर्खेत उडान गरी ७ जना घाइतेलाई कर्णाली प्रादेशिक अस्पताल, सुर्खेत पुर्याएको अध्यक्ष मल्लले जानकारी दिए ।
तर, त्यहाँ पनि सरकारको तर्फबाट उपचारमा कुनै ध्यान नदिइएको अध्यक्ष मल्लको भनाइ छ । ‘प्रहरी सेवामा रहेका हाम्रै पालिकाका एक कर्मचारीले उपचारमा समन्वय गरिरहनुभएको छ,’ उनले भने, ‘गाउँघरमा हुने यस्ता सडक दुर्घटनापछि उद्धारमा सरकारको स्पष्ट नीति हुनु आवश्यक छ ।’ क्युडीबाट कवाडी आउँदै गरेको बा ३ प ००१ ज ०३३८ नम्बरको जिप दुर्घटना हुँदा ७६ वर्षीया बिजौरा रोकाया, ७५ वर्षीया बाँचकला रोकाया र ३५ वर्षीया जुनेली रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाजुराले जनाएको छ ।
अन्य १० जना घाइतेको कोल्टी अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये अम्म रोकाया, बाँचधन रोकाया, भदैरी रोकाया, भैजीत बुढा, अस्कली बुढा, दशरथ बुढा, छते रोकाया, साजन रोकाया, नवराज बुढा र भरत रोकायाको उपचार भइरहेको प्रहरीको भनाइ छ ।
नयाँ खुलेको सडकमा अत्यधिक यात्रु चढेकाले जिप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । गाउँदेखि करिब २० किलोमिटर टाढा रहेको गाउँपालिका केन्द्र धुलाचौरमा सामाजिक सुरक्षा भत्ता लगायतका कामका लागि क्युडीका बासिन्दा जाँदै थिए ।
