आज देश दुनियाँमा के के भयो ?

देश दुनियाँमा दिनभर के के भयो ?

श्रावण ९, २०८२

कान्तिपुर संवाददाता

What happened in the world today?

What you should know

काठमाडौँ — मधेशका खेत सुक्खा र पोखरीको पानी सुकेको देखेँ : प्रधानमन्त्री ओली, पूर्वराष्ट्रपति भण्डारीले भनिन् - ‘आवेग र उत्तेजनाका भरमा निर्णय गरियो, म एमालेमै छु’, बागमतीमा मुख्यमन्त्री परिवर्तनको तयारी, लामालाई संसदीय दलको नेताबाट हटाउन हस्ताक्षर संकलन, प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने फ्रान्सको घोषणा, २२ औं पल्सर स्पोर्ट्स अवार्ड पोखरामा हुने लगायतका खबर आज चर्चामा रहे । देश–दुनियाँमा आज के के भयो त ?

पूर्वराष्ट्रपति विद्या भण्डारीले आफू अहिले पनि एमालेमै रहेको बताएकी छन् । राष्ट्रपतिको कार्यकाल पूरा गरिसकेपछि विधिपूर्वक पार्टीको सदस्यता नवीकरण गरेको उनले भनेकी छन् । ‘मैले सफलता पूर्वराष्ट्रपतिको कार्यकाल पूरा गरिसकेपछि बाँकी जीवन देशका लागि लगाउने उद्देश्यले मातृ पार्टी नेकपा एमालेको सदस्यता नवीकरण गरेकी हुँ,’ शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले भनिन्, ‘मैले विधिपूर्वक नवीकरण गरेको हुँ । केही व्यक्तिको हुलहुज्जत र उत्तेजनाको भरमा निर्णय हुँदैन । पार्टीको पनि आफ्नो विधि प्रक्रियाहरू हुन्छन् । एउटा प्रणालीमा चल्छ ।’

ooo

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई कांग्रेस संसदीय दलको नेताबाट हटाउन सांसदहरूले हस्ताक्षर संकलन गरेका छन् । उनलाई पार्टीको नेताबाट हटाउन सांसदहरूले शुक्रबार हस्ताक्षर बुझाएका छन् । कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको सक्रियतामा संसदीय दलका ३७ जना सांसदमध्ये २१ जनाले हस्ताक्षरसहित उनीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका हुन् । 

ooo

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशको सुक्खा संकट दीर्घकालीन र तत्कालीन गरी दुई उपायबाट समाधान गरिने बताएका छन् । मन्त्रिपरिषद्को बैठकले मधेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेपछि प्रधानमन्त्रीओली आज बिहानैदेखि महोत्तरी र बाराको भ्रमणमा छन् । उनले सो क्षेत्रको हवाई अनुगमन तथा निरीक्षण पनि गरेका छन् । 

ooo

फ्रान्सले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने घोषणा गरेको छ । फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले यसै वर्षको सेप्टेम्बरमा औपचारिक रूपमा प्यालेस्टाइनलाई स्वतन्त्र मुलुकको मान्यता दिने बताएका हुन् । यसको औपचारिक घोषणा न्युयोर्कमा हुने संयुक्त राष्ट्र संघको महासभामा गर्ने राष्ट्रपति म्याक्रोंको भनाइ छ । 

ooo

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डलाई राजधानी बाहिर आयोजना गर्ने घोषणा गरेको छ । २०६० सालदेखि निरन्तर आयोजना भइरहेको यस पल्सर स्पोर्ट्स अवार्डको २२ औं संस्करण भदौ २९ गते पोखरामा गरिने भएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully