निराशालाई आशामा बदल्न कटिबद्ध छौँ : राष्ट्रपति पौडेल

श्रावण ९, २०८२

कान्तिपुर संवाददाता

We are determined to turn despair into hope: President Paudel

What you should know

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको ध्यये नै जनताको आवाज सुन्ने, चाहना पूरा गर्ने र सुशासनको माध्यमबाट आर्थिक रूपमा समृद्ध नेपाल निर्माण गर्ने रहेको बताएका छन् । 

राष्ट्रिय विभूति भीमसेन थापाको २५१औँ जयन्तीको अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यही शासन प्रणालीबाट नै पूर्खा र इतिहासले सुम्पिएको दायित्व पूरा गर्न  सकिने उनले बताएका छन् ।

'इतिहासका अनेकौँ कालखण्डबाट गुज्रदै हाम्रो देश अहिले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणाली अङ्गालेर अघि बढ्दैछ । वास्तवमा यो शासन प्रणालीको ध्येय भनेको जनताको आवाज सुन्ने, जनताको चाहना पूरा गर्ने र सुशासनको माध्यमबाट आर्थिक रुपमा समृद्ध नेपाल निर्माण गर्ने नै हो । यसबाट नै हामीले हाम्रा पूर्खा र इतिहासले सुम्पिएको दायित्व पूरा गर्न सक्छौँ । हामी सबैको ध्यान त्यसतर्फ केन्द्रित होस् भन्न चाहन्छु,' उनले भने । 

राष्ट्रपति पौडेलले षड्यन्त्रै षड्यन्त्रको अभिशप्त इतिहासलाई बदल्नुपर्ने सोचसहित आफूले लेख लेखेको स्मरण गर्दै भने, 'हामी अहिले अभिशप्त इतिहास बदलेर एउटा निष्कपट, खुला र उन्नतशील समाजबाट नेपाललाई डोर्‍याउन कटिबद्ध छौँ । त्यसैले निराश हुन जरूरी छैन ।' दक्षिण एसियामा प्रभाव जमाउँदै आएको औपनिवेशिक साम्राज्य शक्तिलाई परास्त गर्दै मुलुकलाई पराधीन हुनबाट थापाले जोगाएको उनले बताए । 

राष्ट्रपति पौडेलले भीमसेन थापाको राष्ट्रप्रतिको प्रेम, प्रशासनिक क्षमता र राजनीतिक दूरदर्शिताको कारणले नै नेपाल  स्वतन्त्र र अटल रुपमा रहन सकेको हो भन्दै आर्थिक, प्रशासनिक, सैनिक, सामाजिक सुधारलगायत राष्ट्रको हित, प्रगति र विकासका लागि गर्नुभएको योगदान सदैव सराहनीय रहेको बताए । 

कान्तिपुर

Link copied successfully