बुटवल भैरहवामा बिहीबार ३६ डिग्री रहेको तापक्रम शुक्रबार ३८ पुग्यो
What you should know
बुटवल — साउन लागेसँगै रुपन्देहीमा पानी पर्न छोडेको छ । पानी नपरेपछि गर्मी अचाक्ली बढ्दै गएको छ । पानी अभावमा खेतमा किसानले धान रोप्न पाएका छैनन् । चर्को घामका कारण खेतमा रोपेको धान पनि सुक्न थालेको छ ।
विद्यार्थी र सर्वसाधारणहरू समस्यामा पर्न थालेका छन् । गर्मी बढेको भन्दै सिद्धार्थनगर नगरपालिकाले विद्यार्थीहरूलाई पानी नपर्दासम्म बिदा दिएको छ ।
बिहीबार बुटवल र भैरहवा क्षेत्रमा ३५ डिग्री सेल्सियस रहेको तापक्रम शुक्रबार बढेर ३८ सम्म पुगेको छ । चर्को घामले गर्दा सर्वसाधारण बाहिर निस्कन सकेका छैनन् । गर्मी बढेपछि सर्वसाधारणले सामाजिक सञ्जालमार्फत विद्यार्थीहरू बढी प्रभावित भएको भन्दै केही दिन विद्यालय बन्द गर्न सुझाव दिइरहेका छन् ।
ठूलो र धेरै पानी पर्ने बाढी पहिरोको जोखिमबाट सतर्क मौसमविद्हरूले दिने गरेको सूचना गलत भएको भन्दै पानीको भन्दा पसिनाको बाढी आएको तर्क र व्यङ्ग्य पनि सामाजिक सञ्जालमा बढिरहेको छ ।
शुक्रबार बिहानै भैरहवाका साहित्यकार तथा पूर्व निजामती कर्मचारी रुद्र ज्ञवालीले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै साउनमा सुक्खा र खडेरी आफ्नो पहिलो अनुभव भएको बताएका छन् । ‘यत्तिको बाफिएपछि त मोमो पनि पाक्थ्यो होला है,’ उनले लेखेका छन्, ‘साउनमा यस्तो सुख्खा र खडेरी मेरो अनुभवमा त पहिलो हो ।’
कपिल लामिछानेले ‘बाढी आउँछ भन्थे । हो रहेछ, पसिनाको बाढी आइरहेको छ,’ लेखेका छन् । नारायण ज्ञवालीले कमेन्ट लेख्दै विद्युत् प्राधिकरणप्रति चर्को असन्तुष्टि पोखेका छन् । ‘अझ यस्तो बेलामा विद्युत् जान्छ, प्राधिकरणमा फोन गर्दा उठाइँदैन, साँझ गएको लाइन अर्को दिन अफिस खुलेपछि बल्ल आउँछ,’ उनले लेखेका छन्, ‘रातभरि जाग्राम बस्नुपर्छ, नेपाल विद्युत् प्राधिकरणले दिने सास्ती कसले हटाउने ?’
साहित्यकार दुर्गा पौडेलले लेखेकी छन्, ‘अहिले वर्षा धेरै छ भन्थे मौसमविद्हरूले, हो रहेछ, पसिनाको वर्षा अति नै भयो, जिन्दगीमा थाहा नपाएको ।’
त्यस्तै बुटवलका सामाजिक अभियन्ता श्रीराम ज्ञवालीले पनि गर्मी बढेको भन्दै स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन् । ‘गर्मी अत्यधिक छ । धेरै विद्यार्थी बसमा आउजाउ गर्छन् । कक्षाकोठा उस्तै । बसको यात्रा अत्यन्तै सकसपूर्ण छ,’ उनले लेखेका छन्, ‘गर्मीले दिनहुँ विद्यार्थी बिरामी भइरहेका छन् । वर्षा नहुन्जेल गर्मी बिदा दिने व्यवस्था मिलाउन आवश्यक देखियो ।’
पत्रकार कृष्ण रनपालले बुटवलमा अत्यधिक गर्मी बढेको, साउनको पहिलो हप्ता सकिँदासमेत पानी पर्न सकेको छैन । चर्को गर्मीमा विद्यार्थी समस्यामा परेको भन्दै पानी नपर्दासम्म स्कुल बन्द गर्दा कसो होला भन्ने सुझाव दिएका छन् ।
कृषि ज्ञान केन्द्र रुपन्देहीका प्रमुख शिवप्रसाद अर्यालले रुपन्देहीका धान खेती हुने ६० हजार ३ सय हेक्टर क्षेत्रफलमध्ये ५८ हजार ९ सय हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको बताए । झन्डै २ प्रतिशतमा रोपाइँ हुन बाँकी छ । तर, रोपाइँ भए पनि साउन महिना सुरु भएपछि पानी नपरेको र दक्षिणी क्षेत्रमा रोपेको धान सुक्न थालेको बताए ।
‘उत्तरी क्षेत्रमा अझै समस्या छैन, तर दक्षिणी क्षेत्रका मर्चवारी, कोटहीमाई, सम्मरीमाई लगायतका क्षेत्रमा रोपेको धान सुक्न थालेको छ,’ उनले भने, ‘अबको एक हप्ता पानी परेन भने रुपन्देहीको झन्डै ३६ हजार हेक्टर क्षेत्रफलमा रोपिएको धान सुक्ने अवस्था छ ।’ रुपन्देहीको झन्डै ४० हजार हेक्टर क्षेत्रफलमा मात्र सिँचाइ सुविधा पुगेको छ ।
