काठमाडौँ — राजनीति, फिल्म मेकिङ र लेखनमा सक्रिय युवा किरण विकले रुपन्देही क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा निर्वाचनका लागि स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
भैरहवालाई 'क्रिप्टो भ्याली' बनाउने, आर्थिक राजधानीको हैसियतमा विकास गर्ने, शिक्षा र स्वास्थ्यमा सुधार ल्याउने, सहरीकरणलाई व्यवस्थित बनाउने, सामाजिक न्याय र युवाका सवालमा पैरवी गर्ने लगायतका एजेन्डा उनले अघि सारेका छन्।
'न पुरानाको अन्धानुकरण, न नयाँको भुलभुलैया- विवेकशील स्वतन्त्र धार आवश्यक छ,' भन्दै विकले जनप्रतिनिधि बन्ने प्रेरणा बताए । एलजिबिटीक्यू+, दलित, मधेसी, जनजाति, मुस्लिम, थारुलगायत सीमान्तकृत समुदायको हक अधिकारको संरक्षणमा पनि आफू स्पष्ट धारमा रहेको उनको भनाइ छ ।
३१ वर्षीय विक सहरी योजना, कानुन र फिल्ममेकिङ अध्ययन गरेका छन् । बुटवल स्थायी घर भए पनि उनले भैरहवामा बाल्यकाल बिताएको उनको भनाइ छ ।
रूपन्देही–३ मा राप्रपाका दीपक बोहोराको क्यान्सरका कारण निधन भएपछि उक्त निर्वाचन क्षेत्र खाली भएको छ । उक्त निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र व्यक्तिहरुले उम्मेदवारी घोषणा गर्ने र उम्मेदवार छनोट गर्ने तयारीमा लागेका छन् । कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले असोज २१ गते मनोनयन दर्ताको दिन तोकेको छ ।
