दुवै देशका सरकारले मस्यौदालाई स्विकार्ने निर्णय गरेपछि उच्च तहमा सम्झौतामा हस्ताक्षर हुने
What you should know
काठमाडौँ — नेपाल–भारतबीचको गृह सचिवस्तरीय बैठकले दुई देशबीच पारस्परिक कानुनी सहायता सम्झौताको मस्यौदामा सहमति जुटाएको छ । दुवै देशका सरकारले उक्त मस्यौदालाई स्विकार्ने निर्णय गरेपछि उच्च तहमा सम्झौतामा हस्ताक्षर हुनेछ । उक्त सम्झौता नहुँदा अन्तर्देशीय आपराधिक क्रियाकलाप रोक्न दुवै देशले कानुनी र औपचारिक सहकार्य गर्न पाइरहेका छैनन् ।
दिल्लीमा बुधबार सम्पन्न गृह सचिवस्तरीय बैठकले उक्त सम्झौताका लागि तयार गरिएको मस्यौदालाई टुंग्याएको हो । बैठकमा सहभागी गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामचन्द्र तिवारीले प्राविधिक तहमा मस्यौदामा सहमति जुटिसकेको बताए । बैठकले सुपुर्दगीसम्बन्धी सन्धिका लागि भने सहमति जुटाउन सकेन । त्यसबारे आगामी दिनमा थप छलफल गर्दै जाने बैठकको निष्कर्ष छ ।
भारतको प्रेस इन्फर्मेसन ब्युरोले जारी गरेको वक्तव्यमा बैठकले पारस्परिक कानुनी सहयाता सम्झौताको मस्यौदालाई अन्तिम रूप दिन सकेकोलाई स्वागत गरिएको छ । साथै, सुपुर्दगी सन्धि पनि यथाशीघ्र पूरा गर्ने दिशामा बैठकमा सहमति भएको वक्तव्यमा उल्लेख छ ।
नेपाल र भारतबीच गृह सचिवस्तरमा ९ वर्षपछि बैठक भएको हो । सीमा वारपार हुने अपराध नियन्त्रणकै दिशामा बैठक मुख्य रूपमा केन्द्रित भएको गृह प्रवक्ता तिवारीले बताए । ‘सीमापार अपराध नियन्त्रणका लागि सहकार्यमा जोड दिन, सूचना आदानप्रदान बढाउन छलफल भएको हो,’ उनले भने ।
प्राकृतिक प्रकोप जस्ता विपद्को पूर्वजानकारीसम्बन्धी सूचना आदानप्रदान गर्न, मानव तस्करी, नक्कली नोट तथा लागूऔषधको कारोबारलाई कडाइका साथ नियन्त्रण गर्न दुवै देशका अधिकारीहरू सहमत भएका छन् । यस्तै, विभिन्न खालका अपराध नियन्त्रणका लागि ‘इन्टेलिजेन्स सेयरिङ’ लाई बढाउने विषयलाई दुवै देशले प्राथमिकता दिने भएका छन् । सीमा क्षेत्रमा निगरानी बढाउन, भत्के–बिग्रेका सीमास्तम्भहरूको मर्मत सक्न तथा जिल्ला तहमा रहेका ‘बोर्डर कोर्डिनेसन कमिटी’ बैठकहरू बढाउन पनि बैठकमा सहमति भएको छ ।
