दुई महिनादेखि गाउँपारिको चौरमा बस्दै आएका तिलगाउँवासीद्वारा बस्तुभाउ व्यवस्थापन गरेर कात्तिक–मंसिरसम्ममा गाउँ छाडिसक्ने सामूहिक निर्णय
What you should know
वीरेन्द्रनगर — बाढी र सुक्खा पहिरोको डरले दुई महिनादेखि घर छाडेर गाउँपारिको चौरमा त्रिपालमुनि रात गुजार्दै आएका हुम्ला नाम्खा–६ स्थित लिमी उपत्यकाको तिलगाउँका बासिन्दाले गाउँ छाड्ने सामूहिक निर्णय गरेका छन् । पानी नपरे पनि १ जेठको राति आएको बाढी र सुक्खा पहिरोले क्षति पुर्याउँदा १८ परिवार घरवारविहीन छन् ।
तिल्चुङ खोलाका ५ पुल बगेका छन् भने १५ किलोवाट क्षमताको जलविद्युत् गृहमा क्षति पुगेको छ । करिब ४ सय रोपनीमा सिँचाइ हुने कुलो पनि बग्यो भने खानेपानीको लाइनमा क्षति पुगेको छ ।
बाढी र सुक्खा पहिरोको जोखिम रहेको ठाउँमा बस्न उपयुक्त नहुने निष्कर्ष निकाल्दै सामूहिक रूपमा गाउँ छोड्ने निर्णय गरिएको स्थानीय छिरिङ छिमेल तामाङ बताउँछन् । ‘स्थानीयले बैठक बसेरै गाउँ छोडी काठमाडौं जाने निर्णय गरेका छन्,’ उनी भन्छन्, ‘कात्तिक/मंसिरपछि सबैले गाउँ छोडेर जाने सहमति भएको छ ।’ काठमाडौंबाट गएको विज्ञ टोलीले ‘थर्मोकार्स्ट’ (जमेको हिउँको तल्लोभाग पग्लिएर बग्नु) का कारण तिलगाउँमा बाढी र सुक्खा पहिरो गएको प्रारम्भिक निष्कर्ष निकालेको थियो ।
गाउँपारिको सुरक्षित चौरमा बास बस्दै आएका उनीहरू बिहान घरमा पुगेर काम गरेर फर्की राति त्रिपालमा सुत्ने गरेको बताउँछन् । विगतमा ४० घरधुरी रहेकामा हाल तिलगाउँमा २३ घरधुरी मात्र बसोबास गर्छन् । स्थानीय छिरिङ्बा लामाले भेडाच्यांग्रा र बस्तुभाउ व्यवस्थापन गर्न समय लाग्ने भएकाले कात्तिकमा गाउँ छाड्ने सहमति भएको बताए ।
वडाध्यक्ष पाल्जोर तामाङका अनुसार पहिले गाउँ छोड्न नमान्ने तिलगाउँका बासिन्दा हिमपहिरोको त्रासले बस्ती छाडेर जाने निर्णयमा पुगेका छन् । उनका अनुसार सबै स्थानीय बसेर बस्ती छाडेर जाने निर्णय गरिएको हो । उनीहरू जुनसुकै कामका लागि पनि बैठक राख्दै निर्णय गर्छन् । गाउँ नछोड्न आग्रह गर्दा पनि स्थानीयले निर्णय गरिसकेका कारण रोक्न सकिने अवस्था भएको वडाध्यक्ष तामाङको भनाइ छ । ‘तिलगाउँ खाली हुने निश्चित भएको छ, वडाले प्रयास गर्दा पनि सकेनौं,’ उनी भन्छन् ।
लिमीकै जाङका बासिन्दाले छाड्दै गएपछि गाउँ रित्तै भइसकेको छ । १५ वर्षअघि ६३ घरधुरी रहेको जाङमा अहिले एक परिवारमात्र बाँकी छ । धेरैजसो काठमाडौं, चीन, नेपालगन्जतिर सरेपछि यो गाउँ रित्तिएको हो । ‘बर्सेनि ५–६ परिवार बसाइँ सर्दै गएपछि गाउँ अहिले रित्तो बन्यो,’ वडाध्यक्ष तामाङ भन्छन्, ‘दुई वर्षअघिसम्म १७ घर थिए, गत वर्ष गाउँ नै रित्तो पारेर गए, अब एक घरका बासिन्दा मात्र छन् ।’ विद्यार्थी नभएपछि यहाँको भृकुटी आधारभूत विद्यालय ५ वर्षअघि नै बन्द भएको थियो ।
हुम्ला नाम्खा–६ स्थित लिमी उपत्यकामा रहेको हल्जी गाउँ, जहाँका बासिन्दाले बसाइँ सर्नेक्रम बढेपछि २०७८ को जनगणनामा ८१२ जनसंख्या रहेकामा अहिले आधा घटेर अब ४ सय जना मात्र बाँकी छन् । तस्बिर सौजन्य : राजन रावत
असुविधाकै कारण स्थानीय गाउँ छोड्न बाध्य भएको बसाइँ सरेका कुन्चोक सेवाङ लामाको भनाइ छ । ‘गाउँमा केही सुविधा भएन, पढाइका लागि बालबालिका र युवा सहर पस्न बाध्य भए,’ उनी भन्छन्, ‘बूढाबूढी र महिला मात्र गाउँमा बसेर कति दुःख गर्नॅ भन्ने भयो ।’
हिउँ परेर ६ महिनासम्म सडक र बाटोघाटो बन्द हुने भएकाले गम्भीर बिरामी भइहाले ज्यान जाने जोखिम रहेको पनि सुनाए । ‘हेलिकोप्टर चार्टरबाहेक उपाय छैन, खर्चले धान्न सकिँदैन, त्यसैले पनि सबैले गाउँ छाडे,’ उनी भन्छन् ।
यो वर्षबाट लिमीको हल्जीगाउँका बासिन्दाले पनि बसाइँ सर्न सुरु गरेका छन् । वडाध्यक्ष तामाङका अनुसार यस वर्ष मात्र हल्जीबाट निमातेन्जिन तामाङ, लोप्चाङ तामाङ र कोनुर्बॅ तामाङका गरी तीन घरले बस्ती छाडेर गएका छन् ।
१२ सय वर्ष पुरानो लिमीको ऐतिहासिक गुम्बाका कारण हल्जीवासीले सहजै गाउँ छाड्न मानिरहेका थिएनन् । बाढी र सुक्खा पहिरोको त्रास र सेवासुविधाको अभावमा गाउँ छोड्न थालेको स्थानीय क्याम्ने तामाङ बताउँछन् । ‘हुम्लाको अन्तिम गाउँ लिमीका बासिन्दाले सबै कुरा चीनको भर पर्नुपर्ने बाध्यताका कारण थातथलो छोड्न थालेका हुन्,’ उनी भन्छन् ।
संघीयतापछि साविकको लिमी गाविसलाई समेटेर नाम्खाको ६ नम्बर वडा बनाइएको हो । यहाँ जाङ, तिल र हल्जी गाउँ छन् । हल्जीका एकै वडाका यी गाउँमा एकबाट अर्कोमा पुग्न ४ घण्टाभन्दा बढी हिँड्नुपर्छ । तिब्बत सीमा जोडिएको लिमीका गाउँमा केही वर्षअघिसम्म चहलपहल राम्रै थियो । पछिल्ला वर्षहरूमा बसाइँ सर्नेक्रम निरन्तर छ ।
स्थानीयको मुख्य पेसा भेडापालन र ताक्लाकोटतिर व्यापार गर्ने हो । हुम्ला सदरमुकामदेखि ५० कोस टाढा पर्ने बौद्धधर्मावलम्बी लामा समुदायको मात्र बसोबास रहेको नाम्खा–६ मा जाङ, हल्जी, तिल गरी मुख्य तीन गाउँ छन् ।
वडा कार्यालय हल्जी गाउँमा छ । २०७८ को जनगणनाअनुसार वडाको जनसंख्या ८ सय १२ थियो । वडाध्यक्ष तामाङका अनुसार पछिल्लो समय वडाको जनसंख्या ४ सयमा झरेको छ । अधिकांश ताक्लाकोटतिर सरेका छन् भने बाँकी काठमाडौं र नेपालगन्जलगायतका ठाउँमा बस्छन् । हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेय १ जेठको घटनापछि दुई वटा प्राविधिक टोली घटनास्थल पुगेर अध्ययन गरे पनि त्यहाँ के गर्ने भन्ने जिल्ला प्रशासनमा अहिलेसम्म केही जानकारी नआएको बताउँछन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र एकीकृत हिमालय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) को विज्ञ टोलीले स्थलगत अध्ययनपछि ‘थर्मोकार्स्ट’ का कारण तिलगाउँमा बाढी र सुक्खा पहिरो गएको हुम्लाको हिमाली क्षेत्रको ५ हजार ३ सय ५० मिटर उचाइमा तीन वटा हिमताल रहेको जनाएको थियो ।
