संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउन सरकार जिम्मेवार र संवेदनशील छ : प्रधानमन्त्री ओली

श्रावण ७, २०८२

कान्तिपुर संवाददाता

The government is responsible and sensitive to complete transitional justice: Prime Minister Oli

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले पीडितलाई न्याय दिनेगरी संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउने विषयमा सरकार जिम्मेवार र संवेदनशील रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले राखेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामहरू सम्पन्न गरी शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको स्पष्ट गरे । 

संविधानले निर्देशन गरेबमोजिम सहिदहरू, बेपत्ता एवं द्वन्द्वपीडितको योगदान र बलिदानलाई सम्मान र कदर गर्ने विषयमा सरकार दृढ रहेको उल्लेख गर्दै उनले शान्ति प्रक्रियालाई यथासक्य छिटो टुंगोमा पुर्‍याउने लक्ष्यका साथ काम अघि बढिरहेको बताए ।

'पीडितलाई न्याय दिने विषयमा सरकार अत्यन्त जिम्मेवार र संवेदनशील छ । द्वन्द्वपीडितसँग हामी विभिन्न तहमा निरन्तर छलफलमै छौँ । शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने विषय सबैको उत्तिकै चासो र सरोकार भएको विषय हो,' प्रधानमन्त्री ओलीले भने, 'बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को व्यवस्थाबमोजिम नै आयोगहरू गठन भई कार्य प्रारम्भ भएको छ । मलाई विश्वास छ, आगामी दिनमा आयोगका पदाधिकारीहरूले पीडित पक्षसँग बसेर, आपसमा छलफल गरेर नै शान्ति प्रक्रियाका बाँकी कामहरू अगाडि बढाउनु हुनेछ ।'

कान्तिपुर संवाददाता

Link copied successfully