लिङ्देनले भने - कुन मन्त्रीले कुन मन्त्रीभन्दा छिटो र धेरै कमाउने भन्ने प्रतिस्पर्धा चलेको छ

श्रावण ७, २०८२

कान्तिपुर संवाददाता

Lingden said - there is a competition to see which minister earns faster and more than the other minister

काठमाडौँ — राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारका मन्त्रीहरू अवैध रूपमा कमाउने प्रतिस्पर्धामा रहेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा अध्यक्ष लिङ्देनले मुलुकमा भ्रष्टाचार अन्त्य गर्नका लागि त्यसमा संलग्न राजनीतिक नेतृत्वलाई छानबिन र कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरेका छन् । 

प्रतिनिधिसभामा झन्डै दुई महिनादेखि विरोध गर्दा पनि सत्तापक्षले राप्रपा र रास्वपाको आवाज नसुनेको पनि अध्यक्ष लिङ्देनको भनाइ थियो । 'संसद्का दुई दल एमाले र कांग्रेस देश लट्नलाई टेन्डर पारेजस्तो गरिरहेका छन्,' उनले भने, 'कुन मन्त्रीले कुन मन्त्रीभन्दा छिटो र धेरै कमाउने भन्ने प्रतिस्पर्धा चलिरहेको छ ।'

विवादमा आएका मन्त्रीभन्दा ठूलो सङ्ख्यामा अवैध धन्दामा लागिरहेको लिङ्देनको आरोप थियो । 'अहिले भ्रष्टाचार कहाँ- कहाँ छ भनिराख्नुपरेन । भ्रष्टाचार कहाँ छैन भनेर खोज्नुपर्ने अवस्था छ । भ्रष्टाचारको अन्त्य केही कर्मचारीलाई कारबाही गरेर हुँदैन,' उनले भने, 'जबसम्म राजनीतिक क्षेत्रलाई कारबाहीको दायरामा ल्याइँदैन, छानबिनको दायरामा ल्याइँदैन तबसम्म भ्रष्टाचार नियन्त्रणको कल्पना पनि गर्न सकिन्न ।'

कर्मचारीलाई कारबाही गरेर मात्रै भ्रष्टाचार निर्मूल नहुने लिङ्देनको भनाइ थियो । भ्रष्टाचार गर्ने राजनीतिक नेतृत्वलाई कारबाही गर्नुपर्ने उनको भनाइ थियो । 

भिजिट भिसा प्रकरणको छानबिन माग गर्दै राप्रपा र रास्वपाले प्रतिनिधिसभाको बुधबारको बैठक पनि बहिष्कार गरेका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully