काठमाडौँ — आम जनता पार्टीका अध्यक्ष प्रभु साहले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भेट्न गाह्रो भएको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा अध्यक्ष साहले रौतहटका जयप्रकाश साह करिब एक वर्षदेखि युक्रेनमा फसेको तर उद्धारमा कसैले चासो नदेखाएको बताएका हुन् ।
सांसद साहले पीडित परिवार उद्धारका लागि भन्दै सरकारी कार्यालयहरू धाइरहँदा पनि सम्बन्धित निकायले चासो नदेखाएको बताए ।
'रौतहटको जयप्रकाश साह झन्डै एक वर्षदेखि युक्रेनमा फसेका छन् । जयप्रकाश जस्तै सयौँ मानिसहरू युक्रेनमा फसेका छन् । त्यसलाई उद्धार गर्न कसैको वास्ता छैन । पीडितहरू सरकारी निकाय घुमिरहेका छन् । युक्रेनबाट मान्छे फर्काइदेउ भनेर घुमिरहेका छन्,' उनले भने ।
परराष्ट्रमन्त्रीलाई भेट्नै नपाइएको भन्दै उनी अगाडि भन्छन्, 'मैले नजिकबाट हेर्दा देउता भेट्न सहज छ तर परराष्ट्रमन्त्री भेट्न गाह्रो छ ।' सांसद साहले बत्ती झ्यापझ्याप गइरहेको भन्दै बत्ती काट्ने भए पहिलादेखि नै सेड्युल बनाएर बत्ती काट्न आग्रह गरे ।
