एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीले नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग

श्रावण ६, २०८२

कान्तिपुर संवाददाता

UML Central Committee meeting: President Oli demands to hand over the leadership

What you should know

काठमाडौँ — एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग गरिएको छ । 

जारी बैठकमा केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले ओलीले दुई कार्यकाल चलाइसकेकाले अब नेतृत्व हस्तान्तरण गर्न आग्रह गरिन् ।

'कुनै व्यक्ति विशेषलाई हेरेर विधान बदल्नुभन्दा संगठनलाई बलियो बनाउने गरी विधान बनाऔँ, वर्तमान अध्यक्ष कमरेडले दुई कार्यकाल अध्यक्ष चलाइसक्नु भयो । उहाँले पर्याप्त नेतृत्वको अवसर पाउनु भएको छ । अब निसर्त नेतृत्व हस्तान्तरण र पुस्तान्तरण पनि परिवर्तनको एउटा विषय हो,' उनले बैठकमा भनिन्,'कोअर्डिनेसन केन्द्रदेखिका कमरेडहरू हुनुहुन्छ । आपसी समझदारीमा जो अध्यक्ष भएपनि कमिटी मातहत रहेर पार्टी चल्ने कुराको ग्यारेन्टी अबको विधानले निर्धारण गर्नुपर्छ । ' 

उनले एमालेको नेतृत्व प्रतिवेदन लेख्न पनि नभ्याउने स्थितिमा पुगेको कुरा शोभनिय नलागेको समेत बताइन् । उनले मौखिक भाषण गर्दा पेस गरेका दाबी समेत अपूरा भएको बताइन् । 

विधानमा एउटा अपरिहार्य बुँदा थपिनु पर्ने र संगठित सदस्य कुनै पनि फौजदारी अभियोग नलागीकन खोस्न नपाइने व्यवस्था गरिनुपर्ने उनको माग थियो । 

'सधैँ पार्टी घेराबन्दीमा पर्‍यो-पर्‍यो भनिन्छ, पार्टी सरकारमा हुँदा पनि घेराबन्दीमा, प्रतिपक्षमा हुँदा पनि घेराबन्दी कसरी हुन्छ ? यो घेराबन्दी तोड्न हाम्रो यति ठूलो संगठनात्मक शक्ति भएको एमालेले किन नसकेको हो ?,' उनको प्रश्न थियो, 

'हामी मिसन ८४ भनिरहेका छौँ, यो हलमा भएका कम्तीमा एक तिहाइले राज्यसत्ताको अभ्यास गरिरहेका छौँ अनि जनतालाई ८४ देखाएर हुन्छ ? आज हामी के गर्दैछौँ ? भन्ने कुरा मुख्य होइन र ?'

कान्तिपुर

Link copied successfully