बर्खामै खोला सुक्खा

जलवायु परिवर्तनसँगै मानवीय कारणले जलसंकट

श्रावण ६, २०८२

पर्वत पोर्तेल

The river dries up during the drought

What you should know

विराटनगर — पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको मोरङको कानेपोखरी बजार हुँदै बग्ने चिसाङ खोला यतिबेला सुक्खा छ । यो खोला लगातार केही वर्षदेखि पानीविहीन बन्दै गएको स्थानीयको भनाइ छ । ‘यो खोलामा पानी बग्न छाडेको धेरै भइसक्यो,’ चिसाङ किनारमै बसोबास गर्ने ७० वर्षीया सुकुमाया राई सम्झिन्छिन्, ‘पहिला त हिउँद होस् कि खडेरी बाह्रै महिना कलकल बग्थ्यो । अहिले त सुक्दै गएको छ ।’

केराबारी हुँदै धरान जोड्ने मदन भण्डारी राजमार्गको खदम खोलामा भर्खरै ४ सय मिटर लामो दुई लेनको पुल निर्माण भएको छ । तर, खोलामा पानी बग्दैन । खोला तर्न गाह्रो भएर पुल निर्माण गरिएको थियो । मोरङ, सुनसरी, उदयपुर, झापा हुँदै पूर्वका विभिन्न स्थानमा राजमार्ग आसपासका अधिकांश खोला, नाला र साना खोल्सीहरू वर्षायाममै सुक्खा छन् । ‘पुराना दिनमा वर्षा नहुँदा पनि खोलानाला गडगडाएर बग्थे,’ केराबारीका ८० वर्षीय वृद्ध रामबहादुर राई सम्झिन्छन्, ‘अहिले त खोला धमाधम सुक्न थालेका छन् । पहिला जमिनले पानी सोस्ने गर्थ्यो, अहिले त डोजर चलाएर खोला नै खनेर बेहाल पारेको छ, त्यही भएर खोला सुक्न थालेको हो कि जस्तो लाग्छ ।’

केराबारीकै कृषक लक्ष्मी लिम्बू विगतमा खेत सिँचाइका लागि मुगु खोलाको भर पर्थिन् । तर अहिले त्यही खोला सुक्खा छ । ‘पहिला बर्खामा उर्लिएर आउने मुगु खोलो त अहिले हिँडेरै वारपार गर्न मिल्ने भयो,’ उनी भन्छिन्, ‘खोलामा पानी छैन, धान रोप्ने समयमै सुक्खा भयो । न आकाशबाट पानी आउँछ, न खोलाको आस छ ।’ 

चुरे विज्ञ विजयकुमार सिंह दनुवार जलवायु परिवर्तनसँगै मानवीय कारणले जलसंकट देखिन थालेको बताउँछन् । ‘मानवीय अतिक्रमण, जथाभावी उत्खनन, वन विनाश र बसोबास विस्तारका कारण पानीको संकट उत्पन्न भएको हो,’ उनले भने, ‘चुरेलाई संरक्षण गर्नुपर्ने थियो, हामीले दोहन मात्रै गर्‍यौं, जसले बिस्तारै संकट निम्त्याउन थाल्यो ।’ जंगल मासिँदा चुरेको खुकुलो माटो बगेर खोला उच्च हुँदै गएका छन्, जसका कारण खोलाहरूमा पानी अभाव देखिन थालेको उनले बताए । ‘खोलानाला सुक्नु सामान्य अवस्था हैन, जलचक्रमा गम्भीर असन्तुलनको संकेत हो,’ उनले भने । 

केराबारी गाउँपालिकाकी उपाध्यक्ष मनमाया मगर आफ्नो पालिकामा खोलानदी सुक्नुको कारणबारे चाँडै अनुसन्धान सुरु गर्ने बताउँछिन् । ‘केराबारीतिर मात्रै खोला नदी सुकेको छैन, देशैभरि यो समस्या छ,’ उनले भनिन्, ‘के कारणले यस्तो समस्या आइरहेको छ, हामी चाँडै अध्ययन गर्ने योजनामा छौं ।’ 

गत असारमा मोरङ बेलबारीस्थित बेतना सिमसार व्यवस्थापन समितिको एक टोलीले कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयमा पत्र पठाएर बेतना सिमसार सुक्न थालेकाले अनुसन्धान गर्न अनुरोध गरेको थियो । तर, महिना दिन बितिसक्दा पनि मन्त्रालयले अध्ययन सुरु गरेको छैन । कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयका वातावरण अधिकृत हरिशंकर झाले बेतना सिमसारमा चाँडै टोली बनाएर अध्ययन गर्ने योजना रहेको बताए ।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully