काठमाडौँ — कांग्रेस नेता शेखर कोइरालाको गतिविधिलाई लिएर असन्तुष्ट भएका पार्टी सभापति शेरबहादुर देउवाले गठबन्धनमा तलमाथि नहुने प्रस्ट पारेका छन् ।
बीपी स्मृति दिवसका अवसरमा बीपी सहकारी अस्पतालले आयोजना गरेको कार्यक्रममा एउटै मञ्चमा रहेका कोइरालालाई मंगलबार देउवाले गठनबन्धन विकल्प सोच्ने पक्षमा आफू नरहेको बताएका हुन् । सार्वजनिक रुपमा बोल्दा पनि देउवाले त्यही कुरा दोहोर्याएका थिए ।
‘म अहिले धोका दिने पक्षमा छैन, गठबन्धन परिवर्तन गर्ने पक्षमा छैन,’ देउवाको भनाइ थियो ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग राजनीतिक भेटघाट गरेका कोइरालाले दुई दिनअघि मात्रै पार्टीभित्रका आफ्ना समूहका मन्त्री र सांसदहरुको भेला आयोजना गरेका थिए ।
देउवा निकट स्रोतका अनुसार कोइरालाले ओली नेतृत्वको सरकारको एक वर्षमा भ्रष्टाचार व्याप्त भएको, राजनीतिक बेथिति बढेको र राजनीतिक नियुक्तिहरूमा एकलौटी भएको भन्दै विकल्प खोज्न आग्रह गरेका थिए ।
