कुलिङ अफ पिरियड लागू हुनै पर्छ, यसमा कम्प्रमाइज हुन सक्दैन : कांग्रेस

श्रावण ६, २०८२

कान्तिपुर संवाददाता

Cooling off period must be enforced, cannot be compromised: Congress

काठमाडौँ — नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कुलिङ अफ पिरियडबारे संसदीय समितिबाट सर्वसम्मत भएको विषयमा कांग्रेसले कम्प्रमाइज गर्न नसक्ने बताएका छन्।

बीपी स्मृति दिवसमा काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। राज्य व्यवस्था समितिबाट सर्वसम्मत रूपमा प्रतिनिधिसभामा पठाइएको संघीय निजामती विधेयकमा कुलिङ पिरियडमा दुई वर्षे प्रावधान राखिएको थियो।

तर प्रतिनिधिसभाबाट दुई वर्षे समयावधि हटाएर पारित भयो। समितिबाट पठाएको र संसद्बाट पारित भएको व्यवस्था फरक परेपछि अहिले संसदीय छानबिन समिति बनाएर अध्ययन भइरहेको छ।

राष्ट्रिय सभामा रहेको विधेयकमा अहिले नेकपा एमालेका सांसदहरूले कुलिङ अफ पिरियड हटाउनुपर्ने भन्दै संशोधन प्रस्ताव राखेका छन्। तर कांग्रेस यसमा अडिग रहेको कांग्रेस नेताहरूको भनाइ छ। कांग्रेसले यसमा कम्परमाइज नगर्ने र कुलिङ पिरियड लागू हुनै पर्ने प्रवक्ता महतले बताएका छन्।

भूमि विधेयक लगायत महत्त्वपूर्ण विषयहरूमा एकलौटी लाद्ने काम स्वीकार्य हुन नसक्ने बताएका छन्। गठबन्धन सरकार सन्तुलित किसिमबाट अघि बढ्नुपर्ने बताए।

प्रवक्ता महतले भने, ‘यो समितिबाट सर्वसम्मत रूपमा अघि बढेको हो। यसमा नेपाली कांग्रेसले कम्परमाइज गर्न सक्दैन। कुलिङ पिरियड लागू हुनै पर्छ। अरू जुन महत्त्वपूर्ण भूमि विधेयक लगायत विषय छन्, त्यसमा समग्र छलफलबाट मात्रै एउटा निष्कर्षमा पुग्न सकिन्छ। एकलौटी लाद्ने कुरा स्वीकार्य हुन सक्दैन।’

प्रवक्ता महतले झूटो बोलिरहेकाहरू नै सत्य हो जसरी समाजमा स्थापित भइरहेका बताउँदै नेपाली कांग्रेस सत्यको पक्षमा रहेको बताएका छन्।

कान्तिपुर संवाददाता

Link copied successfully