कांग्रेस नेतृत्व र प्रधानमन्त्री ओलीमाथि दबाब बढाउने रणनीति
What you should know
काठमाडौँ — सत्तारूढ कांग्रेसमा संस्थापनइतर पक्षको नेतृत्व गर्दै आएका नेता शेखर कोइराला राजनीतिक भेटघाटमा सक्रिय भएका छन् ।
गत बिहीबार माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग करिब डेढ घण्टा कुराकानी गरेका कोइरालाले शुक्रबार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेका हुन् । प्रमुख प्रतिपक्षी दलका शीर्षनेता दाहाल र एमालेमा सक्रिय हुने निर्णय लिएकी पूर्वराष्ट्रपति भण्डारीसँग कोइरालाको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
नेता कोइरालाले रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल, उपसभापति स्वर्णिम वाग्ले, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमतका अध्यक्ष सीके राउतलगायत नेतासँग भेटवार्ता गर्ने योजना बनाएका छन् । उनको यो राजनीतिक दौडधुप कांग्रेस नेतृत्व र गठबन्धन सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि दबाब बढाउने रणनीति रहेको कोइरालानिकट नेताहरूको भनाइ छ ।
गत २३ असारमा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले कांग्रेस–एमालेबीच भएको सातबुँदे सहमतिप्रति प्रतिबद्ध हुने निर्णय गरेको थियो । बैठकपछि कांगेस सभापति शेरबहादुर देउवाले दुई दलीय समीकरण ०८४ सम्मै जाने अभिव्यक्ति दिएका थिए । कोइराला आफैं तत्काल गठबन्धन परिवर्तन हुनेमा विश्वस्त छैनन् । तर, ओली नेतृत्वको सरकारको औचित्य सकिएको निष्कर्षमा पुगेका उनी कांग्रेसको नेतृत्वमा नयाँ सरकारको मुद्दा अघि सारिरहेका छन् । त्यसका लागि पार्टी नेतृत्व तयार नभएपछि उनले राजनीतिक भेटघाट बढाएको कोइरालानिकट नेताहरू बताउँछन् ।
कोइरालाले सरकारका शासकीय कमजोरीमाथि संसद् र बाहिरबाट समेत प्रश्न उठाउँदै कुशासन र भ्रष्टाचारका मुद्दामा विपक्षीसँग आफू पनि रहने सन्देश दिएका छन् । सरकारले हतारमा अघि बढाउन खोजिरहेको भूमि विधेयकमा पनि उनको असहमति छ । घूस लेनदेनको अडियो सार्वजनिक हुँदासमेत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले राजीनामा नदिएको विषयमा उनको आपत्ति छ ।
‘प्रचण्डजीसँग त सरकारको समीक्षा बढी भयो । संसद्भित्र र बाहिर नागरिकका धेरै मुद्दा छन् । भ्रष्टाचारका काण्डहरू एकपछि अर्को आइरहेका छन् । मन्त्रीहरू घूस लेनदेनमा मुछिएका छन् । संवैधानिक परिषद्सम्बन्धी विधेयक र भूमि विधेयक राम्रो नियतले आएको होइन,’ कोइरालाले भने, ‘यी विषय र मुद्दामाथि सशक्त हुनुहोस्, हामी पनि उठाउँछौं भन्ने कुराकानी भयो ।’
राष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा आउने विषयमा सैद्धान्तिक रूपमा आफ्नो सहमति नरहेको भण्डारीसँगको भेटमा बताएको कोइरालाले जानकारी दिए । ‘विद्याजीले सक्रिय राजनीतिमा आई त सकें भन्नुभयो । राजनीतिप्रति पूर्ण प्रतिबद्ध देखिनुभयो,’ कोइरालाले भने, ‘भेटमा उहाँ (भण्डारी) कै बारेमा र सरकारका कामकारबाहीबारे कुराकानी भए ।’
दाहालसँगको भेटमा स्वतन्त्र सांसद अमरेशकुमार सिंह पनि सहभागी थिए । ‘कांग्रेस सभापति देउवा र प्रधानमन्त्री ओलीको कब्जामा राजनीति रहँदा मुलुकमा बेथिति, राजनीतिक अस्थिरता र भ्रष्टाचार बढ्न थालेकाले नयाँ राजनीतिक ध्रुवीकरणको खोजी गरिएको हो,’ सिंहले भने ।
अंकगणितीय रूपमा देउवालाई विस्थापित गरेर कोइराला पार्टीको संसदीय दलको नेता हुने सम्भावना देखिँदैन । कोइरालानिकट केन्द्रीय सदस्य गोविन्द पोखरेल राजनीतिमा असम्भव केही नभए पनि कोइरालाले तत्काल आफैं प्रधानमन्त्री हुने महत्त्वाकांक्षा लिएर भेटवार्ता नगरेको बताउँछन् । ‘उहाँले कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ भन्नुभएको हो, त्यसो हुँदा पार्टीभित्रको अंकगणितमा प्रधानमन्त्री हुने देउवा नै हो,’ पोखरेलले भने, ‘भेटघाटको उद्देश्य विपक्षी पार्टीहरूलाई समेत विश्वासमा लिएर भ्रष्टाचार र कुशासनका मुद्दामा ऐक्यबद्धता जनाएर सरकारलाई दबाब दिन हो ।’
कांग्रेसका प्रवक्ता तथा देउवानिकट नेता प्रकाशरण महत यस्ता भेटघाटले पार्टीलाई लाभ नहुने बताउँछन् । पार्टी केन्द्रीय कार्यसमितिले गठबन्धनलाई निरन्तरता दिने निर्णय लिइसकेको पृष्ठभूमिमा त्यसविपरीत गतिविधिले राम्रो नगर्ने उनको भनाइ छ । ‘केही परिस्थिति आए आन्तरिक रूपमा छलफल गर्नुपर्ने हुन्छ, बाहिर प्रदर्शन गरेर हुँदैन,’ महतले भने । कोइरालाको राजनीतिक सक्रियताले सभापति देउवालाई भने सशंकित बनाएको छ । ‘कोइरालाको यो अपरिपक्व राजनीति हो । पार्टीको सभापति हुन्छु भन्ने मान्छेले एउटा गठबन्धनमा रहेका बेला प्रमुख प्रतिपक्ष दलको नेताको घरमा गएर गठबन्धन भत्काउने कुरा गर्नु अपरिपक्व हो,’ देउवानिकट एक नेताले भने ।
