What you should know
काठमाडौँ — एमालेको पोलिटब्युरो बैठकमा सदस्यहरूले आआफ्नो धारणा राख्नेक्रम जारी रहेको छ ।
ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सुरु भएको पोलिटब्युरो बैठकमा भाग लिने सदस्यहरूले प्रस्तुत प्रस्तावमाथि धारणा राख्नेक्रम जारी रहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनका सम्बन्धमा बैठकमा छलफल हुने प्रचार विभाग प्रमुख गौतमले बताए । उनका अनुसार बिहीबार पार्टीको सचिवालय बैठकमा प्रस्तुत भएका प्रतिवेदनमाथि छलफल गरी पोलिटब्युरो बैठकले अनुमोदन गर्ने कार्यसूची छ ।
एमालेको विधान महाधिवेशनको पूर्वतयारीका क्रममा बिहीबार बसेको सचिवालय बैठकले पार्टी अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलेको विधान संशोधन प्रतिवेदन र महासचिव शङ्कर पोखरेलको सांगठनिक प्रतिवेदनको प्रस्ताव पारित गरेको थियो ।
पोलिटब्युरो बैठकले ती प्रतिवेदनलाई अनुमोदन गरेपछि यही साउन ५ गते सोमबार बस्ने केन्द्रीय कमिटी बैठकले त्यसलाई अन्तिम रूप दिने छ । एमालेको दोस्रो विधान महाधिवेशन आगामी भदौ २०, २१ र २२ ललितपुरको गोदावरीमा हुनेछ ।
