अहिलेको सरकार जहाँ टेक्छ, त्यहीँ भ्रष्टाचार बाहेक केही पनि छैन : अध्यक्ष दाहाल

श्रावण १, २०८२

कान्तिपुर संवाददाता

Wherever the present government stands, there is nothing but corruption: President Dahal

ललितपुर — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देश जटिल मोडमा रहेको बताएका छन्। बिहीबार ललितपुरमा श्रम उत्पादनमा वाइसिएल अभियानको शुभारम्भ गर्दै अध्यक्ष दाहालले देश अहिले संविधान, गणतन्त्र, सुशासन, सामाजिक न्याय र समृद्धिको दृष्टिकोणले निकै नै जटिल मोडमा रहेको बताएका हुन् ।

अहिलेको सरकारले जहाँ टेक्छ, त्यहीँ भ्रष्टाचार हुने गरेको आरोप लगाउँदै दाहालले वर्तमान सरकार सुशासनको विरुद्धमा खडा भएको र सम्पूर्ण रूपमा देशलाई असफल बनाउने दिशातर्फ अग्रसर भएको बताए।

जनतासँग राम्रो सम्बन्ध बढाएर श्रम र उत्पादन कार्यमा आफ्नो योगदान जोड्दै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा लाग्नुपर्ने बताए।

अध्यक्ष दाहालले भने, ‘अहिलेको सरकार जहाँ टेक्छ, त्यहीँ भ्रष्टाचार बाहेक केही पनि छैन। सुशासनका विरुद्ध खडा भएको यो सरकार सम्पूर्ण रूपमा देशलाई असफल बनाउने दिशातर्फ अग्रसर भएको छ। हामी सबैले जनतासँग राम्रो सम्बन्ध बढाएर श्रम र उत्पादन कार्यमा आफ्नो उत्पादनलाई जोडेर सुशासनको पक्षमा, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा लाग्नुपर्छ।’

अध्यक्ष दाहालले युवालाई संगठित गरेर मात्रै परिवर्तन उल्ट्याउनेहरुविरुद्ध सफलता हासिल गर्न सकिने बताए। आफूहरूले खबरदारी गर्दागर्दै पनि सरकार यसरी नै भ्रष्टाचारमा लिप्त हुने र जनभावना विपरीत गए सरकारको प्रतिवाद सडकबाट गर्ने चेतावनी पनि दिए।

कान्तिपुर संवाददाता

Link copied successfully