विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा नेपालका श्रेष्ठ

श्रावण १, २०८२

कान्तिपुर संवाददाता

Shrestha from Nepal as Vice President of World Press Council

काठमाडौँ — प्रेस काउन्सिल, नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको उपाध्यक्ष चयन भएका छन्। अफ्रिकी मुलुक ताञ्जानियामा जारी काउन्सिलको शिखर सम्मेलनबाट उनी उपाध्यक्ष निर्वाचित भएका हुन्।

श्रेष्ठ विश्व प्रेस काउन्सिलमा यसअघि महासचिव भइसकेका थिए। काउन्सिलको आगामी तीन वर्षका लागि सर्वसम्मतिबाट नयाँ नेतृत्व चयन भएको हो। यद्यपि, चुनावका सम्पूर्ण प्रक्रिया पूरा गरिएको नवनिर्वाचित उपाध्यक्ष श्रेष्ठले बताए। 

नेपालको प्रतिनिधित्व गरेका श्रेष्ठको प्रस्तावकमा भारतीय प्रेस काउन्सिलका प्रतिनिधि सुधीरकुमार पण्डा तथा समर्थकमा जिम्बाब्वेका लफ्टी दुबे, म्यान्मारका डा तिन तुन ओ, कोसोभोका इब्राहिम अर्सलान र तान्जानियाका काजुबी मुकाजाङ्गा रहेका थिए। 

काउन्सिल अध्यक्षमा डेभिड ओम्ओयो (केन्या) र अर्का उपाध्यक्षमा अली हान्सेर्ली (साइप्रस) निर्वाचित भएका छन्। यस्तै, तान्जानियाका अर्नेस्ट साम्सोन सुङ्गुरा महासचिवको जिम्मेवारीमा आउँदा टर्कीका तामेर अताबारुत कोषाध्यक्ष भएका छन्। 

अन्तरराष्ट्रिय सम्पर्क संयोजकमा भारतका सिके नायक र तान्जानियाका जियादा किलोबो चयन भएका छन्। सोमबारदेखि तान्जानियाको आरुसामा भइरहेको काउन्सिलको विश्व सम्मेलन शुक्रबार समापन हुँदैछ । सम्मेलनमा नेपालसहित २७ राष्ट्रका प्रतिनिधिको सहभागिता रहेको छ ।

कान्तिपुर

Link copied successfully