छलफलमा स्वतन्त्र सांसद अमरेशकुमार सिंह पनि सहभागी थिए
What you should know
काठमाडौँ — माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ । बिहीबार दाहाल निवास खुमलटारमा दुई नेताबीच कुराकानी भएको हो ।
उक्त भेटघाटमा स्वतन्त्र सांसद अमरेशकुमार सिंह पनि थिए । दाहालका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले दुई नेताबीच समसामयिक विषयमा कुराकानी भएको बताए । दुई नेताले छलफलमा कांग्रेस-एमाले गठबन्धन सरकारले एक वर्षमा कामभन्दा बढी बदनाम गरेको भन्ने साझा धारणा बनाएका छन् ।
‘दुई जना नेताबीच सरकारको एक वर्षको राम्रो गरी समीक्षा भयो । सरकारले जनअपेक्षाअनुरूप काम गर्न नसकेको, भ्रष्टाचार र बेथिति मौलाउँदै गएको, कानुन र मापदण्डविपरीत रानीतिक नियुक्ति दिन थालिएका जस्ता विषयमा कुराकानी भए,’ सांसद सिंहले भने,‘यस्ता विषयमा आ-आफ्नो पार्टीबाट आवाज उठाउनुपर्ने निष्कर्षमा उहाँहरू पुग्नु भएको छ ।’
प्रमुख प्रतिपक्षी दल माओवादी अध्यक्ष दाहालले संसद् र सार्वजनिक कार्यक्रम सरकारको कडा आलोचना गर्दै आएका छन् । सत्तारुढ दल कांग्रेस नेता कोइरालाले पनि वर्तमान सरकारको सार्वजनिक रूपमै चर्को आलोचना गर्दै आएका छन् ।
